काँग्रेस पछाडी पर्नुका कारणहरू - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

काँग्रेस पछाडी पर्नुका कारणहरू



-कर्ण बहादुर अधिकारी 

नेपालको राजनीति काल खण्डमा वर्चस्व कायम गर्दै आएको नेपाली काँग्रेस समय अनकुलता र नेपाली जनताको मनोभावना अनरूप चल्न नसक्नु दुर्भाग्य पूर्ण कुरा हो।राष्ट्रियता,लोकतन्त्र र समाजवादको नारालाई आफ्नो पार्टीको नीति र सिद्धान्त बनाएको नेपाली काँग्रेसले वर्तमान अवस्थामा पार्टीलाई पार्टीको नीति र सिद्धान्त अनरूप परिचालन गरेर अगाडी बढाउन नसक्नुले पनि नेपाली काँग्रेस पछाडि धकेलिएको हो।२०७४ सालको प्रतिनिधि सभा चुनावमा चुनाव हार्नुको मुख्य कारक तत्त्व बाम गठबन्धन भए पनि त्यसका पछाडि काँग्रेसका बागडोर सम्हाल्नेहरूको थुप्रै कमी कम्जोरीहरू पनि छन्।

नेपाली काँग्रेसको भातृ संस्था हाक्नेहरू चुनावी मैदानमा खटिएर अगाडी बढ्नुको साटो पद जोगाउन र पाउनकै लागि विभिन्न गुट उपगुटका नाममा बुढानिल कण्ठ,बोहराटार र चाक्सीबारीको ढोकामा पुगी नेताको सामु शरणमा पर्नु,भातृ संस्थालाई सही मार्गमा परिचालन गर्न नसक्नु,टिके प्रथाबाट कमिटी गठन हुनु,राम्रा र नेतृत्व लिन सक्छु भन्नेलाई बाइपास गराउनु र बाइपास गराइएका काँग्रेसीहरू पार्टी प्रति लागि नपर्नु।काँग्रेस भित्र राम्रालाई भन्दा हाम्रालाई स्थान दिनु,भाइ,भतिज श्रीमतीहरूको पार्टी भित्र राज चली रहनु पनि हो।

पार्टीको नेतृत्वमा बसेको सभापति देउवाको कारण मात्र काँग्रेस पछाडि परेको कुरा गर्नु त्यति उपयुक्त नहोला तर जिम्मेवारी चाहिँ देउवाले लिनै पर्छ।सञ्चार माध्यममा बोल्दा सधैँ उत्तेजित हुने देउवा र उनको बोल्ने शैलीले पनि हल्का असर पुराएकै हो।मिडिया सामु चाडै रिसाउने देउवा र पालुङ्गोको साग झैँ नरम र मृदुभाषी शब्दमा बोल्ने कम्युनिस्टका नेतृत्व लिनेहरूको बिच फरकले पनि असर पुराएकै हो।

त्यसै गरी सञ्चार जगतमा एक छत्र राज गर्न सफल भएका नेपाली कम्युनिस्टका सामु काँग्रेसले आफूले गरेका राम्रा कार्यहरू प्रचार प्रसार गर्न नसक्नु,चुनावी मैदानमा पार्टीको खासै नवीन एजेन्डा नहुनु,नेपाली जनतालाई प्रभाव पार्ने किसिमका कुराहरू जनता सामु पस्किन नसक्नुले पनि प्रभाव पारेको हो।नेपाली जनता काम भन्दा पनि आश्वासनमा रमाउने हुनाले काँग्रेसले आफ्ना हितका लागि भए पनि हावादारी एजेन्डा प्रस्तुत गर्न सक्नु पर्थ्यो।देश कम्युनिस्ट मयी भएको छ।

सरकार तथा गैर सरकारी क्षेत्रमा नोकरी गर्नेमा कम्युनिस्टकै कार्य कर्ताको हाबी छ।२०४८ सालको काँग्रेसका भोटर र अहिलेका काँग्रेसका भोटरका बारेमा जानकार हुन जरुरी छ।धेरै पटक सरकारको रस चाखि सकेका काँग्रेसका नेताहरू पार्टीलाई भन्दा पनि पदलाई माया गरेकै कारण काँग्रेस खुम्चिदै गएको अवस्था छ।काँग्रेस बिचार धारा बोकेका शिक्षकले पढाएका विद्यार्थीहरू कम्युनिस्ट तिर ढल्कदै गएको अवस्था छ।काँग्रेसका इतिहासका कुरा नयाँ पुस्तालाई जानकारी दिलाउन नसक्नु पनि काँग्रेसको कमी कम्जोरी नै हो।

काँग्रेस भित्र धेरै आत्मघाती किलरहरू जन्मिए।३६४ दिन काँग्रेस भन्दै कुर्लने तर चुनावमा केही तल माथि भयो भने सर्लक्क आफ्ना मातहातका मान्छेलाई अन्यत्र मतदान गर्न लगाउने वातावरण सृजित गरी रहेका छन्।काँग्रेस भित्रको गुटबन्दी अन्त्य भएर जानुको साटो मौलाएको अवस्था छ।केही दिन अगाडी त्रिचन्द्र कलेजमा नेबि सङ्घ आफू आफूमा काटमारमा उत्रिएको घटना अझै ताजा छ तसर्थ हे काँग्रेसी हो यदि काँग्रेसलाई साच्चिक्कै माया गर्छौ भने गुट बन्दीको अन्त्य गर किनकि काँग्रेस आफैमा मिल्न सकेन भने कम्युनिस्टको हाबी देशमा अझै १०/१५ वर्ष रहने छ।अब नयाँ भिजन लिएर जनता माझ जाने सङ्कल्प गर।भारतीय काँग्रेस आई को अवस्थामा काँग्रेसलाई पुराउने कोसिस कसैले नगर्नु पद भन्दा पार्टी नै माहान हो भन्ने कुरा नभुल्नु।

बिपी कोइरालाको नीति र सिद्धान्तलाई २१ औ शताब्दीको माहौल अनरूप परीबर्तित गरी अगाडी बढाउनु पर्छ।काँग्रेसीहरूलाई केन्द्र देखि गाउँ तह सम्म प्रशिक्षणको व्यवस्था गर्न जरुरी छ।भातृ संस्थाहरूलाई चुस्त र दुरुस्त राख्नु पर्दछ।जनता नै जनार्दन हुन भन्ने कुरालाई काँग्रेसले भुल्नु हुँदैन।जब सम्म काँग्रेसले सुकिला मुकिलाको मात्र कुरा सुन्न छाडी गाउँ तहका कार्यकर्ताको भावना बुझ्छ तब मात्र काँग्रेसले आफ्नो भावी कदमहरू स्व स्फुर्त रूपमा अगाडी बढाउन सक्दछ।