काङ्ग्रेसमा चर्कियो ‘वाइडबडी’ र 'धर्म'बारे बहस - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

काङ्ग्रेसमा चर्कियो ‘वाइडबडी’ र ‘धर्म’बारे बहस



काठमाडौँ — कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमा ‘वाइडबडी’ नलेखेर ‘हवाईजहाज काण्ड’ उल्लेख गरिएकोमा पार्टीका केन्द्रीय सदस्यहरूले नेतृत्वमाथि प्रश्न गरेका छन् ।

कांग्रेस सहमहामन्त्री प्रकाशरण महतले बिहीबारको बैठकमा प्रस्तुत गरेको दुई पृष्ठको राजनीतिक प्रस्तावमा नेपाल वायुसेवा निगमको ‘वाइडबडी काण्ड’ लाई लक्षित गर्दै ‘हवाईजहाज’ भन्ने नरम शब्दावली प्रयोग गरेका थिए । त्यसैलाई लिएर शुक्रबारको बैठकमा अधिकांश सदस्यहरूले ‘वाइडबडी’ लेख्न किन डराएको भन्दै नेतृत्वमाथि प्रश्न उठाएका हुन् ।

वाइडबडी प्रकरण लेख्नुपर्ने माग राख्नेमा संस्थापन इतरपक्षीय केन्द्रीय सदस्यहरू बढी छन् । उनीहरूले सभापति शेरबहादुर देउवाको नामसमेत यस प्रकरणसँग जोडिएर आएकाले दस्तावेजमा चलाखीपूर्वक ‘वाइडबडी’ नलेखिएको आशंका गरेका छन् ।

सभापति देउवाले वाइडबडी प्रकरणको छानबिन गर्न संसद्बाटै माग गरेका थिए । त्यसैअनुसार संसद्ले लेखा समितिमार्फत उपसमिति बनाई छानबिन गरेको थियो । तर, देउवाको नाम यस प्रकरणसँग जोडिएर आएपछि नेतृत्व मौन बस्न थालेको पार्टीभित्रै आरोप लाग्दै आएको छ ।

कांग्रेस केन्द्रीय सदस्य हृदयराम थानीले जहाज प्रकरण उल्लेख गर्दा कुन जहाज प्रकरण हो भन्ने कुरा प्रस्ट नभएको बताए । ‘लाउडा काण्ड, चेज काण्ड, विमान दुर्घटना हो कि वाइडबडी भन्ने खोजिएको हो ? प्रस्ट भएन,’ थानीले भने, ‘राजनीतिक प्रस्तावमा वाइडबडी भनेर किटानीसाथ किन लेख्न नसकिएको ?’

सहमहामन्त्री प्रकाशरण महतले ‘वाइडबडी’ मात्रै नभएर ‘न्यारोबडी’को अनियमितताको विषयसमेत आएकाले ‘हवाईजहाज काण्ड’ भनेर लेखिएको बताए ।

सभापतिको नाम जोडिएको भएर वाइडबडी लेख्न डराउनु भएको हो भन्ने प्रश्नमा महतले भने, ‘सबैभन्दा पहिला सभापतिले नै संसद्बाटै छानबिनको माग गर्नु भएको हो । महासमिति बैठकमा वाइडबडी काण्ड भनेर मैले नै राखेको प्रस्ताव पारित भएको छ । नियतवश नलेखिएको होइन । प्रस्ट पार्न परे यसमा परिमार्जन गर्न सकिन्छ ।’

छलफलमा कतिपय सदस्यहरूले दूरसञ्चार संस्थानको फोरजी, एनसेलको कर फर्स्योट र विद्युत् प्राधिकरणको बक्यौता असुलीसम्बन्धी प्रकरणलाई पनि प्रतिवेदनमा समावेश गर्न सुझाव दिएका थिए ।

कांग्रेस बैठकमा लिखित रूपमा राजनीतिक प्रस्ताव राखेर छलफल गराइएको यो पहिलोपल्ट हो । यसअघि राजनीतिक विषयमा छलफलका लागि नेतृत्वले समसामयिक विषय भन्दै मौखिक एजेन्डा प्रस्तुत गर्ने प्रचलन थियो । महतले केन्द्रीय कार्यसमितिले पारित गरेपछि पार्टीको राजनीतिक औपचारिक दृष्टिकोण बन्ने र यसैका आधारमा आफ्ना धारणाहरू प्रस्तुत गर्नुपर्ने बताए ।

कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले सरकारविरुद्ध ७७ जिल्ला र ७ प्रदेशका केन्द्रमा ठूला सभाहरू गर्न आवश्यक रहेको बताए । सरकारले काण्डैकाण्ड मच्चाउँदा कांग्रेस सडक र सदनमा प्रभावकारी बन्नुपर्ने कार्कीको टिप्पणी थियो । ‘सत्तारूढ दल र सरकारप्रति आम वितृष्णा जाग्दा कांग्रेसले आम जनतालाई भरोसा दिन सक्नुपर्छ,’ कार्कीको भनाइ थियो, ‘कांग्रेसले हजुरबादेखि नातिसम्मको पुस्तालाई प्रतिनिधित्व गर्छ । तीनै पुस्ताको भावनालाई सम्बोधन गर्ने गरी नीति र कार्यक्रम लिएर हामी देश दौडाहामा जानुपर्छ ।’

केन्द्रीय सदस्य शेखर कोइरालाले आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा असफल भएको सरकारविरुद्ध कांग्रेसले मौनता साधेर बस्न नहुने टिप्पणी गरे । वाइडबडीलगायत ठूला काण्ड र मुद्दाहरूमा कांग्रेसको औपचारिक धारणासमेत ल्याउन उनले माग गरे ।

कोइरालाले पूर्वराजा र विप्लव नेतृत्वको नेकपाबाट नभएर वर्तमान सरकारबाट संघीयता, गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतामाथि खतरा भएको दाबी पनि गरे । उनले पार्टीका भ्रातृसंस्थाको समयमै अधिवेशन गर्न नसक्दा लथालिंग बन्न पुगेको बताए । पार्टीको नेता जन्माउने ‘नर्सरी’ को रूपमा रहेको नेविसंघ ६ महिनादेखि विघटित अवस्थामै रहनु दुःखद रहेको कोइरालाको भनाइ थियो ।

तत्कालीन नैनसिंह महर नेतृत्वको नेविसंघ केन्द्रीय कार्यसमिति गत माघमा विघटन भएको थियो । त्यसपछि नेतृत्वका हकमा ३२ वर्ष उमेरहद लागू गर्ने कि नगर्ने भन्ने विवादमा नेताहरू अल्झँदै आएका छन् । ‘बीपी कोइराला ४५ वर्षमा र हाम्रा सभापति शेरबहादुरजी ४९ वर्षमा प्रधानमन्त्री बन्नुभयो, तर नेविसंघमा विधानले तोकेअनुसार ३२ वर्षभन्दा मुनिकालाई ल्याउन हामीलाई कसले रोक्यो ? केन्द्रीय सदस्य कोइरालाले थपे ।

केन्द्रीय सदस्य सरिता प्रसाईंले एउटै विदेशस्थित जनसम्पर्क समितिमा एउटै मापदण्ड नलगाई आफ्नोलाई च्याप्ने र इतरपक्षको नेतृत्व विघटन गर्ने जस्ता काम भएको भन्दै आपत्ति जनाइन् । कतिपय सदस्यहरूले भ्रातृ तथा शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका अधिवेशन हुन नसकेकामा नेतृत्वको आलोचना गरेका थिए ।

धर्मबारे बहस
कांग्रेस केन्द्रीय बैठकमा हिन्दुधर्मबारे बहस सुरु भएको छ । यसअघि फाट्टफुट्ट धर्मबारे कुरा उठ्ने भए पनि बैठकमा लामो बहस चल्थेन । राजनीतिक प्रस्तावमाथि जारी छलफलका क्रममा केन्द्रीय सदस्यहरूले पार्टीको सिद्धान्तसमेत धार्मिक स्वतन्त्रता रहेको भन्दै धर्मनिरपेक्षताबारे पार्टीको दृष्टिकोण बदल्नुपर्ने माग गरेका हुन् ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतकसमेत रहेका नेता बालकृष्ण खाँणले हिन्दु राष्ट्रको मुद्दाप्रति अब पार्टी गम्भीर बन्नुपर्ने बताए । ‘पार्टीको चार तारामध्ये एउटा ताराको अर्थ धार्मिक स्वतन्त्रता हो । सरकार आफैंले राज्यकोषबाट होली वाइन जस्ता कार्यक्रम गरेर आम नेपालीको धार्मिक आस्थामाथि प्रहार गर्‍यो,’ खाँणले भने, ‘महासमिति बैठकमा पनि झन्डै आधा सदस्यहरूले हिन्दु धर्मको पक्षमा हस्ताक्षर गरेर पार्टीलाई बुझाएका छन् । महासमिति बैठकले उठाएका विषयमा समेत पार्टी गम्भीर बन्नुपर्छ ।’

कांग्रेस नेता कोइरालाले आगामी पार्टी महाधिवेशनमा हिन्दु राज्य स्थापना गर्नेबारे पार्टीभित्रै ठूलै दबाब खडा हुने संकेत गरेका छन् । केन्द्रीय सदस्य फरमुल्ला मन्सुरले बिहीबारको बैठकमा महामन्त्री शशांक कोइराला र केन्द्रीय नेता शेखर कोइरालाप्रति लक्षित गर्दै हिन्दु राज्य स्थापनामा लागेको भनी आपत्ति प्रकट गरेका थिए ।

‘राष्ट्रिय जनावर गाई काट्न पाइँदैन भन्नु गलत हो ? होली वाइनको विरोध गर्ने तर संविधानमा लेखिएको ‘प्रलोभनमा धर्म परिवर्तन गर्न पाइँदैन भन्नु गलत हो ?’ शुक्रबारको बैठकमा शेखरले भने, ‘पार्टीको १४औं महाधिवेशनमा हिन्दु राष्ट्रको विषय चर्को रूपले उठ्छ । यसलाई कसरी व्यवस्थापन गर्ने हो, त्यसतर्फ हाम्रो ध्यान जान जरुरी छ ।’ मन्सुरले दुई कोइरालाप्रति लक्षित गर्दै ‘व्यवसाय गर्ने अनि बाबुआमाको विरासतमा राजनीति गर्ने ? भन्दै आक्रोश पोखेका थिए ।

‘निरंकुश पञ्चायतका विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा पटकपटक प्रहरीको लाठी खाँदै जेल गएका छौं, निरंकुशताविरुद्धको हरेक आन्दोलनमा हामी अग्रपंक्तिमा उभिएका छौं, आन्दोलनको मैदान र जेलमा हुँदै गर्दा कति जना कहाँ हुनुहुन्थ्यो ? कोइरालाले मन्सुरको आक्रोशको जबाफ दिँदै भने, ‘हामी सबै आफ्नो कर्मले यहाँसम्म आएका हौं, कसैको दाया र मायाले आएका होइनौं ।’

केन्द्रीय सदस्य एनपी सावदले भने हिन्दु धर्मको पक्षमा धारणा राखेका थिए । केन्द्रीय सदस्य कार्कीले हिन्दु धर्मको एजेन्डा पार्टीभित्र प्रवेश गराएर मुलुकलाई थप अन्योलमा धकेल्न नहुने बताए । ‘नयाँनयाँ एजेन्डा प्रवेश गराएर मुलुकलाई थप अन्योलमा पुर्‍याउन हुन्न, संविधानमा जे व्यवस्था छ, त्यसैलाई मानेर जानुपर्छ,’ उनको भनाइ थियो । बैठकमा केन्द्रीय सदस्य गुरु घिमिरे, मीन विश्वकर्मा, उमाकान्त चौधरी, गोविन्द भट्टराई, अमृत अर्याललगायतले सरकारका विरुद्ध सडक र सदनमा प्रभावकारी प्रतिपक्ष बन्नुपर्ने बताएका थिए ।