कांग्रेस विवाद : केहीको भेला चाक्सिबारी, देउवाको देश सवारी - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

कांग्रेस विवाद : केहीको भेला चाक्सिबारी, देउवाको देश सवारी



काठमाडौं । नेपाली कांग्रेसको वर्तमान कार्यसमितिको मिति अझै एक वर्ष बाँकी छ। पार्टी सभापतिले चाहे विषम परिस्थितिमा एक वर्ष म्याद थप्न पाउने ब्यवस्था छ । यसलाई हेर्ने हो भने कांग्रेस महाधिवेशन हुन दुई वर्ष लाग्न सक्छ । तर, यति वेलै कांग्रेस महाधिवेशनको चटारो पार्टी भित्र सुरु भइसकेको छ । नेताहरुले एक अर्कालाई आरोप पत्यारोप लगाउन सुरु गरिसकेका छन् । केही दिन पहिले सभापति शेरबहादुर देउवाले एउटा कार्यक्रममा कोइराला परिवारको सदस्य भएकै कारण पार्टीको नेतृत्व नपाउने टिप्पणी गरेका थिए ।

त्यसलगत्तै शेखर कोइरालले आफू पनि कुनै जातको आधारमा नेतृत्व हाक्ने नभई क्षेमताले बाचेको नेता भएको बताउँदै देउवाको सोचाई नै त्यति भएकाले त्यसविरुद्ध धेरै टीकाटिप्पणी नगर्ने तर्क गरेका थिए । त्यसपछि नेपाली कांग्रेसको बैठक बस्यो । कांग्रेसले केही दिन पहिले बुहमतीय प्रणालीबाट पार्टीको विधान पारित गरेको थियो ।

बहुमतिय प्रणालीबाट विधान पारित गर्नु अगाडी बसेको कांग्रेस बैठकले महासमिति बैठकले दिएको सुझावका आधारमा विधान पारित गर्ने बताएको थियो । महासमिति सदस्यले दिएको सुझाव नमानेपछि सभापति इत्तर समूह देउवासँग निकै रुष्ट बन्यो । देउवा बहुमतको बलमा ताहाशाही बन्दै गएको भन्दै नेता प्रकाशमान सिंहको निवास चाक्सिबारीमा देउवा विरोधी नेताहरुको विशेष जमघट भयो ।

पार्टीमा सभापति देउवा एकलौटी रूपमा अघि बढ्न खोजेपछि देउवाविरोधी गुटहरु एकै ठाउँमा जम्मा भएका हुन् । जमघटमा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र कोइराला क्याम्पसँग निकट सबैजसो नेताहरु सहभागी थिए । त्यहाँ देउवाबाट भएका एकलौटी कदमको खुलेर आलोचना भएको थियो र आगामी महाधिवेशमा देउवाविरुद्ध संगठित ढंगले अघि बढ्नुपर्ने निष्कर्ष निकालिएको थियो ।

चाक्सीबारी जमघटले कांग्रेसको आन्तरिक राजनीतिलाई तरंगित गरेको छ । चाक्सीबारीमा भइरहेको छलफललाई संस्थापक्ष पक्षले चासोका साथ नियालेको छ । त्यसपछि देउवा निवासमा चाक्सीबारी जमघटलाई प्रभावहीन तुल्याउने रणनीतिबारे छलफल भयो र अहिले सभापति देउवा देश दौडाहमा छन् ।

चाक्सिबारी बैठकमा रामचन्द्र पौडेल, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, रामशरण महत, बलबहादुर केसी, चन्द्र भण्डारी, गगन थापालगायका नेताहरुको उपस्थिति थियो । गुटमा नलागेका रामशरण महतजस्ता वरिष्ठ नेताहरुको उपस्थितिले चाक्सीबारीको भेटघाटलाई थप महत्वपूर्ण बनाएको थियो ।

कांग्रेस केन्द्रीय समितिको पछिल्लो बैठकमा देउवाले बहुमतको बलमा भइसकेको सहमतिलाईसमेत उल्टाउने प्रयास गरेको आरोप लगाउँदै असन्तुष्ट रहेका पौडेल, कोइराला र सिटौला एक ठाउँमा आएका हुन् । सहमतीय प्रक्रियाका साथ अगाडि बढ्ने निर्णय नभएसम्म पार्टीको बैठक बहिस्कार गर्ने निर्णयसमेत चाक्सीबारी जमघटले गरेको छ । असन्तुष्ट पक्षका केन्द्रीय समितिको निर्णयमा नोट अफ डिसेन्ट लेखेका थिए ।

सभापति देउवालाई थप दबाबमा पार्ने रणनीतिअनुसार चाक्सीबारी जमघट आयोजना गरिएको सहभागी नेताले बताएका थिए । त्यसपछि केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

अनुसाशन समिति, नेविसंघ, निर्वाचन समिति र अन्य विषयहरु सहमतिका आधारमा टुंगो लगाउनुपर्ने र यसबारेमा महासमिति बैठकमा समझदारी भएको असन्तुष्ट पक्षको भनाइ छ ।

सभापति देउवा पार्टीमा चरम विवाद सिर्जना भइरहेको बेला साता ब्यापी देश दौडाहमा छन् । आफूसँग असन्तुष्ट बनेको समूह सक्रिय बनेको देखेपछि देउवाले पनि कार्यकर्ता भेटघाटलाई तिब्रता दिएका छन् । उता पार्टी आफै चरम विवादमा फसिरहेको समयमा नेपाल विद्यार्थी संघको महाधिवेशन समेत अन्योलमा परेको छ ।