कांग्रेसमा विवाद - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

कांग्रेसमा विवाद



काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यतिबेला सरकारप्रति आक्रमक रुपमा प्रस्तुत भइरहेको छ । तर पार्टीभित्र भने नेताहरु आ–आफ्नै धुनमा छन । महासमिती बैठकबाट पार्टी एकढिक्का भएर आएको सन्देश दिएको कांग्रेस फेरी आन्तरिक झमेलामा परेको छ ।

नेपाली कांग्रेसको महासमिती बैठकबाट एकताको सन्देश दिएको कांग्रेस अहिले फेरी केन्द्रीय सदस्यहरू स्वतः महाधिवेशन र क्षेत्रीय प्रतिनिधि हुने की निर्वाचित भएर आउने भन्नेमा नेताहरुविच तिव्रमतभेद सुरुभएको छ । आगामी पुष १० बाट सुरु हुने पार्टीको केन्द्रिय कार्यसमिती बैठकमा कांग्रेस केन्द्रीय कार्यसमितिका अधिकांश सदस्यले वडा स्तरबाटै केन्द्रिय सदस्य निर्वाचित हुने व्यवस्था पार्टी विधानमा राख्न हुने र नहुने पक्षमा अहिलेदेखि नै विभाजित भएका हुन ।

पार्टीको गाउँ, नगर र क्षेत्र तहमा चुनाव हारिने डरले केही केन्द्रिय नेताहरु पार्टी सभापति शेरबहादुर देउवालाई फकाउन लागी परेका छन् । त्यसो त महासमिती बैठकमा जिल्ला सभापतिहरुले केन्द्रिय नेताहरु वडा स्तरबाटै निर्वाचित भएर आउनु पर्ने भन्दै हस्ताक्षर संकलन गर्दै पार्टी सभापति देउवालाई प्रतिवेदन नै बुझाएका थिए ।

तर अहिले केही केन्द्रिय नेताहरु निर्वाचनमा हारिने डरका कारण पार्टीको विधानमा उक्त प्रस्ताव यथावत राख्नुपर्नेमा पक्षमा पार्टीसभापति देउवालाई दवाव दिन थालेका छन । तल्लो तहमा चुनाव लड्न जाँदा पार्टी्भित्र व्यापक ध्रुवीकरण बढ्न जान्छ भन्ने र चुनाव लड्दा नेता र कार्यकर्ताबीचको सम्बन्ध नवीकरण हुन्छ भन्ने बीचको द्वन्द्व अहिले पार्टी्भित्र पेचिलो बनेको छ ।

पुस ८ को महासमिति बैठक समापन कार्यक्रममा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वत महाधिवेशन र क्षेत्रीय प्रतिनिधि बन्ने प्रावधान हटाउने प्रतिबद्धता जनाएका थिए । दुई शीर्ष नेताले केन्द्रीय कार्यसमिति बैठकबाट केन्द्रीय सदस्यहरू स्वत महाधिवेशन र क्षेत्रीय प्रतिनिधि हुने प्रावधान संशोधन गरिने वचन दिएपछि मात्रै पार्टी विधान महासमिति बैठकबाट सर्वसम्मत पारित भएको थियो ।

त्यो संगै महासमिती बैठकबाट निकै उत्साहित भएको महासमिती सदस्यहरु अवको केन्द्रिय कार्यसमितीको बैठकले कतै यो विषय ब्युझाउने त होइन भन्दै चिन्ता व्यक्त गर्न थालेका छन । पार्टी नेतृत्वले निकै सकसपुर्ण तरिकाले टुङ्ग्याएको यो विषय पुन बल्झिने देखिएको छ ।

उता पार्टीका तल्ला तहका नेता तथा कार्यकर्ताहरूले केन्द्रीय पदाधिकारी, सदस्य, सांसदलगायत सबै नेताहरू वडा तहबाटै चुनावी प्रतिस्पर्धा गरेर महाधिवेशनमा जानुपर्ने माग उठाउँदै आएका छन् । विधानअनुसार पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरू स्वत महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ। पार्टीका पूर्वपदाधिकारी तथा सदस्यहरू, जिल्ला सभापति, क्षेत्रीय सभापति, संघीय संसद्का सदस्य तथा उम्मेदवार, प्रदेशसभाका सांसद र सांसदका उम्मेदवारसम्मले एक अवधिका लागि क्षेत्रीय प्रतिनिधि स्वत हुन पाउने व्यवस्था छ ।