भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ह्वात्तै बढ्यो
काठमाडौं- छिमेकी देश भारतमा कोरोना संक्रमणबाट मंगलबार साढे चार सय भन्दा धेरैको ज्यान गएको छ ।
मंगलबार भारतमा कोरोना संक्रमणबाट ४६४ जनाको ज्यान गएको कोरोनाको विश्वव्यापारी अपडेट गर्दै आएको वल्र्डओमिटरले जनाएको छ । त्यहाँ हिजो एकै दिन १५ हजार ६१२ जनामा संक्रमण देखिएको छ ।
भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४ हजार ४८३ पुगेको छ भने संक्रमितको संख्या चार लाख ५६ हजार ६२ पुगेको छ ।
आज (बुधबार) विहानसम्म विश्वभर अहिलेसम्म कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या चार लाख ७८ हजार ९१८ पुगेको वल्र्डओमिटरमा उल्लेख छ । गएको २४ घण्टामा मात्रै विश्वभर संक्रमणबाट पाँच हजार ४३४ जनाले ज्यान गुमाएका छन् ।
विश्वभर अहिलेसम्म संक्रमितको संख्या ९३ लाख ४२ हजार ४७१ पुगेको छ । गएको २४ घण्टामा विश्वभर एक लाख ५९ हजार आठ सय ९६ जनामा संक्रमण देखिएको छ । गएको २४ घण्टामा संक्रमणको कारण सबैभन्दा धेरै ब्राजिलमा १३ सय ४६ जनाले ज्यान गुमाएका छन् ।
त्यसैगरी अमेरिकामा ८७७ जना, मेक्सिकोमा ७५९, बेलायतमा २८०, रुसमा १५३, पेरुमा १८१, इरानामा १२१, पाकिस्तानमा १०५, दक्षिण अफ्रिकामा १११ जनाले ज्यान गुमाएका छन् ।