कांग्रेसले भन्यो: एमाले झुटको खेती गर्ने पार्टी हो - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

कांग्रेसले भन्यो: एमाले झुटको खेती गर्ने पार्टी हो



काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेसको नीति र कार्यक्रमको ब्याज एमालेले खाएको टिप्पणी गरेका छन्।

कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा महतले यस्तो बताएका हुन्। ‘नेपाली कांग्रेसले नीति र कार्यक्रम देशमा कार्यान्वयन ग-यो। त्यसको ब्याज सावाँसहित खाने पार्टी एमाले पार्टी हो,’ महतले भने।

साथै, उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले झुटो आरोप कांग्रेसमाथि लगाएको बताए। ‘झुटो आरोपको पुलिन्दा ओलीजीले लगाउनुभएको छ। झुटमाथि झुट,’ उनले भने, ‘नेपाली कांग्रेसले जुन आर्थिक उदारीकरणको नीति लियो जताततै नीजि उद्योग व्यवसाय फस्टाउन थाले।’

एमालेको अगाडि कांग्रेसको विरोध गर्ने कुनै आधार नभएको उनले बताए। ‘ब्याज साउँसहित खाने पार्टी स्थापना भएको उहाँले बिर्सनुभयो। उहाँहरुको अगाडि नेपाली कांग्रेस पार्टीको विरोध गर्ने कुनै आधार छैन’ महतले भने।

यसअघि आइतबार एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले कांग्रेसमाथि आरोप नै आरोप लगाएका थिए। जसको खण्डन गर्दै महतले झुटको पुलिन्दा भएको बताएका हुन्।

महतले एमालेले नभएको कुरालाई पनि प्रचार गर्ने गरेको आरोप लगाए। पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतले एमाले प्रचार गर्न सिपालु भएको टिप्पणी गरे।

‘हामीलाई थाहा छ उहाँहरु प्रचार गर्न सिपालु हुनुहुन्छ। नभएका कुरालाई पनि भएजस्तो भएका कुरालाई नभएको जस्तो,’ उनले भने, ‘हामी त्यो जान्दैनौं। हामी यथार्थको धरातलमा राजनीति गर्छौं। झुटको खेती हामी गर्दैनौं। त्यही फरक एमाले पार्टीका ओलीजी र हामीमा छ।’

०७२ सालको भूकम्पमा कांग्रेसले नै महत्वपूर्ण भूमिका खेलेको उनले दाबी गरे। साथै, कोभिड–१९ को व्यवस्थापनमा पनि कांग्रेस नै अघि भएको महतले दाबी गरे।