लकडाउन खुलेपछि नेपालमा कोरोना संक्रमण भयाबह बन्ने संकेत
काठमाडौं- लकडाउन खुलेपछि नेपालमा कोरोना संक्रमणको भयाबह अवस्था आउने संकेत देखिएको छ । एकातिर सरकारले परिक्षन्को दायरा घटाएको छ भने अर्कातिर विभिन्न स्थानमा समुदाय स्तरमै संक्रमण फैलिएको आशंका गरिएको छ ।
यस्तै आजमात्रै गण्डक अस्थायी अस्पतालमा उपचाररत एक जना युवतीको मृत्यु भएको छ । बाराको परवानीपुर–४ स्थायी घर भएकी मृतक युवतीको आरडिटी रिपोर्ट पोजेटिभ आएको थियो ।
उनको पिसिआर रिपोर्ट भने आउन बाँकी रहेको कोभिड विशेष अस्पताल गण्डकका संयोजक डा उदय नारायण सिंहले बताए । डायरिया र श्वास प्रश्वासमा समस्या भएपछि बुधबार वीरगन्जको नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।
कोभिड अस्पताल गण्डकमा बिहीबार भर्ना गरिएकोमा शुक्रबारै आइसियू कक्षमा उपचारका क्रममा मृत्यु भएको गण्डक अस्पतालले जनाएको छ ।
गण्डक अस्पतालमा शुक्रवार बिहान ८५ वर्षीया वृद्धाको कोरोनाका कारणले मृत्यु भएको थियो ।
यस्तै पूर्वी नाका काँकडभिट्टास्थित सशस्त्र प्रहरीको राजश्व तथा भन्सार गस्ती गुल्ममा कार्यरत २० जना पुरुषमा कोभिड–१९ सङ्क्रमण भएको छ ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंका अनुसार गुल्मका १८ जनामा आज र दुई जनामा तीन दिन अघि कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको होे । सो गुल्मका सशस्त्र प्रहरीले काँकडभिट्टा नाकामा भारतबाट आइपुगेका नेपालीलाई होल्डिङ सेन्टरमा सुरक्षा प्रदान गर्दै आएका छन् ।
तीन दिन अघि होल्डिङ सेन्टरमा खटिएको सशस्त्र प्रहरीको समूहको स्वाब सङ्कलन गरी परीक्षणका लागि धरान पठाइएकोमा आज १८ जनामा कोभिड–१९ पुष्टि भएको मेचीनगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक नविन बरालले बताए ।