कांग्रेसमा १५ लाख भोट थप्नेगरी नयाँ प्रस्ताव - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

कांग्रेसमा १५ लाख भोट थप्नेगरी नयाँ प्रस्ताव



कांग्रेस केन्द्रीय समितिको चुनावी समीक्षा बैठकमा युवा नेताहरूले ‘अर्ली महाधिवेशन’ को माग गर्दै नेतृत्वको आलोचना गरेका छन् । ९ चैतबाट जारी बैठक अन्तिमतिर आइपुग्दा ६ जना युवा नेताले ‘निर्वाचन समीक्षा र आगामी कार्यदिशा’ नाममा संयुक्त लिखित प्रस्ताव पेस गर्दै नेतृत्व परिवर्तनमा जोड दिए ।

युवा समूहकोे नेतृत्व गरिरहेका केन्द्रीय सदस्य गगन थापाले ५१ पृष्ठको लिखित धारणा पेस गरेका हुन् । सो समूहमा चन्द्र भण्डारी, धनराज गुरुङ, प्रदीप पौडेल, गुरुराज घिमिरे र बद्री पाण्डे छन् ।

लिखित धारणामार्फत उनीहरूले महाधिवेशनमार्फत अहिलेकै नेतृत्वको निरन्तरता खोज्नु भनेको जनादेश र मतादेशलाई नबुझिएको हुने भन्दै नेतृत्वको विकल्प खोज्नुपर्नेमा जोड दिएका हुन् ।

अवसरको प्रयोग गर्न नसक्दा कांग्रेस पराजय भएको भन्दै सो अवधारणामा व्याख्या गरिएको छ । उनीहरूले कांग्रेसको मत घट्नुका काराणसमेत बुँदागत रूपमा प्रस्तुत गरेका छन् ।

‘२०४८ सालयता जसरी विचार र संगठनमा ढोका बन्द भए, त्यसरी नेतृत्वमा रहेका पुराना मान्छेको स्वाभाविक बहिर्गमन र नयाँ मान्छेको आगमन नहुनाले एजेन्डा, विचार र क्षमताको दृष्टिले पार्टी जमेको पोखरीजस्तो भएको छ,’ लिखित धारणामा उल्लेख छ ।

‘पार्टीको चुस्त संगठन चलाउन प्रस्ट सैद्धान्तिक खाका त को‍¥यौं तर त्यसलाई चलाउने नेतृत्व शिथिल र यथास्थितिवादी छ भने संगठनमा गतिशीलता कसरी आउँछ ? त्यसैले, अहिलेकै नेतृत्वको निरन्तरता खोज्नु जनादेश र मतादेशलाई नबुझ्नु नै हो,’ युवा समूहले पेस गरेको धारणासहितको लिखित प्रस्तावमा भनिएको छ ।

संविधान जारी भएपछिको असन्तुष्टिको सम्बोधन गर्न नसक्नु, भारतीय नाकाबन्दीमा मौन रहनु, संविधान निर्माणपछि सरकार गठनमा देखिएको कमजोरी, सरकारमा रहँदा गरेका क्रियाकलापलगायतका कारण कांग्रेसले निर्वाचनमा पराजय भोगेको बताइएको छ । प्रस्तावमा तत्काल महासमितिको बैठक बोलाउनुपर्ने र त्यसलगत्तै १४औं महाधिवेशनको कार्यतालिका बनाएर अघि बढ्नुपर्नेमा जोड दिइएको छ ।

यसैगरी, कांग्रेसको नेतृत्वमा विगतमा भएका उपलब्धिको व्याख्या सही तरिकाबाट गर्न नसकिएको, संसारमा कम्युनिस्टहरू समाप्तिको अवस्थामा पुग्नै लाग्दा कांग्रेसकै नीति र दर्शनको पछाडि हात समाएर संसदीय अभ्यासमा आएका दलहरू कांग्रेसको नेतृत्वको व्यवहारका कारण अघि बढेको र एक जना नेताको व्यवहार र कार्यशैलीका कारण पार्टी नै सिकार बन्नुपरेको भन्दै सभापति शेरबहादुर देउवाको आलोचना गरिएको छ ।

कांग्रेसले नयाँ मतदातालाई आकर्षित गर्ने किसिमका कार्यक्रम ल्याउन नसकेको, नेतृत्वले युवाहरूको चाहनालाई पार्टी सञ्चालनका क्रममा अटेर गरेको, जनताको भावनाभन्दा फरक तरिकाबाट निर्णय गर्दै अघि बढेका कारण राजनीतिमा विजय भएर पनि निर्वाचनमा पराजय भोग्नुपरेको निष्कर्ष लिखित धारणामार्फत यूवा समूहले दिएका छन् ।

उनीहरूले कम्युनिस्टको गठबन्धन के होला भनेर ध्यान दिनुभन्दा पनि अहिलेका मतदाता जोगाएर कम्तीमा १५ लाख भोट पार्टीका पक्षमा थप्नेगरी अहिलेदेखि नै तयारीसहित अघि बढ्न नेतृत्वलाई सुझाएका छन् ।

विगतका दिनमा जनताको अपेक्षालाई पूरा गर्नेभन्दा पनि निराश बनाएका कारण निर्वाचन हारिएको युवा नेताहरूले बुझाएको लिखित प्रस्तावमा उल्लेख छ ।

‘कांग्रेसले जनअपेक्षाअनुरूप काम गर्न सकेन, सुशासन दिन सकेन, परिणाम देखाउन सकेन, जनताप्रति उत्तरदायी र जवाफदेही भएन, कोसिस त गरेकै हो भन्ने विश्वासिलो आधार पनि जनतालाई दिन सकेन,’ लिखित धारणामा भनिएको छ ।जनताबाट पाएको मतादेशलाई आमनागरिकको हितमा प्रयोग गर्नेभन्दा पनि फगत पार्टीका केही महानुभावको सत्तारोहणको लालसालाई पूरा गर्नमा कांग्रेसको परिचय बनेका कारण मतदाता कांग्रेसप्रति आकर्षित हुन नसकेको उनीहरूले लिखित धारणामा भनेका छन् ।
कांग्रेसको कमजोरीका कारण उसको मैदानमा कम्युनिस्टको खेल सहज भएको धारणामा उल्लेख छ । ‘खेल मैदान हाम्रो, नियम हाम्रो, खेल हाम्रो, के उनीहरूले अत्यधिक राम्रो खेलका हुन् त ? होइन, त्यसो भए कसरी त ? हामीले २०४८ सालदेखि खेल मैदानको ठूलो हिंसा खाली छोडेर सानो हिस्सामा मात्रै सीमित भयौं,’ प्रतिवेदनमा भनिएको छ ।
‘६ भाइ’ समूहले पार्टीले अवलम्बन गर्दै आएको समझदारी र भागबन्डाको अवधारणा छाड्नुपर्ने, पार्टी महाधिवेशनपछि विधानविपरीत बनेका संरचना तत्काल खारेज गर्नुपर्ने, महासमिति तत्काल बोलाइनुपर्ने, संघीय प्रणालीका नयाँ संरचना बनेकाले महासमितिबाट संशोधित विधान पारित गरी शीघ्र महाधिवेशनमा जानुपर्ने, जारी समीक्षा बैठकमा उठेका अन्य गम्भीर विषयलाई समेत महासमितिबाट सम्बोधन गर्न‘पर्ने प्रस्ताव गरेका छन् । पार्टीको नेतृत्व भने महाधिवेशनले नै एजेन्डाका आधारमा टुंग्याउने विषय भएको प्रतिवेदनमा उल्लेख छ । बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता गगन थापाले निर्वाचनमा पार्टी हारको कारण सभापति मात्रै नभए पनि सभापतिको नाताले हारको जिम्मेवारी लिनुपर्ने बताए । ‘पराजयको कारण पार्टी सभापति मात्रै होइन, कारण थुप्रै छन्, पराजयका कारण खोतल्ने प्रयास गर्न‘पर्छ तर सभापतिको नाताले उहाँले पराजय स्विकार्नुपर्छ,’ थापाले भने । पराजयको जिम्मेवारीबाट नेतृत्व पन्छिन नपाउने भन्दै थापाले संविधान जारी गर्दा नेतृत्वले जस पाएजस्तै वा तीनै तहको निर्वाचनमा सभापतिले जस पाएजस्तै पराजय हुँदा पनि सभापतिले स्विकार्न सक्नुपर्ने थापाको भनाइ छ ।
उनले कांग्रेसलाई पहिलो पार्टी बनाउन नसकेकाले निर्वाचन पराजयको जिम्मा लिन्छु भनेर पार्टी सभापति देउवाले स्वीकार गर्न सक्ने आधार रहेको पनि दाबी गरे ।