ओलीले भने: कांग्रेसले गर्दा तराई डुबानमा पर्यो
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले झुटको खेती गरिरहेको आरोप लगाएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४०औं स्मृति दिवशका अवसरमा नेकपाले राष्ट्रियसभागृहमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष समेत रहेका ओलीले एजेण्डा विहीन बनेपछि कांग्रेसले सरकारलाई अधिनायकवादीको आरोप लगाइरहेको बताए ।
‘कांग्रेसको परिभाषामा अरु सरकारमा भए त्यो अधिनायकवाद हो’, प्रधानमन्त्री ओलीले भने ।
साथै उनले विसं २०४८ मा कांग्रेसले बहुमत ल्याएपछि उसको ३ वर्षे शासनमा कम्युनिष्ट पार्टीका ३० हजार कार्यकर्तालाई मुद्दा चलाएको स्मरण गर्दै कांग्रेसले अहिले आफूहरूलाई लोकतन्त्रको पाठ पढाउन नमिल्ने बताए ।
‘त्यतिबेला कांग्रेसले ३० हजार एमाले कार्यकर्तामाथि मुद्दा चलायो । गिरफ्तार नहुने कुनै नेता नै थिएनन् । घरबाट बाहिर निस्किनै नमिल्ने । ३ वर्षको अवधिमा म स्वयं २५–३० पटक गिरफ्तार भएँ,’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले आफू सानो छँदा सुनेको गफको प्रसंग जोडेर कांग्रेसमाथि कटाक्ष समेत गरे ।
‘म सानो हुँदा हाम्रा हजुरआमा र उहाँका साथीहरू बसेर कुरा गरेको सुन्थें । के भाका तिमीहरू ? तिमीहरूको बेलामा त हामी उड्या चरा समाउँथ्यौं भन्ने गफ गर्नुहुन्थ्यो । अहिले कांग्रेसको अवस्था त्यस्तै छ । आफ्नो एजेण्डा छैन । दृष्टिकोण छैन । आफैं उठ्न सक्ने अवस्था छैन । घाममा बसेर उड्या चरा खसाल्ने गफ लगाइरहेको छ ।’
कांग्रेसले गर्दा तराई डुब्यो
प्रधानमन्त्री ओलीले कांग्रेसको म्याउँम्याउँ नीतिले गर्दा तराई क्षेत्र डुबानमा परेको स्पष्ट पारेका छन् ।
उनले भने, ‘कांग्रेसको म्याउँम्याउँ नीतिले गर्दा भारतसँग अनेक सम्झौता गर्दा तराई डुबानमा परेको हो ।’ प्रधानमन्त्री ओलीले आगामी दिनमा यो सरकारले नेपालको आर्थिक वृद्धिदर ८ प्रतिशत बनाउने, भर्ना हुन नपाएका बालबालिकालाई अर्को वर्षमा समाप्त पार्ने, पर्यटन बढाउने नीति लिएको बताए ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री अोलीले अनसन मानवअधिकारको क्षेत्रभित्र नपर्ने बताउँदै जुम्लामा कस्ले लगेर डा. गोविन्द केसीलाई अनसन बसायो ? भन्ने प्रश्न गरे । सरकारको तलब खाएर बसेका डाक्टरले उपचार गर्दिन भनेर विरोध गर्न नपाईने पनि उनले बताए ।