१० वर्षीया बालिकालाई बलात्कार गर्न खोज्ने कांग्रेस नेता पक्राउ - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

१० वर्षीया बालिकालाई बलात्कार गर्न खोज्ने कांग्रेस नेता पक्राउ



मोरङ- बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले मोरङको बुढीगंगाका एक जना कांग्रेसका नेतालाई पक्राउ गरेको छ।

आइतबार बुढीगंगा गाउँपालिका–१ का ५१ वर्षीय कांग्रेसका नेता शिव कोइरालालाई बालिका बलात्कारको प्रयास गरेको आरोप पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मञ्जिल मुकारुङले जानकारी दिए। कोइरालाले पुस ३० गते घर नजिकको पसल पछाडि लगेर १० वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी मुकारुङले बताए।

प्रहरीका अनुसार बोलाएर बलात्कारको प्रयास गरेको र आफू फुत्किएर बचेको बालिकाले अभिभावकलाई सुनाएपछि घटना बाहिरिएको हो। यसअघि पनि कोइरालाले आफूमाथि बारम्बार यौन दुर्व्यवहार गर्ने गरेको बालिकाले अभिभावकलाई जानकारी गराएकी छन्। तर, घटनाका बारेमा प्रहरीले दुई दिनपछि मात्रै जानकारी पायो।

घटना बाहिरिएपछि कोइरालालाई स्थानीयले नियन्त्रणमा लिएर आक्रमणसमेत गरे। नियन्त्रणमा लिएर कोइरालामाथि कुटपिट एवं आक्रमण हुँदा टाउको र अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ। आक्रमणबाट घाइते भएका कोइरालाको विराटनगरस्थित कोसी अस्पतालमा भर्ना गरेर उपचार भइरहेको प्रहरीले जनाएको छ।

टंकीसिनवारी जेसिसका पूर्व अध्यक्षसमेत रहेका कोइराला बुढीगंगाको टंकीसिनवारी क्षेत्रलाई आधार बनाएर राजनीति गर्दै आएका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेश १ को महाधिवेशन प्रतिनिधि हुन्। कोइरालाविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दाका लागि थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।