सरकार विरुद्ध कांग्रेस कडा ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सरकार विरुद्ध कांग्रेस कडा !



काठमाडौं। नेकपा नेतृत्वको सरकारविरुद्ध प्रतिपक्षी दल कांग्रेसले आन्दोलन घोषणा गरेको छ। शिक्षा विधेयकविरुद्ध अनशनरत डा. गोविन्द केसीका माग पूरा हनुपर्ने र सरकारले जनतालाई मूल्यवृद्धिको चौतर्फी भार बोकाएको भन्दै कांग्रेसले केन्द्रीय पदाधिकारी बैठक गरेर आन्लोलनका कार्यक्रम घोषणा गरेको हो।
कांग्रेस उपसभापति विमलेन्द्र निधिको अध्यक्षतामा मंगलबार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकअघि सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीसँग भेटेर डा. केसीका माग सम्बोधन गर्न आग्रह गरेका थिए। सभापति देउवाले सोमबार मात्रै सार्वजनिक वक्तव्य जारी गर्दै डा. केसीको जीवन रक्षाको अपिलसमेत गरेका थिए।

देउवाले प्रधानमन्त्री ओलीलाई भेटेलगत्तै पार्टी कार्यालयमा उपसभापति निधिको अध्यक्षतामा बसेको बैठकले साउन ३, ५ र ८ गते सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो। बैठकमा पार्टीका पदाधिकारीसँगै उपत्यका जिल्ला सभापति र भ्रातृसंगठन प्रमुखको समेत सहभागिता थियो। बैठकले गरेको निर्णयअनुसार ३ गते प्राध्यापक संघ, नेपाल र प्रजातन्त्रवादी चिकित्सक संघको अगुवाइमा काठमाडांैमा विरोध प्रदर्शन हुनेछ। त्यसैगरी ५ गते तरुण दल एवं ८ गते कांग्रेस जिल्ला कार्यसमिति, काठमाडौं, ललितपुर र भक्तपुरको अगुवाइमा विरोध प्रदर्शन हुनेछन्।

बैठकलगत्तै महामन्त्री डा. शशांक कोइरालाले एक विज्ञप्ति निकाल्दै १५ साउनमा ७७ ओटै जिल्ला कार्यसमितिलाई सरकारविरुद्ध विरोध प्रदर्शन गर्न आग्रह गरेका छन्। डा. केसीका मागलाई सरकारले बेवास्ता गरेको र अधिनायकवादको बाटोमा अघि बढेका कारण त्यसविरुद्ध प्रदर्शन आह्वान गरेको विज्ञप्तिमा उल्लेख छ।

कांग्रेसले घोषणा गरेका विरोध कार्यक्रम १५ गतेपछि पुनः सार्वजनिक गरिने उपसभापति निधिले बताए। ‘डा. केसीका मागको सन्दर्भमा कांग्रेसले सदनमा आफ्ना धारणा राख्दै आएको थियो’, उनले भने, ‘सदन अवरुद्ध पनि गरियो। त्यसलाई थप प्रभावकारी बनाउन सिंगो पार्टीलाई नै सडकमा समेत उतार्न लागिएको हो। सरकार एकपछि अर्को गरी निरंकुशतातर्फ गइरहेको सन्देश दिन पनि हामीले यस्तो निर्णय गरेका हौं।’

सरकारले ल्याउने भनिएको शिक्षा विधेयकविरुद्ध डा. केसी जुम्लामा अनशन बसेदेखि नै कांग्रेसले उनका मागमा सर्मथन जनाउँदै आएको छ। यसअघि कांग्रेसको संसदीय दलको बैठकले औपचारिक रूपमै निर्णय गर्दै डा. केसीको अनशनमा समर्थन जनाउने निर्णय गरेको थियो। कांग्रेस संसदीय दलले तीन जना सांसदलाई जुम्ला नै पठाएर केसीको अवस्थाबारे बुझेको थियो। अन्नपूर्णपोष्टबाट