भारतकी बिधायकको दाबी: कोरोना गाईको गहुँतले निको हुन्छ
काठमाडौं- आसाम राज्यकी विधानसभा सदस्य सुमन हरिप्रियाले सोमबार संसदमै गाईको गहुँत र गोबरले कोरोनाभाइरस निको पार्नसक्ने बताएकी छिन्।
हरिप्रियाले गहुँत र गोबरले कोरोनाभाइरस निको हुने बताएपछि यस विषयले भारतभर चर्चा पाएको छ।
इकोनोमिक टाइम्सका अनुसार उनले संसदमा भनेकी थिइन्,‘हामीलाई थाहा छ गाईको गोबर कति प्रभावकारी छ।
त्यस्तै, जब हामी गहुँत छर्कन्छौं त्यसले उक्त स्थान पवित्र बनाउँछ। मलाई विश्वास छ हामीले गहुँत र गोबरको प्रयोगबाट कोरोनाभाइरस निको पार्नसक्छौं।’
भारतमा हालसम्म ६ जना कोरोनाभाइरसबाट संक्रमित बनेका छन्। विश्वभर ९१ हजारभन्दा बढीमा यसको संक्रमण देखिएको छ। कोरोनाको संक्रमणबाट ३ हजार ११६ जनाको मृत्यु भइसकेको छ।
वैज्ञानिकहरुले हालसम्म पनि कोरोनाको औषधि पत्ता लगाउन सकेका छैनन्। यसबीचमा हरिप्रियाको भनाइ आएको हो।