कोरानाका कारण पृथ्वीमा ठुलो सकारात्मक परिवर्तन, बल्ल बन्दैछ मानव बस्न योग्य - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

कोरानाका कारण पृथ्वीमा ठुलो सकारात्मक परिवर्तन, बल्ल बन्दैछ मानव बस्न योग्य



एजेन्सी- कोभिड १९ अहिले विश्वभरीका मुलुकका लागि विनाशको कारक बनेको छ । वैश्विक स्वास्थ संकट उत्पन्न भएसँगै कडा क्वारेन्टाइन लागू भएको छ । यससँगै अर्थतन्त्रमा पनि यसको गम्भीर असर देखा पर्न थालेको छ ।

तर कोभिड-१९ ले पृथ्वीको पर्यावरणमा पारेको असर भने अहिले छायाँमा परेको छ । कसैको यसतर्फ ध्यान गएको छैन । कोभिड-१९ प्रभावित मुलुकहरुले नागरिकको बाहिरी चहलपहल र हिँडडुलमा रोक लगाउँदा यसले पृथ्वीको वातावरणमा नै सकारात्मक असर पुर्‍याइरहेको छ ।

वैज्ञानिकहरुका अनुसार सरकारको यो कदमले पृथ्वीमा हावाको गुणस्तरतामा ठूलो फरक ल्याएको छ । कोभिड-१९ को संक्रमण फैलिएर बन्दाबन्दी (लकडाउन)काे स्थितिमा पुगेका मुलुकहरुमा वायू प्रदुषण घटेको छ । चीन, इटाली जस्ता मुलुकहरुमा उद्योग तथा उड्डयन क्षेत्र बन्द भइदिँदा यसले त्यहाँको वायूको गुणस्तरतामा सुधार ल्याएको हो ।

कोभिड १९ का कारण कडा क्वारेन्टाइन लागू भएका क्षेत्रहरुलाई स्याटेलाइटबाट हेर्दा ती क्षेत्रमा वायू प्रदूषणको स्तरमा नाटकीय सुधार देखिएको हपकिन्स विश्वविद्यालयका वातावरण स्वास्थ्य इञ्जिनियरिङ विषयका असोसिएट प्रोफेसर पिटर डिकार्लो भन्छन् ।

‘चीन र इटाली दुबै देशमा औधोगिक गतिविधि र यातायात क्षेत्र ठप्प हुँदा मुख्य मुख्य औधोगिक क्षेत्रहरुमा नाइट्रोजन अक्साइड एनओटुमा ठूलो गिरावट आएको देखिएको छ’, उनले भने ।

डिकार्लोका अनुसार घरबाटै काम र सामाजिक दूरीको नीतिले सडकमा कार र गाडीहरुको संख्या घटाएको छ ।

धेरै मुलुकहरुले घुमघाममा प्रतिबन्ध लगाइदिँदा हवाई यात्रूहरुको संख्यामा गिरावट आएको छ ।

डट मेट अफिस केएनएमआई एण्ड डेल्फ्ट युनिभर्सिटी अफ टेक्नोलोजी नेदरल्याण्डका पियटर्नल लेभेल्ट पनि डिकार्लोको अभिव्यक्तिसँग सहमति राख्छन् । उत्तरी इटाली र चीन क्षेत्रमा नाइट्रोजन अक्साइडको मात्रा उल्लेखनीय रुपमा घटेको छ ।

युरोपेली स्पेस एजेन्सीको कोपरनिकस सेन्टिनेल फाइभ पी स्याटेलाइटस्थित डच ईएसए ट्रोपोमी इन्स्ट्रुमेन्टको तथ्यांकलाई लेभेल्ट र उनको टोलीले परीक्षण गर्दा त्यसमा नाइट्रोजन अक्साइडको मात्रामा उल्लेखनीय मात्रामा गिरावट आएको देखिएको हो । चीनको नयाँ वर्षदेखि त्यहाँ क्वारेन्टाइनको व्यवस्था लागू गरिएको थियो । त्यसयता त्यस क्षेत्रमा त्यस्तो सुधार देखिएको हो ।

२०१९ को वर्षमा ३५ प्रतिशत कम रहेको कन्सन्ट्रेसन लेभल यो वर्ष केही शहरमा ५० देखि ६० प्रतिशतसम्म कम भएको छ । लेभल्टको रिपोर्ट अनुसार इटालीको मिलान शहरमा नाइट्रोजन अक्साइड ४० प्रतिशतसम्म घटेको छ ।

कोभिड-१९ को प्रकोपले विभिन्न वातावरणीय प्रभावका तत्वहरुमा पनि ठूलो प्रभाव पारेको छ । जीव विज्ञानका असोसिएट प्रोफेसर केभिन रोज वैश्विक अर्थतन्त्र मन्दीतिर धकेलिँदै गर्दा हरितगृह ग्यास उत्सर्जनमा पनि असर पुगेको बताउँछन् ।

आर्थिक मन्दी, ऊर्जा खपतमा आएको कटौती र जनसंख्याको स्थानान्तरणले वातावरणीय असरलाई नाटकीय रुपमा कमी गरेको रोजले बताए ।

ऊर्जा केन्द्रित आर्थिक क्रियाकलापहरुमा सुस्तता छाउँदा, कार्बन डाइ अक्साइड जस्ता हरितगृह ग्यास उत्सर्जनमा कमी आएको छ । साथै क्वारेन्टाइनको कारण हरित गृह ग्यास उत्सर्जन तथा अन्य प्रदुषक तत्व उत्पादनमा छाेटो तर गहिरो असर छोडेको छ ।

क्यालिफोर्निया विश्वविद्यालयका अर्थ सिस्टम साइन्स विभागका असोसिएट प्रोफेसर स्टिभन डेभिस अर्थतन्त्र र उत्सर्जन एकअर्कासँग एकदमै बलियोरुपमा जोडिएको बताउँछन् ।

‘पछिल्ला वर्षहरुमा १० लाख डलरको ग्लोबल जीडीपीका लागि पाँच सय टन सम्म कार्बन डाइ अक्साइड उत्सर्जन गर्ने गरिएको छ । उदाहरणका लागि ४० अर्ब टन कार्बन हामीले ८८० अर्ब डलरको ग्लोबल जीडीपीका लागि २०१९ मा उत्सर्जन गरेका छौं’, डेभिसले भने । यदि यो अनुपात कायम रहने हो भने जीडीपीमा जति ओरालो लाग्छ कार्बन उत्सर्जन पनि त्यत्तिनै कटौती हुन्छ ।

कोभिड १९ प्रकोप भूगोलको आधारमा, अवधिको आधारमा कति लामो समयसम्म रहन्छ त्यो हेर्न बाँकी छ तर यसले निर्माण, श्रम र यातायात सम्पूर्ण क्षेत्रलाई प्रभावित तुल्याएको छ ।

यसअघिका मन्दीहरुमा मानिसहरुबीचको सञ्चारलाई रोक नलगाइएको हुँदा त्यसले वायुको गुणस्तरतामा खासै सुधार देखाएको थिएन । तर अहिले अवस्था धेरै फरक छ ।

इटाली जस्तो मुलुकहरुको उदाहरणबाट यो प्रकोपले आर्थिक उत्पादकत्वमा कस्तो प्रभाव पार्छ भन्ने कुरा देखिसकिएको छ । क्वारेन्टाइनबीच व्यवसायहरु बन्द हुँदा विद्युत खपतमा कमी आएको छ । विद्युत खपतमा आएको यो कटौतीले ग्यास उत्सर्जनमा उल्लेख्य मात्रामा प्रभाव पर्नेछ ।

भेनिस जस्तो शरहमा यो प्रकोपपछिको लकडाउनले निकै अनपेक्षीकृत वातावरणीय सुधार देखाएको छ । विभिन्न सामाजिक सञ्जालमा पोस्ट भएका तस्विरहरु हेर्दा त्यहाँका चर्चित क्यानलहरुमा बग्ने पानीहरु एकदमै सफा हुन थालेका छन् ।

क्वारेन्टाइनले विश्वभरीका वन्यजन्तुहरुको जीवनमा पनि ठूलै असर पारेको छ । मानिसहरु आफ्नै घरभित्र बस्न थालेपछि जापानको चर्चित पर्यटकीय गन्तव्य स्थल नारा पार्कमा पाइने सिका मृग खाना खोज्दै शहरी क्षेत्रमा प्रवेश गरिरहेको देखिन थालेको छ । चीन र दक्षिण कोरियाबाट आउने पर्यटक आउन छाडेपछि यहाँ यस्तो अवस्था आएको हो ।

थाइल्याण्डको लोबपुरी शहरमा पनि बाँदरहरु खानाको खोजी गर्दै सडकमा कुदिरहेको देखिएको छ । ती सबै वन्यजीवहरु त्यहाँ उनीहरुलाई हेर्न आउने पर्यटकले दिने खानेकुरामा आश्रित थिए ।