कोभिड- १९ मा आयुर्वेदले चमत्कार गर्नसक्छ - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

कोभिड- १९ मा आयुर्वेदले चमत्कार गर्नसक्छ



नेपाल आयुर्वेदको उत्पत्ति थलो हो । सरकारले आयुर्वेद चिकित्सालय सञ्चालन गर्छ । विविहरूले आयुर्वेद क्याम्पस सञ्चालन गरिरहेका छन् र नेपालभरि हजारौँ आयुर्वेदमा प्रशिक्षित चिकित्सकहरू छन् ।

मैले सूचना पाएअनुसार धेरैजसो आयुर्वेदका चिकित्सकहरू लकडाउनमा बसेका छन् । यसको अर्थ हो आयुर्वेदाचार्यहरूलाई सरकारले कोभिड-१९ को उपचारको लागि पत्याइएन र आयुर्वेदाचार्यहरूले आफ्नो दक्षता प्रयोग गर्न पाएनन् । मात्रै होइन सरकारले आफैले सञ्चालन गरेको आयुर्वेद चिकित्सा पद्धतिलाई कोरोना उपचारका लागि पत्याएन ।

नेपालमा असङ्ख्य जडीबुटीहरू छन् । हरेक जडीबुटीमा औषधीय गुण हुन्छ भने ती औषधिहरूमा कोरोना विषाणुलाई मार्ने क्षमता पनि पक्कै छ । यसको अर्थ हो सरकारी तन्त्रले नेपालको प्राचीन आयुर्वेदलाई पनि कोरोनाको उपचारका लागि खटाउन पर्‍यो ।

अमेरिका, युरोप जस्ता विज्ञानमा मै हुँ भन्ने देशहरूले पनि कोरोनाको वास्तविक उपचार गर्न सकेका छैनन् किनभने अहिलेसम्म यसको औषधि नै पत्तो लागेको छैन । अहिलेसम्म संसारभरि कोरोनाको उपचार “आए आँप गए झटारो”का रूपमा भई/गरिरहेको अवस्था छ । अर्को शब्दमा भन्दा हरेक सङ्क्रमित मान्छे “गिनीपिग” बनाइएको छ ।

औषधि पत्तो नलागी सकेको अवस्थामा नेपाल सरकारले कोरोना सङ्क्रमित मध्ये केही प्रतिशत रोगीहरूलाई निजहरूको स्वीकृति लिएर आयुर्वेदका चिकित्सकहरूको जिम्मा दिनुपर्छ । आधुनिक आयुर्वेदले पनि इसिजी, भेन्टिलेटरजस्ता आधुनिक प्रविधिहरू प्रयोग गर्छ नै ।

सङ्क्रमितहरूलाई जसरी एलोपेथिक चिकित्सकहरूले “टुक्का”का भरमा औषधि गरिरहेका छन् त्यसको तुलनामा आयुर्वेदिक औषधिहरू मान्छेको स्वास्थ्यलाई न्यून नोक्सानी गर्छन् । मैले साइड इफेक्टको कुरा गरेको हो । कोरोना सङ्क्रमितलाई कम साइड-इफेक्ट गर्ने र प्राकृतिक रूपमा इम्युनसिस्टम बढाउने आयुर्वेदको प्रयोग गर्ने अवसर दिनुपर्छ ।

विदेशीले औषधि पत्तो नलगाएको अवस्थामा आयुर्वेदले पत्तो लगाउनै सक्दैन भन्ने मानसिक रोगबाट सरकार, एलोपेथिक चिकित्सक, आधुनिक औषधि विज्ञहरू मुक्त भएको राम्रो । कोरोना सङ्क्रमितलाई आयुर्वेदीय उपचार गर्ने क्रममा कोरोना पराजित भयो भने नेपाल र नेपालीको भाग्यको साँचो खुल्छ । अरूले औषधि पत्तो नलगाएको अवस्थामा आयुर्वेदकालागि यो सम्भावना छंदैछ ।

यदि आयुर्वेद कोरोनाको वास्तविक औषधि पत्तो लगाएन भने पनि हीनताबोध गर्नुपर्ने अवस्था छैन किनभने अर्वौँ बजेट खर्चिरहेका एलोपेथिकहरूले पनि माखो मार्न सकेका छैनन् ।

त्यसैले मेरो नेपाल सरकार र आयुर्वेद चिकित्सकहरूसँग विनम्र निवेदन छ, तपाईँहरू पनि कोरोनाको आयुर्वेदीय उपचार गर्न र औषधि खोज्न खट्नुपर्छ र सरकारले त्यो अवसर प्रदान गर्नुपर्छ ।

यदि नेपाल सरकार र आयुर्वेद चिकित्सकहरूले आयुर्वेदउपर आफ्नो स्वामित्व लिएर यस्तो महामारीका बखतमा आयुर्वेद प्रणालीको चिकित्साको प्रयोग, उपयोग र अनुसन्धान नगर्ने हो भने आयुर्वेद विभाग खारेज गरिदिए हुन्छ ।