कोरोना जोखिम अध्ययन गर्न एकैसाथ तीन वटा कन्सर्ट आयोजना - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

कोरोना जोखिम अध्ययन गर्न एकैसाथ तीन वटा कन्सर्ट आयोजना



एजेन्सी- कोरोना भाइरसको जोखिम अध्ययनका लागि शनिबार जर्मनीमा कन्सर्ट आयोजना भएको छ। वैज्ञानिकहरूले घरभित्र भीड हुने कार्यक्रममा कोरोना जोखिम अध्ययनका लागि एकै दिन तीन वटा कन्सर्टको आयोजना गरेका हुन्।

बीबीसीका अनुसार करिब १ हजार ५ सय स्वयंसेवक कन्सर्टमा सहभागी भएका थिए। १८ देखि ५० वर्ष उमेरकालाई सहभागी गराइएको थियो। अपेक्षाअनुसार सहभागी संख्या कम भए पनि ‘धेरै सन्तुष्टि’ भने मिलेको अनुसन्धान टोलीका प्रमुखले प्रतिक्रिया दिएका छन्।

कन्सर्ट एकैदिन अप्रिल यताकै सबभन्दा बढी संक्रमित भेटिएपछि गरिएको हो। रोबर्ट कोच इन्स्टिच्यूटका अनुसार शुक्रबार २ हजार नयाँ संक्रमित भेटिएको थियो।

कन्सर्टमा गायक तथा गीतकार टीम बेन्डकोले प्रस्तुति दिएका थिए।

अनुसन्धाताहरूले ‘रिस्टार्ट–१९’ नाम दिइएको कन्सर्ट ‘महामारीका बेला यस्ता कार्यक्रमहरू गर्न सकिन्छ कि हैन भनेर अनुसन्धानका लागि’ गरिएको बताएका छन्।

पहिलो कन्सर्टमा कुनै पनि सुरक्षाका उपयाहरू अपनाइएको थिएन। दोस्रो कन्सर्टमा केही सामाजिक दूरी कायम गरिएको थियो भने तेस्रो कन्सर्टमा सहभागीको संख्या आधा घटाई कम्तिमा साढे १ मिटरको दूरी कायम गरिएको थियो।

सबै सहभागीको सहभागी हुनु पहिले कोरोना परीक्षण गरिएको थियो। साथै ट्रयाकिङ प्रणाली जडित मास्क पनि दिइएको थियो। यस्तै सहभागीले कुन भाग वा ठाउँ छुन्छन् भनेर पनि थाहा पाउने यन्त्र जडान गरिएको बताइएको छ।

‘तथ्यांक संकलन धेरै राम्रोसँग गरिरहेका छौँ, त्यसैले हामीसँग गुणस्तरीय तथ्यांक छ’, अनुसन्धान प्रमुख डा. स्टेफन मोरिजले भने, ‘मास्क प्रयोग र डिस्इन्फेक्सन केमिकल प्रयोगमा हामी अत्यन्तै सन्तुष्ट छौँ।’

हालसम्म जर्मनीमा २ लाख ३३ हजार ८५७ संक्रमित भइसकेका छन्। जसमध्ये ९ हजार ३३१ ज्नाले ज्यान गुमाएको वल्र्डूमिटरको तथ्यांकमा रहेको छ। त्यस्तै २ लाख ८ हजार ९५० निको भएका छन्।