'कोरोना नियन्त्रण' भन्ने चीनको घोषणा रहस्यमय - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

‘कोरोना नियन्त्रण’ भन्ने चीनको घोषणा रहस्यमय



के चीनमा कोरोना भाइरस साँच्चीकै नियन्त्रणमा आएको हो ?

-अमृत थापा

चीनको एक प्रसिद्ध ग्लोबल टाइम्सले मुख्य समाचारको रूपमा एक समाचार छापिएको छ– चीन अँध्यारो क्षणबाट बाहिर आयो ।

यो समाचारमा चिनियाँ राष्ट्रपति सी जिनपिङको वुहानमा भएको यात्रालाई निकै प्राथमिकताका साथ राखिएको छ । अनि दाबी गरिएको छ– चीनमा अब कोरोना भाइरस सङ्क्रमितहरूको सङ्ख्या निकै घटेको छ ।

चिनियाँ सञ्चारमाध्यममा मात्र होइन, सरकारी अधिकारी तथा सरकारी समाचार एजेन्सीले पनि यही विषयमा लेख्न थालेका छन् । चिनियाँ सरकारी सञ्चार एजेन्सी सिन्ह्वाले पछिल्लो समय चीनमा देखिएका ६ घटना चीनबाहिरबाट आएको दाबी गरेको छ । तीमध्ये पाँच सङ्क्रमित इटाली र एक अमेरिकाबाट आएको बताइएको छ ।

सिन्ह्वाले त लगातार त्यहाँको सरकारको प्रशंसा गर्दै समाचार छापिरहेको छ, ट्विट गरिरहेको छ । अनि चीनले पनि नयाँ सङ्क्रमित नआएको दाबी गरेको छ । यो दाबी चिनियाँ राष्ट्रपति सी जिनपिङ कोरोनाबाट सबैभन्दा बढी प्रभावित वुहान प्रान्तमा पुगेपछि अझ धेरै आइरहेको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको यो भ्रमण पनि यही सन्देश दिन गरिएको सबैले बताइरहेका छन् ।
यसअघि चीनमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८०८८१ पुगेको र ३२२६ जनाको मृत्यु समेत भएको बताइएको थियो ।

चीनले यसरी दाबी गर्नु एउटा पक्ष भए पनि केही आलोचकहरूले चिनियाँ सरकारको आलोचना गरेका छन् । उनीहरूले चिनियाँ सरकारले सेन्सरसिप लगाएको र वास्तविक समाचार बाहिर नल्याएको आरोप लगाएका छन् ।

किनकि चीनले पछिल्लो समय इन्टरनेटमा केही सामग्रीहरू ब्लकसमेत गरेको छ । चीनमा कोरोना भाइरस रोकथामका लागि आवश्यक उपकरण नभएको एउटा भिडियो निकै भाइरल भएको थियो । भिडियोमा एक चिकित्सकले चिनियाँ सरकारको आलोचना गरेका थिए । तर, अब यो भिडियो इन्टरनेटमा उपलब्ध छैन । यसको अर्थ हो, चीनले यो भिडियो इन्टरनेटबाट नै निकालिदिएको छ ।

त्यस्तै, आफ्नी आमाको मृत्यु पछि रोइरहेकी एक युवतीको भिडियो पनि अब हटाइएको छ । केही पहिले कोरोनाबारे पहिलो पटक जानकारी दिएका ली वेन लियाङले पनि अस्पतालबाट एउटा भिडियो बाहिर ल्याएका थिए । तर, चिनियाँ सरकारले उनलाई चुप लगाएको आरोप लगाइएको छ । यी चिकित्सकको अब त मृत्यु भइसकेको छ ।

त्यसैले, आलोचकहरूले चीनको सकारात्मक पहललाई स्वीकार गर्दै उसले पछिल्लो समय सेन्सरसिप लगाउन थालेको आरोप लगाउन थालेका छन् ।

त्यसो त सन् २००२ मा सार्स भाइरसको सङ्क्रमण व्यापक भएपछि पनि यस्तै स्टेप लिइएको थियो । अनि त्यसलाई पनि सेन्सरसिप गर्न खोजिएको थियो ।

त्यति बेला चीनले वास्तविक जानकारीहरू लुकाउन प्रयास गरेको बताइएको छ ।

त्यसैले अहिले पनि विश्वका विज्ञहरूले चीनले कोरोना भाइरसबारे सेन्सरसिप लगाउन सुरु गरेको आरोप लगाएका छन् ।