कांग्रेसले तत्काल दलको नेता नचुन्ने - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

कांग्रेसले तत्काल दलको नेता नचुन्ने



काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदलाई प्रमाण पत्र दिएपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ ।

आयोगले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदलाई ३ पुसमा प्रमाणपत्र दिने जनाएको छ । त्यसैले कांग्रेसले पनि त्यसपछि मात्र संसदीय दलको नेता चयनबारे छलफल अघि बढाउने कांग्रेसले जनाएको छ ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिट जितेको छ ।

कांग्रेसमा २०७४ सालको चुनावपछि संसदीय दलको नेता चयनमा चुनाव हुँदै आएको छ । त्यस्तै, यसपालि पनि चुनावबाटै संसदीय दलको नेता चुन्ने तयारी गरिएको कांग्रेसले जनाएको छ ।

कांग्रेसभित्र संसदीय दलको नेता बन्न चाहने ४ जनाभन्दा बढी रहेछन् । सभापति शेरबहादुर देउवा पुनः संसदीय दलको नेताका लागि उम्मेदवार हुने तयारीमा छन् । उनी फेरि प्रधानमन्त्री बन्ने तयारी गर्दैछन् ।

त्यस्तै, बरिष्ठ नेता रामचन्द्र पौडेल पनि संसदीय दल नेता बन्न चाहन्छन् । उनले आफूलाई दलको नेता बनाउन सहयोग गर्न देउवासँग छलफल समेत गरिरहेका छन् ।

यस्तै, कांग्रेस महामन्त्री गगन थापा पनि संसदीय दलको नेताका लागि उम्मेदवार हुने तयारीमा छन् । थापाले निर्वाचन अगाडिदेखि नै आफू संसदीय दलको नेता बन्ने चाहना गर्दै आएका हुन् ।

यस्तै, मोरङबाट चुनाव जितेका शेखर कोइराला पनि संसदीय दलको नेता बन्ने दाउमा रहेका छन् । तर, कोइरालाले यसबारे अहिलेसम्म आफ्नो धारणा सार्वजनिक गरिसकेका छैनन् । कांग्रेस विधानअनुसार संसदीय दलको नेता बन्न ५१ प्रतिशत मत ल्याउनुपर्छ । ५१ प्रतिशत मत नल्याए पुनः चुनाव गर्ने व्यवस्था छ ।