कांग्रेसभित्र लफडा: जनकपुरमा पनि विद्रोह
जनकपुरधाम । गठबन्धन गर्ने निर्णय गरेपछि नेपाली कांग्रेसभित्र लफडा उत्पन्न भएको छ । भरतपुर र पोखरापछि जनकपुरधाममा पनि कांग्रेसले विद्रोह गर्ने भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका सभापति मनोज साहले गठबन्धनबीच केन्द्रमा भएको सहमति नमान्ने चेतावनी दिएका छन् । उनले नेतृत्व कुनै हालतमा नछोड्ने भन्दै केन्द्रविरुद्ध विद्रोह गर्ने चेतावनी दिएका छन् ।
केन्द्रमा जनकपुरधामको नेतृत्व जनता समाजवादी पार्टी (जसपा)लाई दिने सहमति भएपछि कांग्रेस उपमहानगर सभापति साहले आफूहरूले नेतृत्व कुनै हालतमा नछोड्ने बताएका हुन् ।
जनताको भावनाविपरीत भएको निर्णय कुनै पनि सर्तमा नमान्ने उनको अडान छ । “जसपाबाट उठ्ने उमेदवार भ्रष्टाचारी हो । भ्रष्टाचारीलाई कसरी भोट दिन्छु ?,” उनले भने, “जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेसको आफ्नै उमेदवार हुन्छ । मेयर हामी कुनै पनि हालतमा छोडदैनौँ ।”
जसपाले मेयरमा वर्तमान नगरप्रमुख लाल किशोर साहलाई उमेदवार बनाउने सम्भावना बढी छ । सत्तारूढ दलबीच आज जनकपुरधामको मेयर जसपालाई र उपमेयर कांग्रेसलाई दिने सहमति भएको छ ।