कांग्रेस बैठकको निष्कर्ष: नेतृत्व परिवर्तन आवश्यक छैन - Himal Post Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

कांग्रेस बैठकको निष्कर्ष: नेतृत्व परिवर्तन आवश्यक छैन



काठमाडौं– नेपाली कांग्रेसको संस्थापन (शेरबहादुर देउवा) पक्षको बैठकले पार्टीमा अझै एक कार्यकाल सभापति शेरबहादुर देउवाको नेतृत्व अपरिहार्य भएको ठहर गरेको छ।

देउवा निवास बूढानीलकण्ठमा बुधबार बिहान बसेको उक्त पक्षको बैठकले देउवालाई अध्यक्षमा अगाडि सारेर महाधिवेशनमा होमिने निर्णय पनि गरेको छ।

बैठकले पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवार भने टुंग्याउन सकेन। आकांक्षीहरुको व्यवस्थापनका लागि शीर्ष तहमा फेरि छलफल हुने भएको छ।

देउवा पक्षबाट प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, विश्वप्रकाश शर्मा र नेता एनपी साउदले महामन्त्री लड्ने आकांक्षा व्यक्त गरेका छन्। त्यसैगरी केही केन्द्रीय सदस्यहरूले सहमहामन्त्रीमा दाबी प्रस्तुत गरेका छन्।

बूढानीलकण्ठ बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सहमहामन्त्री महतले महाधिवेशनमा संस्थापन पक्षलाई एकताबद्ध र अझ बलियो बनाउने विषयमा छलफल भएको बताए। बैठकले नेतृत्व परिवर्तन आवश्यक नरहेको र मुलुकले नै देउवाको नेतृत्व आवश्यक रहेको ठहरसमेत गरेको उनले सुनाए।

‘राष्ट्रिय राजनीतिमै सभापति शेरबहादुर देउवाजीको नेतृत्व स्थापित भएको बेला उहाँकै नेतृत्वमा कांग्रेस अगाडि बढ्नुको विकल्प छैन भन्ने निष्कर्ष रह्यो। पार्टीभित्र उहाँले बहुमतको प्रयोग नगरी सहमतिका लागि प्रयास गर्दै आउनुभएको हो। फेरि पनि उहाँकै नेतृत्वमा हामी गोलबन्द हुने भयौं,’ महतले भने। उनले पदाधिकारीका उम्मेदवारबारे पर्याप्त छलफल गरेर सहमतिमै टुंगो लगाइने जानकारी समेत दिए।