ब्राजिलले कोरोनाको तथ्याङ्क लुकाएपछि डब्ल्यूएचओ तनावमा
एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनासम्बन्धी तथ्याङ्क नलुकाउन ब्राजिललाई आग्रह गरेको छ ।
मृतकको वास्तविक संख्या लुकाइरहेको भन्दै आलोचना भइरहेका बेला ब्राजिल सरकारले कोरोना भाइरसबाट समग्र संक्रमित र मृत्युको तथ्याङ्क सार्वजनिक गर्न छाडेको छ ।
शनिबार ब्राजिलको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा रहेको अहिलेसम्मको समग्र मृतक र संक्रमितको तथ्याङ्क हटाएर केवल पछिल्लो २४ घण्टामा भेटिएका संक्रमित र मृतकको तथ्याङ्क मात्र राखिएको थियो ।
ब्राजिलमा मिनेट–मिनेटमा कोरोनाबाट मानिसको मृत्यु भएका कारण तथ्याङ्क सार्वजनिक गर्न छाडिएको भन्ने समाचार बाहिर आएका थिए । डब्ल्यूएचओले ब्राजिलको यस कदममा चासो दिंदै तथ्य र पारदर्शिता अपनाउँदै विवरणहरु सार्वजनिक गर्न भनेको हो ।
ब्राजिल कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा दोस्रो स्थानमा छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार ब्राजिलमा कोरोना भाइरसबाट ६ लाख ९१ हजार ७ सय ५८ जना संक्रमित छन् भने ३६ हजार ४ सय ५५ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा चासो नदिएको भन्दै ब्राजिल सरकारको आलोचना हुँदै आएको छ ।
विश्व स्वास्थ्य संगठनका हेल्थ इमरजेन्सी प्रमुखले पत्रकारहरुसँग कुरा गर्दै भने– नागरिकहरुको सुरक्षालाई ध्यान दिँदै तथ्याङ्कमा पारदर्शिता अपनाउनु पर्छ र त्यसलाई सार्वजनिक गर्नुपर्छ ।
उनले भने, ‘आखिर के भइरहेको छ भनेर जान्नु जरुरी हुन्छ । भाइरस कहाँसम्म फैलिइसकेको छ भनेर पनि थाहा पाउनु आवश्यक छ । उनीहरुले यो संक्रमणलाई कसरी रोक्ने भनेर उपाय खोज्नुपर्छ ।’