कांग्रेसको घोषणापत्र: भ्यूटावर बनाउन र आफन्त नियुक्त गर्न बन्देज लगाउने
काठमाडौं- स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक भएको छ। आइतबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच घोषणापत्र सार्वजनिक भएको हो।
सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्ण बहादुर खड्का र धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, रामचन्द्र पौडेललगायत नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्।
कांग्रेस महामन्त्री गगन थापाको नेतृत्वको समूहले कांग्रेसको घोषणापत्र लेखेको हो। कांग्रेसले जनताको करबाट उठेको राजश्वलाई भ्यूटावर बनाउन खर्च नगर्ने प्रतिवद्धता जनाएको छ ।
आसन्न स्थानीय तह निर्वाचनका लागि आइतबार सार्वजनिक गरेको घोाणापत्रमा जनताको करबाट उठेको राजश्वलाई भ्यूटावर, स्वागतद्धार जस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने संकल्प गरिएको छ ।
सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत साधनको दोहन नगर्ने कांग्रेसको संकल्प छ । कानुनको सीमाभन्दा बाहिर गएर तथा आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय वा काम नगर्ने पनि कांग्रेसले बताएको छ ।
नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोग नियुक्त नगर्ने समेत कांग्रेसको प्रतिवद्धता छ ।