चुनावको मुखमा कांग्रेसभित्र फेरि लफडा
काठमाडौं । चुनावको मुखमा नेपाली कांग्रेसमा फेरि लफडा देखिएको छ । यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको एकलौटी नमान्ने बताएको शेखर कोइराला समूहले अहिले फेरि देउवाविरुद्ध मोर्चा कसेको छ ।
सभापति देउवाले नेविसंघ र तरुण दलका अध्यक्ष नियुक्त गरेका छन् । महाधिवेशनमा देउवालाई टक्कर दिएको शेखर कोइराला समूहलाई सल्लाहमै भ्रातृ संस्थाको नेतृत्व ल्याउने आश्वासन दिएका देउवाले एकतर्फी अध्यक्ष चयन गरेपछि कोइराला समूह रुष्ट बनेको छ ।
बुधबार पार्टीका मुख्य सचिव कृष्ण पौडेलले विज्ञप्ति निकालेर नेविसंघको तदर्थ कार्यसमितिको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई तोकिएको जानकारी दिँदा कोइराला समूहको बैठक कमलपोखरीको एक होटलमा बसिरहेको थियो । बैठकमा सहभागी एक केन्द्रीय सदस्यकाअनुसार बैठक चलिरहँदा बालुवाटारबाट नेता कोइराला र महामन्त्री गगन थापालाई फोन आएको थियो । तर, बैठकमा सहभागी सबैजना बैठक सम्पन्न भएर बाहिर निस्किएपछि मात्र दुई भ्रातृ संस्थाको तदर्थ समिति गठन भएको जानकारी पाए ।
जानकारी पाएलगत्तै पुनः उनीहरू छुट्टै छलफलमा जुटे । सहमहामन्त्री जीवन परियारले ‘राजनीतिक कोर्स चेन्ज भयो साथीहरू एकछिन छलफलमा जुटौँ’ भन्दै भित्र लगेका थिए । उपसभपाति धनराज गुरुङ, महामन्त्री थापा, सहमहामन्त्रीहरू बद्री पाण्डे, जीवन परियार, केन्द्रीय सदस्यहरू सञ्जय गौतम, अजयबाबु शिवाकोटी, प्रतिमा गौतममात्र छलफलमा बसे । नेता कोइराला, नेताहरू बलबहादुर केसी, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल भने बैठक स्थलबाट हिँडिसकेका थिए ।
“नेताहरू विज्ञप्ति देखेर ‘सरप्राइज’ हुनुभयो,” बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, “सभापतिले सल्लाह गरेर गर्छु भन्नुभएको थियो । तर, त्यसो भएन । अपनत्व महसुस नभएको र सबैलाई समेटेर लैजान नसकेको निष्कर्ष निकालिएको छ ।”
बुधबार बिहान नेता कोइरालासँगको टेलिफोन संवादमा देउवाले नेविसंघ र तरुण दलको समिति ल्याउँदा ‘सल्लाह गर्छु’ भनेपनि सभापतिले ढाँटेर एकलौटी गरेको ती केन्द्रीय सदस्यले बताए ।
“बिहान पनि सम्पर्क हुँदा सभापतिले सल्लाह गरेर ल्याउछु भन्नुभएको थियो । सरसल्लाह गरेर मात्र समिति ल्याउनुपर्छ भनिरहे,” ती केन्द्रीय सदस्यले भने,“बैठक चलिरहँदा पनि महामन्त्री र शेखर डा. सापलाई फोन आएको थियो । यता गफ गर्ने भरिहे, उता मुख्यसचिवलाई आदेश दिएर समिति ल्याइयो । हामीसँग सल्लाह भएन, रुष्ट बनायो ।”
बैठकमा सहभागी नेता बलबहादुर केसीकाअनुसार कार्यसम्पादन समितिको बैठकले समिति गठन गर्न सभापतिलाई जिम्मेवारी दिए पनि त्यसमा छलफल नगरी समिति ल्याएको बताए ।
“कार्यसम्पादनले सभापतिलाई जिम्मा दिएपनि त्यसमा छलफल गर्ने कुरा भएको थियो । तर, छलफल नगरी उहाँले समिति ल्याउनुभयो,” उनले भने, “एकलौटी जान थालेपछि त्यसबारेमा हाम्रो टिप्पणी आउँछ । समूहगत धारणा बनाएर आउने हो भोलि बेलुकासम्म हामी धारणा ल्याउँछौँ ।”
बुधबार बसेको बैठकको सुरुमै नेता कोइरालाले आफू र सभापति देउवाबीच बिहान भएको संवाद भएकोबारे जानकारी गराएका थिए । उनले बिहानको संवादमा देउवाले नेविसंघ र तरुण दल गठन गर्दा सल्लाह गरेर जाने वचन आफूलाई दिएको ब्रिफिङ गरेका थिए ।
कोइराला समूहको बैठकले सभापति देउवाले पार्टीमा एकलौटी गरे सार्वजनिक रूपमा प्रतिकार गर्ने निर्णय पनि गरेको छ । देउवाले १४औँ महाधिवेशनमा आफूलाई मत नहाल्नेहरूलाई पेल्ने रणनीति लिएको भन्दै नेताहरूले असन्तुष्टि जनाएको बैठकमा सहभागी एक नेताले बताए ।
“सभापतिज्यूले आफूलाई मत नहाल्ने मान्छेहरूलाई पार्टीको कुनै पनि स्थानमा कहीँपनि स्थान नदिने रणनीति अंगिकार गरेको ठहर गर्दै एकलौटी ढंगले पार्टीमा जुन् निर्णय गरिन्छ त्यसको सार्वजनिक रूपमै विरोध गर्ने निर्णय भयो,” ती केन्द्रीय सदस्यले भने ।
बैठकमा आसन्न स्थानीय तहमा चुनावी गठबन्धन देउवाले भनेमात्र नहुने भन्दै केन्द्रीय समितिमा छलफल गराउने गरी अघि बढ्ने निर्णय गरेको छ । यस्तै, पार्टी विधानमा व्यवस्था गरिएको चार तहको संसदीय समिति गठन गरी टिकट वितरणको कामलाई अघि बढाउनुपर्ने पनि माग गरेको छ ।
“केन्द्रीय संसदीय बोर्डले तीनवटा संसदीय बोर्डको अधिकार कटौती गरेर निर्णय लिन सक्दैन । केन्द्रीय संसदीय बोर्डले महानगरपालिकाको उम्मेदवारी मात्र टुंगो लगाउन सक्छ । त्यो बाहेकका स्थानीय तहमा प्रतिनिधिसभा क्षेत्रीय संसदीय समिति, जिल्ला संसदीय समिति र प्रदेश संसदीय समितिले निर्णय लिने व्यवस्था विधानमा छ । सोही कारण विधान मिचेर तीन वटा संसदीय समितिको अधिकार कटौती गर्ने गरी चुनावी तालमेलको निर्णय केन्द्रले लिन नसक्ने निष्कर्ष बैठकले निकालेको छ,” एक केन्द्रीय सदस्यले भने ।
नेता बलबहादुर केसीले पनि समूहको बैठकमा चार/पाँचवटा विषयमा छलफल भएको जानकारी दिए । बुधबार भएको निर्णयको विषयमा सभापति देउवासँग समूहका नेता कोइरालले बिहीबार छलफल गर्ने गरी बैठक सकिएको उनले बताए ।
“सबै विषयमा एक पटक सभापतिसँग कुरा गर्ने एउटा धारणा बनाएर चैत ११ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत हुने कुरामा पुगेका छौँ,” नेता केसीले भने,“ भोलि यिनै विषयमा कुरा गर्न सभापतिज्यूसँग भेट्ने कुरा भयो । त्यसको जिम्मेवारी शेखरजीले पाउनुभएको छ । केही साथीहरू लिएर भेट्न जानुहुन्छ ।”