कञ्चनपुरमा भएको प्रहरी हस्तक्षेपको कांग्रेसद्वारा आपत्ति
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा बिहीबार भएको गोली प्रहारको घटनाप्रति आपत्ति जनाएको छ । प्रतिपक्षी कांग्रेसले बिहीबार बेलुकी विज्ञप्ती जारी गरेर घट्नाको भत्र्सना गरेको हो ।
‘‘आजको जनप्रदर्शन पछिल्तिरका भावनाहरुलाई सरकारले संयमितपूर्वक आत्मसात गर्नुपर्नेमा उल्टै बल प्रयोग गर्ने, गोली चलाउने, दर्जन भन्दा बढीलाई घाइते बनाउने र कफ्र्युकै अवस्था सृजना गर्ने कर्मको घोर निन्दा एवं भत्र्सना गर्दछौं ।’’ मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
अवोध बालिकाको बलात्कार पश्चातको हत्या जस्तो जघन्य अपराधको गहिरो र गम्भीर छानविन गरेर अपराधीलाई कडा सजाय दिनु पर्ने दायित्व सरकारको भएको स्मरण गराउँदै कांग्रेसले अनुसन्धानमा ढिलाई र कमजोरी हुँदा गाउँ–समाज नै आक्रोशित बन्ने अवस्था सिर्जना भएको जनाएको छ । ‘‘कुनै निर्दोषलाई दोषी भनेर करार गरिएको आशंका हुँदा त्यसले झनै विद्रोह जन्माउँछ ।’’ विज्ञप्तीमा भनिएको छ ।
कांग्रेसले उच्चस्तरीय छानविन समितिमार्फत समग्र घटनाको गहन र निष्पक्ष छानविन गर्न सरकार समक्ष माग गरेको छ । साथै उसले घाइतेहरुको सम्पूर्ण उपचार गर्न समेत सरकारलाई कांग्रेस आग्रह गरेको छ ।
साउन ११ गते भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षिया बालिका निर्मला पन्तको शव बलात्कार गरेर हत्या गरिएको अवस्थामा घर नजिकैको उखुबारीमा फेला परेको थियो । कञ्चनपुर प्रहरीले घटना भएको २६ औं दिनमा बालिकाको हत्यामा संलग्न रहेको दाबी गर्दै एक जना मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई सार्वजनिक गरेको थियो ।
तर बालिकाका आफन्त र स्थानीय वासिन्दाहरु प्रहरीले बलात्कारी र हत्यारालाई संरक्षण गर्न ‘नक्कली’ मानिसलाई उभ्याएको दाबी गर्दै आन्दोलन गर्दै आएका छन् । बिहीबार बिहान भएको आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा चार जना युवा घाइते भएका छन् । स्थानीय प्रशासनले महेन्द्रनगरमा बेलुकी ५ वजेबाट कफ्र्यु लगाएको छ ।