कोरोना, नजरअन्दाज र महँगो पाठ - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

कोरोना, नजरअन्दाज र महँगो पाठ



-डिकेन्द्र ढकाल, समाजशास्त्री

आजभन्दा ७९ दिनअघि अप्रिल १ मा भारतका एक जना ३० बर्षभन्दा लामो समय अध्ययन, अध्यापन र जन स्वास्थ्यमा योगदान पु-याएका स्वास्थ्यविद् डा. एन. देवादासनले “स्क्रोल इन”मा अन्तरवार्ता दिँदै भनेका थिए, “वुहान र युरोपमा जसरी भाइरस फैलिनलाई भारतको वातावरण सहयोगी छैन। यहाँको अस्वस्थ अवस्थामा बाँच्न अभ्यस्त भारतीयसँग जन्मजात प्राप्त भाइरस प्रतिरोधात्मक क्षमता छ!” अन्तरवार्तामा उनको सार सन्देश के थियो भने भारत सरकारले भाइरसलाई चाहिनेभन्दा बढ्ता चासो दियो। उनको अनुआर भारतमा भाइरसले कुनै नराम्रो अवस्था ल्याउन सक्दैन। उनले यसो भनिरहँदा त्यसको अघिल्लो दिन मार्च ३१को तथ्यांक अनुसार भारतमा १ हजार ५ सय ५९ जनामात्र संक्रमित थिए।

तर हाल आएर (जुन १७ तारिख)का दिन भारतमा कोरोनाभाइरसका कारण एकै दिनमा २,००६ बढीको मृत्यु भएको छ । कुल सङ्क्रमितको सङ्ख्या ३ लाख ६८ हजार नाघेको छ। र अमेरिका, ब्रजिल, र रुसपछि भारतमा सर्वाधिक सङ्ख्यामा सङ्क्रमण देखिएको छ। यसरी भारतमा कोरोनाभाइरस सङ्क्रमण अझै बढ्ने क्रममा छ।

भारतका स्वास्थ्यविद् डा. एन. देवादासनले कोरोना भाइरसको चर्चा अनावश्यक रुपमा बढ्ता भयो भनिरहँदा यता नेपालमा मार्चको अन्तिम दिन सम्ममा २ जनामा मात्र संक्रमण पुष्टि भएको थियो। तर अढाई महिनाको अवधिमा सरकारी तथ्यांक अनुसार नेपालमा आजसम्मको सङ्क्रमितको कुल सङ्ख्या २ जना बाट बढेर ७ हजार ८ सय ४८ पुगेको छ।

सुन्दा अलोकप्रिय लाग्ला, तर तथ्य भनेको तथ्य हो। भाइरसले जे गर्नु छ त्यही गरिरहेको छ। अर्थात् भाइरसले संक्रमण गर्नलाई अर्को व्यक्ति फेला पारेर आफू बाँच्नलाई वातावरण खोजिरहेको छ, सफल भएको छ र यसले खोप पत्ता नलागेसम्म सफलता पाइरहने छ। हाम्रो र भारतीयहरुको आहारविहार र वातावरण धेरै कुरा मिल्दछन्। स्वास्थ्यविद् डा. एन. देवादासनको अन्दाज गलत सावित भयो। यसबाट हामीले एउटा गतिलो पाठ सिक्नै पर्छ। त्यो के हो भने भारतमा अहिले कोरोना जसरी फैलिएको छ त्यसरी नै नेपालमा पनि फैलिने प्रवल सम्भावना छ। त्यसैले हामीहरुले आफूलाई हाम्रो खानपिन वा आनिबानीका कारण भाइरससँग लड्ने अद्भुत प्रतिरोधात्मक क्षमता भएका अपवाद स्वरुपका मनुवा ठान्नु मूर्खतापूर्ण अन्दाज हुनेछ। अवश्य हो, लसुन अदुवा, बेसार आदि र अप्रदुषित सफा हावा स्वास्थ्यलाई लाभप्रद छन् तर यी कोरोनालाई परास्त गर्न यथेष्ठ उपाय होइनन्।

अमेरिकाकै कुरा गरौँ । राष्ट्रपति ट्रम्पले भाइरसलाई सुरुमा ठट्टा ठाने। ३ महिना अघिमात्र कोरोना भाइरस अमेरिकामा त्यहाँको मृत्युको उच्च कारण मध्ये ७५ वटा कारणभित्र पनि पर्दैनथ्यो, अहिले यो भाइरस अमेरिकामा नै मृत्युको १ नम्बर कारण बनेको छ। अहिलेसम्मको वैज्ञानिक अध्ययन अनुसार यो भाइरस आफै हराएर जाने लक्षण छैन। भाइरसबाट जोगिनलाई एउटामात्र अचुक विधि अझै पत्ता लागेको छैन। एउटामात्र उपाय कपडाको मास्क लगाउँदैमा यो भाइरसबाट पूर्ण सुरक्षित हुन सकिंदैन। बरु सर्ने सम्भावना अल्लि लम्ब्याउन सक्छ। १० मिनेट लाग्ने ठाउँमा २० मिनेट लाग्ला ! त्यत्ति हो। अध्याँरा दिन अझै आउन सक्छन्। त्यसैले अब प्रत्येक देशमा सुझबुझ भएका नैतिक र जिम्मेवार नेतृत्व चाहिन्छन् जसले यो भाइरसलाई कम आँक्दैनन् र ठट्टा गर्दैनन्।

अहिलेसम्मको कोभिड १९ रोग संक्रमणबारे गरिएका अध्ययन हेर्दा एउटा थप नयाँ तथ्य फेला परेको छ। यो रोग सार्न “सुपर स्प्रेडर”हरु बढी जिम्मेवार छन्। त्यसैले जन स्तरमा अहिले यो भाइरससँग जोगिन “सुपर स्प्रेडर” बाट टाढा रहनु पर्छ। सुपर स्प्रेडर भनेका त्यस्ता संक्रमित व्यक्ति हुन् जसले धेरै जनालाई रोग सार्न सक्दछन्। वैज्ञानिक कारण ठ्याक्कै पत्ता नलागे पनि कोही कोही व्यक्ति एकदमै धेरै जनालाई यो भाइरस सार्न सक्ने पाइएको छ। ती व्यक्ति नै कोरोना सुपर स्प्रेडर हुन्।

वुहानमा एउटा बिरामीबाट १४ जना स्वास्थ्यकर्मीलाई कोभिड १९ सरेको पाइयो। साउथ कोरियामा एकै जना व्यक्तिले चर्चमा प्रार्थना गर्न गएका ४०जना सम्मलाई एउटा भेटमामात्र संक्रमण गर्न सकेको भेटियो। वासिंगटनमा भएको ६१ जनाको सांगीतिक जमघटमा ३० जनालाई स-यो। त्यस्तै गरेर सिकागोमा एउटा संक्रमित व्यक्ति सामाजिक दुरीलाई ख्याल नगरिकन खान बोलाएको ठाउँमा र मलाम जाँदा १५ जनालाई रोग सारेको पाइयो। इटाली र जर्मनीबाट फर्केका एकजना सिख गुरुले भारतमा एउटा ठाउँमा भएको जमघटमा २७ जनालाई सार्न भ्याएको पाइएको छ। भारतमै ४२९१ जना संक्रमितको सम्वन्ध तब्लिगी जमातसँग देखियो। पन्जाबमा तिर्थ गर्न गएका सिख तिर्थयात्री बोकेका २७ जना बस ड्राइभरहरु र यिनै बसमा यात्रा गरेका ४२९१ तिर्थयात्री संक्रमित भएको पाइयो।

“सुपर स्प्रेडर”बाट बच्न के गर्ने त?

सुपर स्प्रेडर चिनिदैंनन् । त्यसैले जो कोही पनि सुपर स्प्रेडर हुन सक्छ भनेर सावधानी अपनाउनु पर्छ। खुला सिमाको कारणले महामारीको हिसाबले भारत र नेपाललाई जोडेर एउटा इकाई नै मानेर हेर्नुपर्छ। यसको मतलब हो भारतमा जोखिम बढ्दै जाँदा नेपालमा पनि बढ्छ। भारत र नेपालमा आजको तथ्याङ्क हेर्ने हो भने लक्डाउन खुकुलो हुँदै जाँदा चेतनाको कमी र लापार्वाहीले कोरोना भाइरस फैलिने दर तिब्र हुँदै गएको छ। अब जनघनत्व बाक्लो भएका सहरहरुमा संक्रमण तिब्र दरले बढ्ने सम्भावना हुन्छ । सावधानी नपनाएमा काठमाडौँ र मुलुक भरका घना बस्ती भएका सहर, बजारहरु अब उच्च जोखिममा पर्ने छन्। यतिबेला विज्ञहरुले सुझाएका सावधानीका केही उपायहरु यस्ता छन्:

१. अब सबैले सही तरिकाले सुरक्षित मास्क लगाउने गर्नै पर्दछ। मास्कले पूरा सुरक्षा दिंदैन। त्यसकारण दुरी त कायम गर्नैपर्छ। अझ मास्क नलगाएकालाई मास्क लगाउन प्रेरित गर्नुपर्छ। ठट्यौली भाषामा भन्दा जसरी सबैले सधैँ कट्टु लगाइन्छ, घरबाट बाहिर निस्कँदा मास्क लगाउनै प-यो। नत्र हिंड्न लाज मान्नु प-यो।

२. सरकारबाट कोरोनाको पिसिआर टेस्ट रोकिनु हुँदैन। कोरोना टेस्ट लगातार गरिरहने, टेस्टबाट पत्ता लागेका तर लक्षण नदेखिएका संक्रमितलाई आइसोलेशनमा राख्नै पर्छ र कन्ट्याक्ट ट्रेसिंग गर्नुपर्छ। यसो गर्दा सुपर स्प्रेडरको पहिचान हुन्छ।

३. सडक, कार्यालय, कारखाना, निर्माण स्थल आदिमा मास्क नलगाई काम गराउनेलाई चेतावनी दिनुपर्छ र आवश्यक परे जरिवाना गराउनु पर्छ। र सम्भव भएसम्म लामो सामाजिक दुरी अपनाएर काम गर्नु पर्दछ। के थाहा, यिनैमध्ये कोही सुपर स्प्रेडर पो छ कि!

४. समाजका प्रत्येक जाने बुझेकाले सामाजिक दुरी कायम गरेर, मास्कको सही र सुरक्षित तरिका अपनाएर अनुकरणीय व्यक्ति बनेर प्रदर्शित हुनु पर्दछ। विदेश तिरका समाचारमा उच्च राजनीतिक पदाधिकारी र सेलिब्रिटीहरु संक्रमित भएको उनीहरुले आफ्नो अनुहार छोप्न आवश्यक नठानेर हो। यी नेता र सार्वजनिक व्यक्तिहरु एकै दिन धेरै ठाउँमा पुग्ने हुनाले यिनीहरुनै सुपरस्प्रेडर रहेछन् भने यिनीहरुले धेरैलाई रोग सार्न सक्दछन्।

५. सुपर स्प्रेडरबाट जोगिने अचुक उपाय सामाजिक दुरी कायम गर्ने नै हो। अब खोप पत्ता नलागेसम्म यस भाईरसबाट बच्न सामाजिक दुरी कायम राख्नै पर्छ।

६. सुपर स्प्रेडरसँग अरुलाई रोग सार्न प्रसस्त भाइरस हुन सक्ने (रोग सार्न ‘लोड’ पुग्ने भाइरस संख्या भएको हुने) वैज्ञानिक मत छ। सुपरस्प्रेडरले हिंड्दा, काम गर्दा वा बस्दा जहाँ पनि छोएर भाइरसको लोड पुग्ने गरी सतह र बस्तुलाई संक्रमित बनाएका हुन सक्छन्। त्यसैले सबैले व्यक्तिगत सरसफाइमा ध्यान दिने, विशेष गरेर नधोएका हातले नाक, मुख, आँखा छुँदै नछुने र केही शंकास्पद बस्तु वा घर बाहिरका व्यक्तिलाई छोएपछि हात धुने काम अबको दिनमा स्वस्थ भएर बाँच्ने “नयाँ सामान्य” नियम बनाउनै पर्छ।

७. भिडभाड हुने ठाउँ (रेस्टुरेन्ट, होटेल, सभा, शपिङ् मल, सिनेमा, सार्वजनिक यातायात, स्कूल, कलेज) सकेसम्म सन्चालनमा नल्याउने र ल्याइएको पाइए पनि व्यक्तिगत हिसाबले आफू ती ठाउँमा नजाँदा सुरक्षित हुन सकिन्छ। किनभने अध्ययनले नै देखाएको छ सुपर स्प्रेडरहरुको खतरा यस्तै ठाउँमा हुन्छ।

८. पहिल्यै अरु रोग भएका र बढी उमेर भएकालाई जुनसुकै रोगबाट पनि बढी जोखिम हुन्छ। यही कुरा कोरोना भाइरसमा पनि लागु हुने हो ।

९. मानसिक हिसाबले सचेत र सबल सकारात्मक बन्नुपर्छ र सबैलाई आफूले जानेका ज्ञान बाँड्ने गर्नुपर्छ। यो असल नागरिकको दायित्व हो। जनस्वास्थ्य र महामारी भनेको निरपेक्ष चिकित्साको मात्र विषय होइन। सबै सचेत नागरिकको जिम्मेवारीको कुरा हो।

१०. सत्य कुरो के हो भने पोषिलो शुद्ध सफा ताजा खाना, सफा पानी, फलफूल र तरकारी खाने बानी, बस्ने र काम गर्ने ठाउँ सफासुग्घर गर्ने, नुहाइधुवाइ गरिराख्ने र नियमित आवश्यक योग/व्यायाम गर्नाले सबै खाले रोगसँग लड्न सहयोग पु-याउँदछ। हाम्रा पूर्वीय सरसफाइका संस्कार पक्का राम्रा छन्; आयुर्वेदले सिकाएका औसधोपचार सबै रोगसँग लड्न लाभदायक छन्। यसका साथसाथै नयाँ रोगले नयाँ चुनौति ल्याएका हुन्छन् र यिनलाई परास्त गर्न नयाँ नियम पनि चाहिन्छन् भन्ने कुरा कहिल्यै भुल्नु हुँदैन। मास्क, सामाजिक दुरी र सरसफाइ अहिलेलाई नयाँ नियम हुन्।