कांग्रेसको टिप्पणी : आकाशको तारा झार्छु भन्ने सरकार बजेटमा हरायो - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

कांग्रेसको टिप्पणी : आकाशको तारा झार्छु भन्ने सरकार बजेटमा हरायो



नयाँ पत्रिका:काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले बजेटलाई ‘वायुपंखीको नारा, कछुवा शैलीको परिणाम’ भनेको छ । बुधबार बसेको संसदीय दलको बैठकले बजेट मुलुकको अपेक्षाविपरीत आएको निष्कर्ष निकालेको हो ।

कांग्रेसले बजेटमा रहेका १४ अन्योल, विरोधाभाष र कमजोरी औँल्याएको छ । ‘वायुपंखीको नारा कछुवा शैलीको परिणाम मुलुकको अपेक्षा किमार्थ थिएन,’ कांग्रेसले भनेको छ, ‘आकाशको तारा झारेर राख्छु भन्ने सरकार नीति तथा कार्यक्रममा झ-यो र बजेटमा हरायो ।’ बजेट अस्पष्ट, अन्योल र परम्परागत कम्युनिस्ट शास्त्रीय रूपमा आएको कांग्रेसको भनाइ छ ।

प्रधानमन्त्रीले आफ्नै प्रतिबद्धता लत्याए
प्रवक्ता विश्वप्रकाश शर्माले केपी ओली नेतृत्वको सरकार आफैँले जारी गरेको श्वेतपत्र र चुनावी घोषणापत्रमा उल्लेख गरिएका योजना र प्रतिबद्धतासमेत लत्याउँदै बजेट ल्याएको बताए । पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता शर्माले बजेटबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेका हुन् ।

‘सरकारले १६ चैतमा श्वेतपत्र जारी गर्दै कांग्रेसले रित्तो ढुकुटी बुझाएको छ भन्दै थियो, त्यसको ठीक दुई महिनामा १५ जेठमा बजेट संसद्मा प्रस्तुत गर्दा अहिले ८ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ,’ प्रवक्ता शर्माले भने, ‘के रित्तो ढुकुटीले ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्छ ? यो विरोधाभाष भएन ?’ बजेटमा ८ प्रतिशत आर्थिक वृद्धि गर्ने भनिए पनि त्यसका लागि स्पष्ट कार्ययोजना बजेटमा समेट्न नसकेको आरोप कांग्रेसको छ ।

ओलीले संसद्मा राखेका धारणा पनि बजेटमा नसमेटिएको भन्दै शर्माले कटाक्ष गरे । ‘प्रधानमन्त्रीज्यूले संसद्मा जलमार्गको सपना राति होइन, दिउँसै देखेको हो भन्दै हुनुहुन्थ्यो । साँझ बजेट जारी हुँदा कता गायब भएछ, देखिएन,’ शर्माले भने, ‘चुला–चुलामा पाइपबाट ग्यास पु¥याउने विषय बजेटमा समावेश छैन ।’

निजी क्षेत्रलाई निरुत्साहित गरेको छ
बजेटमा रोजगारी सिर्जना गर्ने कुरा सकारात्मक भए पनि निजी क्षेत्रलाई निरुत्साहित गरेर रोजगारी सिर्जना गर्ने विषय विरोधाभाष रहेको जिकिर शर्माको छ । ‘के अब रोजगारीका लागि विदेश जाने कुरा रोकिन्छ ? प्रधानमन्त्री रोजगारी कार्यक्रम नाम मात्रको छ, त्यसले राजगारी सिर्जना गर्नै सक्दैन,’ कांग्रेसले भनेको छ ।

राष्ट्रिय गौरवका सिँचाइ आयोजना सिक्टा, बबईलगायतलाई बजेटमा प्राथमिकतामा नराखी कृषि उत्पादन दोब्बर गर्ने लक्ष्य बजेटमा राख्नु विरोधाभाष हुने शर्माले बताए । बजेट अध्ययन गर्दा कुनै नवीनतम कार्यक्रम नरहेको भन्दै कांग्रेसले निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई फरक ढंगले ल्याउनु आवश्यक नै तरहेको तर्क गरेको छ । स्थानीय तह नभएका वेलामा ल्याइएको कार्यक्रम स्थानीय तहमा जनप्रतिनिधि भएपछि ल्याउनुको कुनै तुक नरहेको र प्रत्येक निर्वाचन क्षेत्रमा ४ करोड बाढ्नु आवश्यक नभएको कांग्रेसको ठहर छ ।

मूल्यवृद्धि अकासिन्छ, व्यापार घाटा बढ्छ
बजेटमा मूल्यवृद्धि रोक्ने कुनै कार्यक्रम नआएकाले अब मूल्यवृद्धि अकासिने र व्यापार घाटा बढ्ने शर्माले बताए । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने, वृद्धभत्ता ५ हजार बनाउने चुनावी घोषणापत्रमा उल्लेखित विषय बजेटमा नसमेटिनु दुःखद भएको कांग्रेसको भनाइ छ । ६५ वर्षमा वृद्धभत्ता दिने विषय नजरअन्दाज गरिएकोमा कांग्रेसले आपत्ति जनाएको छ ।

मिर्गौला रोग, क्यान्सर र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका बिरामीलाई जीविकोपार्जन गर्न मासिक ५ हजार उपलब्ध गराउने कांग्रेस सरकारले गरेको व्यवस्थालाई बजेटमा प्रबन्ध नगरिनु आपत्तिजनक भएको कांग्रेसको भनाइ छ ।

बजेटको एकचौथाइभन्दा कम हिस्सा मात्रै विकास खर्च छुट्याएर समृद्धि हासिल गर्न नसकिने कांग्रेसले बताएको छ । विगतदेखि सञ्चालित विकास परियोजनाको सुरक्षित अवतरणमा बजेटको गम्भीरता नदेखिनु दुःखद भएको शर्माले बताए ।

ढुंगेलको रिहाइविरुद्ध सडकदेखि सदनसम्म आवाज उठाउने
कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका माओवादी नेता बालकृष्ण ढुंगेललाई रिहाइ गरेको विरोधमा कांग्रेसले सदनदेखि सडकसम्म संघर्ष गर्ने भएको छ । ‘कांग्रेस विधिको शासनमा विश्वास गर्ने पार्टी हो । सरकारमा बसेर विधिलाई मिच्न पाइँदैन । राजनीतिक उद्देश्यले रिहाइ गरिएको छ,’ संसदीय दलको बैठकपछि कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले भने, ‘सरकारले जनतालाई तर्साउने ढंगले गरेको निर्णयको विपक्षमा कांग्रेस रहिरहन्छ ।’ सरकारले अदालतलाई समेत प्रभावित पार्ने काम गरेको खाणको आरोप छ ।

दलको बैठकमा विज्ञको सुझाब
कांग्रेसले बजेटका विषयमा संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा विज्ञहरूसँग समेत छलफल गरेको छ । दलको बैठकमा पूर्वअर्थमन्त्री तथा पार्टी केन्द्रीय सदस्य डा. रामशरण महत, योजना आयोगका पूर्वउपाध्यक्षद्वय डा. जगदीशचन्द्र पोखरेल र डा. गोविन्द पोखरेल, अर्थविद्हरू डा. विश्व पौडेल, डा. पोशराज पाण्डे र डा. प्रभु बुढाथोकीले बजेटले स्पष्ट प्राथमिकतासहित योजनाबद्ध रूपमा आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्ने अवसर गुमाएको बताएका थिए । उनीहरूले स्रोत–साधनले धान्न सक्नेभन्दा प्राथमिकताविहीन कार्यक्रमको फेहरिस्त सरकारले बजेटमा प्रस्तुत गरेको भन्दै त्यसका विरुद्ध संसद्मा धारणा राख्न सुझाएको प्रमुख सचेतक खाणले जानकारी दिए ।

जनतालाई कर र ऋणको बोझ बोकाउने यो बजेटले सत्तासीन कम्युनिस्ट पार्टीका कार्यकर्तालाई भरणपोषण गर्ने रणनीति लिएको स्पष्ट भएको कांग्रेसको ठहर छ ।नयाँ पत्रीकामा खबर छ ।फाइल तस्बिर :