विश्वका सबै देशका नागरिकलाई भारत प्रवेशमा प्रतिबन्ध
काठमाडौं- कोरोना संक्रमण विश्वव्यापी महामारी बनिरहेका बेला नेपालको छिमेकी राष्ट्र भारतले कोरोनाविरुद्ध लड्न कडा कदम चालेको छ ।
कोरोना भाइरस नियन्त्रणका लागि भन्दै विभिन्न देशले विभिन्न देशमा आवतजावतमा रोक लगाइरहेका बेला छिमेकी मुलुक भारतले पनि विश्वका कुनै पनि मुलुकका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको हो ।
उसले विदेशमा रहेका आफ्ना नागरिकलाई समेत भोलि (शुक्रबार) देखि मुलुक छिर्न नदिने घोषणा गरेको हो । कोरोना भाइरस प्रकोपले महामारी रूप लिएपछि उक्त कठोर कदम उठाइएको भारतले जनाएको छ ।
भारत सरकारले कोरोना भाइरसको संक्रमण रोक्न १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ को संक्रमण फैलिन रोक्न आवश्यक कदम चाल्ने निर्णय गरेको हो ।
१५ अप्रिलसम्म राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संस्था, इम्प्लेइमेन्ट र प्रोजेक्ट भिसा बाहेक अन्य भिसा १५ अप्रिलसम्म निलम्बन गर्ने निर्णय गरेको हो ।
ओसीआई कार्ड भएका (प्रवासी भारतीय नागरिक) लाई दिइने भिसा मुक्त यात्राको सुविधा पनि १५ अप्रिल २०२० सम्म रोकिएको छ । यो १३ मार्च अर्थात शुक्रबार मध्यरातबाट लागू हुनेछ । १५ फेब्रुअरीपछि चीन, इटली, इरान, कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट भारत आउने सबै यात्रुलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछ । यसमा भारतीय नागरिक पनि पर्नेछन् ।