कोरोना संक्रमणपछि स्वास्थ्यमा हुने दीर्घकालीन असर यस्ता छन् - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

कोरोना संक्रमणपछि स्वास्थ्यमा हुने दीर्घकालीन असर यस्ता छन्



एजेन्सी- नयाँ कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमण विश्वभर शुक्रबार बेलुकासम्ममा १६ लाख २० हजार कटिसकेको छ ।

यो भाइरसले झण्डै एक लाख जनाको ज्यान लिइसकेको छ । सँगसँगै अहिलेसम्ममा तीन लाख ६६ हजार जना भन्दा बढी ठीक भएर घर फर्किएका पनि छन् ।

अहिले वैज्ञानिकहरुले कोरोना भाइरसबाट संक्रमित भई ठीक हुनेहरुमा यसको दीर्घकालीन असर पर्छ कि पर्दैन भनेर अनुसन्धान गर्दैछन् ।

फोक्सो

जो व्यक्तिमा कोरोना भाइरसको संक्रमणको सामान्य लक्षण (सुख्खा खोकी र ज्वरो) मात्रै देखिएर ठीक हुन्छन् ती व्यक्तिमा कुनै दीर्घकालीन असर देखिँदैन ।

तर जसमा मध्यम र गम्भीर प्रकृतिका लक्षणहरु (श्वासप्रश्वासमा समस्या हुने तथा निमोनिया हुने) देखिएका छन् ती व्यक्तिहरुको फोक्सोमा कोरोना भाइरसले दीर्घकालीन रुपमै हानी पुर्‍याउन सक्ने केही वैज्ञानिकहरुले बताएका छन् ।

कोरोना भाइरस श्वास नली हुँदै शरीरमा प्रवेश गर्छ । यसले अन्य कोरोना भाइरसहरुले, जस्तो कि सार्स, जस्तै व्यवहार गर्छ । विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार कोरोना भाइरसले तीन चरणमा फोक्सोमा आक्रमण गर्छ र तेस्रो चरणमा फोक्सोलाई नै हानी पुर्‍याउँछ ।

भाइरस श्वास नलीमार्फत मानव शरीरका कोषहरुमा प्रवेश गर्छ र कोषलाई थप भाइरस निर्माण गर्न दवाव दिन्छ । त्यसपछि यसले फोक्सोमा आफ्नो काम गर्छ जुन केही व्यक्तिहरुका लागि भयावहपूर्ण हुन सक्छ ।

कोभिड–१९ को संक्रमणपछि जलन बढाउन सक्छ भने फोक्सोमा तरल पदार्थ भरिन सक्छ । यस्तो असर संक्रमितहरुमध्ये करिव १४ प्रतिशतमा देखिन सक्छ । यस्तो अवस्थामा निमोनिया हुन सक्छ । श्वासप्रश्वासमा निकै अप्ठेरो हुन्छ र बिरामीलाई भेन्टिलेटरमा राख्नुपर्छ ।

यसको संक्रमणबाट हुने अत्याधिक जलनका कारण फोक्सोलाई हानी गर्नेछ । फोक्सोको परीधीमा हुने वायुथैलीहरुलाई क्षति पुग्नेछ । यी वायुथैलीहरुले हामीले श्वास लिँदा फोक्सोबाट रगतमा अक्सिजन प्रवाह गर्नमा काम गर्छन् । साथै यिनले कार्वनडाइअक्साइडलाई बाहिर निकाल्नमा पनि सहयोग गर्छन् ।

भाइरसप्रति हाम्रो शरीरको प्रतिरक्षा प्रणालीको प्रतिक्रियास्वरुप उत्पन्न हुने अति जलनका कारण फोक्सो स्वरुपमै बदलाव आउन सक्नेछ । फोक्सोको स्वरुप मौरीको चाकाजस्तै देखिने हुनसक्छ या त यो कडा हुन सक्छ । जसका कारण यसले राम्रोसँग आफ्नो काम गर्न समर्थ हुनेछैन । यो फाइब्रोसिस वा फोक्सो कडा र बाक्लो हुँदाको जस्तै अवस्था हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस परिवार अन्तरगतको एक सार्स, जसले कोभिड-१९ ले जस्तै व्यवहार गर्छ, ले पनि यसबाट संक्रमितहरुको फोक्सोमा यस्तै असर पुर्‍याएको थियो । जसका कारण ती संक्रमित व्यक्तिहरुमा श्वासप्रश्वासको क्षमतामा दीर्घकालीन असर पुगेको थियो ।

केही प्रतिशत व्यक्तिहरु जसमा कोभिड-१९ को संक्रमणपछि गम्भीर प्रकृतिको समस्या सिर्जना भएको छ उनीहरुको श्वासप्रश्वास प्रक्रिया पहिलेजस्तै सामान्य नहुन सक्छ । उनीहरुलाई श्वासप्रश्वास प्रक्रिया सामान्य बनाउनका लागि औषधीको जरुरत पनि पर्न सक्छ ।

मृगौला

कोभिड–१९ को संक्रमणका कारण गम्भीर समस्या भएकाहरुमा फोक्सोमा मात्रै होइन अरु अंगहरुमा पनि क्षति पुग्न सक्छ । त्यसमध्ये मृगौलामा पुग्ने क्षति पनि हो ।

मृगौलाले सही ढंगले काम गर्नका लागि रक्तचातको सन्तुलन आवश्यक हुन्छ । भाइरस संक्रमणका कारण स्थिति गम्भीर हुँदा रक्तचाप कम हुन सक्छ । अचानक हुने कम रक्तचापका कारण मृगौलालाई आवश्यक पर्ने रक्तप्रवाह रोकिन सक्छ ।

जसका कारण संवेदनशील कोषहरु चाँडै नै मर्न सक्दछन् र यसले मृगौलामा दीर्घकालीन क्षति पुग्न सक्छ ।

जसले कोभिड-१९ को संक्रमणको गम्भीर अवस्थालाई जितेका छन् ती व्यक्तिहरुले आफ्नो मृगौलामा दीर्घकालीन क्षति पुगेको छ कि छैन भनी रगत र पिशाबबाट परीक्षण गर्नु आवश्यक छ ।

कोभिड–१९ अहिले पनि नयाँ रोग हो र यसबारे वैज्ञानिकहरुले हरेक दिन नयाँ नयाँ कुराहरु पत्ता लगाइरहेका छन् । समयले नै बताउनेछ कि संक्रमितको शरीरमा यसभन्दा पनि गम्भीर क्षति पुर्‍याउँछ वा पुर्‍याउँदैन । किनकि भाइरसले उसको पूरा असर संक्रमण हुने बित्तिकै तुरुन्तै देखाउँदैन ।

(अलजजिरामा डा. अमिर खानको लेखबाट)