कांग्रेसको जुलुसमा मधेसवादी दलको तिब्र बिरोध !
जनकपुरधाम : वर्तमान सरकारविरुद्ध प्रर्दशनमा उत्रिएको नेपाली कांग्रेसको जुलुशमा कार्यकर्ताले मधेसवादी दलको विरोधमा नाराबाजी गरेका छन्। मंगलबार कांग्रेसको देशव्यापी कार्यक्रम अन्तर्गत जनकपुरमा प्रर्दशन भएको हो। हजारौंको संख्यामा गाउँगाउँबाट जनकपुर आएका कांग्रेस कार्यकर्ता पार्टी कार्यालयमा भेला भएर जुलुसमा सहभागी भएका छन्।
जिल्ला प्रशासन कार्यालयबाट सुरु भएको प्रदर्शन प्रशासन कार्यालय पुगेर चर्का नाराबाजी गर्दै अगाडि बढेको थियो। जुलुशमा सहभागी नेता कार्यकर्ताले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालको विरोधमा समेत नाराबाजी गरे।
मधेसवादी दलको विरुद्धमा नाराबाजी गरिरहेका नेता कार्यकर्ताले मधेसवादी दलले हालसम्म मधेसको अधिकार नदिएको भन्दै संविधानको विरोध गरेको र अहिले सोही संंविधानलाई स्वीकारेर सत्तामा गएको हुँदा आफूहरुले विरोध गरेको बताए।
नाराबाजी गर्दै हिँडेका एक कार्यकर्ताले भने, ‘सत्ताको लागि ओली सरकारले मात्र होइन उपेन्द्र यादवले समेत जनतालाई मूर्ख बनाए त्यसैले उनी मधेसका विरोधी हुन्।’
कांग्रेसको प्रर्दशनलाई दृष्टिगत गर्दै जनकपुरको सुरक्षा व्यवस्था निकै कडा बनाइएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई व्यापक रुपमा नगरक्षेत्रमा परिचालन गरी सुरक्षाको बन्दोबस्त मिलाइएको थियो। कांग्रेसका जिल्ला सभापति महेशशंकर गिरीलगायत केन्द्रीय सदस्य महेन्द्र यादव, आनन्दप्रसाद ढुंगाना, रामकृष्ण यादवसहितको नेतृत्वमा जुलुस भएको थियो।