मनोनयन सुरु भयो, तर कांग्रेसका उम्मेदवारको थातथलो छैन - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

मनोनयन सुरु भयो, तर कांग्रेसका उम्मेदवारको थातथलो छैन



सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले महानगर र उपमहानगरबाट चुनावी प्रतिष्पर्धामा उत्रिने उम्मेदवारको अझै टुंगो लगाउन सकेको छैन।

पार्टीभित्रको गुट-उपगुटका कारण निर्वाचन आयोगले मनोनयन दर्ताका लागि निर्धारण गरेको समय आउन केही बेर बाँकी हुँदा पनि कांग्रेसले महानगर र उपमहानगरमा उम्मेदवारी टुंग्याउन नसकेको हो।

सत्ता गठबन्धनका दलहरूसँग चुनावी तालमेल गरेर चुनावी प्रतिष्पर्धामा गइरहेको कांग्रेसले ६ महानगरमध्ये ३ र ११ उपमहानगरमध्ये ७ मा प्रमुख (मेयर) मा उम्मेदवारी दिने छ।

तर, मोरङको विराटनगर महानगरपालिकाको उम्मेदवारका विषयमा आन्तरिक सहमति जुट्न नसक्दा कांग्रेसले उम्मेदवार तय गर्न सकेको छैन।

विराटनगरमा इतर समूहको नेतृत्व गरिरहेका कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नागेश कोइराला, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले वर्तमान महानगर प्रमुख भीम पराजुली र प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय सदस्य डा. डिला संग्रौला तथा पूर्वकेन्द्रीय सदस्य अमृत अर्यालमध्ये एकलाई प्रमुखको उम्मेदवार बनाउन चाहेका छन्।

यस्तै ललितपुर महानगरको प्रमुखमा पनि नेताहरुबीच सहमति जुट्न सकेको छैन। वर्तमान प्रमुख चिरिबाबु महर्जन र अर्का आकांक्षी प्रेमकृष्ण महर्जनले एकअर्कालाई स्वीकार नगरेपछि नेतृत्व तहमा चन्द्र महर्जनको नाममा छलफलले प्रवेश पाएको छ।

काठमाडौँमा भने कांग्रेस नेतृ सिर्जना सिंहले महानगर प्रमुखको टिकट पाउने झण्डै निश्चित जस्तै छ। उम्मेदवारी टुंग्याउन तीन दिनदेखि लगातार बस्दै आएको शीर्ष तहका नेताहरुको बैठकमा काठमाडौँका बारेमा बहस नभएको नेताहरुको भनाइ छ।

कांग्रेसले कैलालीको धनगढी उपमहानगरपालिका बाहेकमा उम्मेदवार टुंग्याउन सकेको छैन। कांग्रेसले धनगढीमा वर्तमान मेयर नृप वडलाई दोहोर्‍याउने निर्णय गरेको छ।

महानगर, उपमहानगरमा उम्मेदवार टुंगो लाग्न नसकेका कारण कांग्रेसले सोमबार मात्रै उम्मेदवारी दर्ता गर्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले आइतबार केही ठाउँमा मनोनयन दर्ता गरिए पनि अधिकांश ठाउँमा सोमबार मात्रै मनोनयन दर्ता गरिने बताएका छन्।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार गरी दुई दिन मनोनयन दर्ताको समय छुट्ट्याएका कारण उम्मेदवारी नटुंगयाएका दललाई मनोनयनमा केही सहजता देखिएको छ।