कोपा अमेरिका : जापान र उरुग्वेको रमाइलो खेल - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

कोपा अमेरिका : जापान र उरुग्वेको रमाइलो खेल



एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा जापान र उरुग्वे बराबरीमा रोकिएका छन् । एसियाली राष्ट्र जापानले खेलमा दुई पटक अग्रता लिएपनि जोगाउन नसक्दा उरुग्वेसँग २-२ को बराबरीमा रोकिएको हो ।

जापानले खेलको २५ औं मिनेटमा अग्रता लिएको थियो । गाकु शिबाशाकीको लामो पासलाई कोजी मियोशीले सदुपयोग गर्दै गोल गरेका थिए । तर त्यसको ५ मिनेटमा नै उरुग्वेले गोल फर्कायो । नाओमिची उएडाले पेनाल्टी क्षेत्रभित्र एडिन्सन काभानीलाई लडाएपछि प्राप्त पेनाल्टीमा लुइस सुआरेजले सहजै गोल गरे ।

खेल बराबरीमा ल्याएको दुई मिनेटमै उरुग्वेले अग्रता लिने अवसर गुमायो । काभानीले २५ यार्ड टाढाबाट गरेको प्रहार क्रसबारमा लागेर फर्केपछि खेल १-१ को स्थितिमा रहयो । त्यसअघि खेलको सुरुवाती समयमा पनि काभानीको प्रहारलाई जापानी गोलरक्षक एजी कवाशिमाले बचाएका थिए ।

दोस्रो हाफको ५९ औं मिनेटमा जापानले पुन: अग्रता लियो । गोलरक्षक फर्नान्डो मुस्लेराले सहज क्रसलाई सम्हाल्न नसक्दा फर्केर आएको बललाई मियोशीले गोलमा परिणत गर्दै आफ्नो व्यक्तिगत दोस्रो गोल गरे । त्यसको केहि मिनेटमा नै सुआरेजले गरेको शक्तिशाली प्रहारलाई कावाशिमाले विफल पारे ।

६६ औं मिनेटमा उरुग्वेले फेरी खेल बराबरीमा ल्यायो । निकोलस लोडीएरोको कर्नरमा जोसे जिमिनेजले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । ८० औं मिनेटमा उरुग्वेको गोल गर्ने मौकामा क्रसबार बाधक बन्यो । मार्टिन कसेरेसको क्रसमा गोलरक्षक बिट भएको अवस्थामा सुआरेजको हेडर क्रसबारमा लगेर फर्कियो । खेलको इन्ज्युरी समयमा पनि सुआरेजको प्रहार थोरैले बाहिरिंदा दुवै टोली अंक बाँड्न बाध्य भए ।

यस बराबरीसँगै उरुग्वे २ खेलमा ४ अंक जोडेर अंक तालिकाको शीर्षस्थानमा छ । जापानले भने पहिलो अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । १ खेल खेलेको चिली ३ अंकसाथ दोस्रो र अंकविहिन इक्वेडर पुछारमा छ ।