'रअ' प्रमुखसँगको गोप्य भेट र अमित शाहको योजनामा 'कनेक्सन' के हो ? - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

‘रअ’ प्रमुखसँगको गोप्य भेट र अमित शाहको योजनामा ‘कनेक्सन’ के हो ?



काठमाडौँ- भारतीय गृहमन्त्री अमित शाहको नेपालमा पनि भारतीय जनता पार्टी विस्तार गर्ने र सरकार बनाउने गोप्य योजना सार्वजनिक भएपछि यसले नेपाल र भारतको राजनीतिमा तरङ्ग ल्याएको छ ।

नेपाली राजनीति र सम्प्रदायमा देखिएका पछिल्ला भड्काव पनि यो योजना अन्तर्गत नै भैरहेको कतिपय विश्लेषकहरुले बताएका छन् । सार्वजनिक भएको भारतीय योजनाको विरोध अहिले भारत र नेपालमा पनि भैरहेको छ ।

यस्तैमा नेकपा दाहाल-नेपाल समूहका नेता भीम रावलले भारतीय गुप्तचर संस्था (रअ)का प्रमुखसँग बालुवाटारमा राती भेट्नुलाई यहि योजनासँग जोडेका छन् । उनले नेपालमा भारतको खुलेआम हस्तक्षेप बढेको संकेत गर्दै भारतीय योजनामा यस्ता गोप्य भेटले योगदान गरेको संकेत गरेका छन् ।

मध्यरातमै बालुवाटार बोलाएर रअ प्रमुखसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्दा भारतीय नेताले नेपालमा भारतीय जनता पार्टीको सरकार बनाउँछौ भनेर हस्तक्षेप गरेको रावलको भनाई छ ।

नेपालमा भारतीय हस्तक्षेप बढ्नुमा प्रधानमन्त्री ओली जिम्मेवार रहेको पनि रावलले दाबी गरे । ‘हालै भारतीय गृहमन्त्रीलाई उदृत गर्दै त्यहाँका एक जना मुख्यमन्त्रीले नेपालको स्वाधीनता र स्वाभिमानका विरूद्ध दिएको अभिव्यक्ति निन्दनीय छ’ भीम रावलले ट्‍वीटरमा लेखेका छन्, ‘यो प्रधानमन्त्री ओलीको वालुवाटारमा राती भारतीय गुप्तचर प्रमुखसँगको गोप्य मन्त्रणाको परिणाम हो ।’

भारतीय गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा भाजपाको सरकार बनाउने योजना बनाइरहेको बताएको भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले भारतीय पत्रिकालाई बताएका थिए । जुन समाचार छापिएपछि नेपालमा पनि तरंग उत्पन्न भएको थियो ।

केही समयअघि एक उच्च भारतीय अधिकारीले नेपालमा विवादरहित व्यक्तिलाई प्रधानमन्त्री बनाउने योजना भइरहेको समाचार पनि बाहिर आएको थियो । जसको आलोचना भएको थियो ।