कांग्रेस जिल्ला सभापतिको गोप्य भेलाको : विशेष महाधिवेशनको तयारी
काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतर पक्षका जिल्ला सभापतिहरूले पार्टीको केन्द्रीय नेतृत्वले पार्टी हितमा काम गर्न नसकेकोे भन्दै नेतृत्वप्रति संघीन आरोप लगाएका छन् । उनीहरूले पार्टीमा मौनमौजी मौलाएकाले त्यसविरुद्ध सशक्त प्रतिरोध आवश्यक रहेको समेत औंल्याएका छन् । राजधानीमा बुधबारबाट सुरु गोप्य भेलामा जिल्ला सभापतिले पार्टी नेतृत्वले महासमितिको म्यान्डेट र जिल्ला सभापतिसँगको सहमतिविपरीत विधानलाई बहुमतका आधारमा पारित गराएको तथा पार्टीको हितमा काम गर्न नसकेको भन्दै नेतृत्वको चर्को आलोचना गरेका छन् ।
उनीहरूले वर्तमान नेतृत्वले पार्टीलाई शसक्त बनाउन नसकेको भन्दै नयाँ नेतृत्व छनोटका लागि विशेष महाधिवेशन बोलाउन माग गरेका छन् ।
बैठकमा सहभागी सभापतिहरूले विशेष महाधिवेशनका लागि कसरी अघि बढ्ने भन्ने विषयमा समेत गोप्य छलफल गरेका छन् । सभापतिहरूले विशेष महाधिवेशन बोलाउने बारेमा आवश्यक रणनीतिसमेत तयार गरिने जनाएका छन् ।
ठमेल चाक्सिबारीस्थित होटल काठमाडौंमा जारी भेलामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट जिल्ला सभापतिहरू सहभागी छन् ।
भेलाको व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका काठमाडौं कांग्रेसका सभापति सबुज बानियाँले भेलामा ४० जिल्लाका जिल्ला सभापति सहभागी रहेको जनाए । बानियाँका अनुसार बैठकमा पार्टी राजनीति, देशको समसामयिक राजनीतिक अवस्था तथा बारा र पर्सामा आएको हावाहुरी र त्यसबाट भएको जनधनको क्षतिमा केन्द्रित रहेर छलफल भएको छ । बैठकको निर्णय बिहीबार भेला समापनपछि सार्वजनिक गरिने बानियाँले जानकारी दिए ।
बैठकमा सबैजसो सहभागीले केन्द्रीय सभापतिले जिल्ला सभापतिहरूसँग कुनै पनि विषयमा कुनै पनि दिन परामर्श नगरेको, पार्टीलाई कोठरीबाट चलाएको, सभापतिले आफ्नै वरिपरि घुम्ने झुन्ड बनाएको र पार्टीलाई झन् खस्कँदो अवस्थातर्फ लगिरहेको भन्दै सभापतिको चर्को आलोचना गरेका थिए ।
उनीहरूले पार्टीमा व्याप्त गलत रबैयाविरुद्ध प्रतिरोध नगरी अब पनि चुप बसे पार्टीमा जिल्ला तहको नेतृत्व लिनुको कुनै तुक नहुने भन्दै विशेष महाधिवेशनका लागि लाग्न रणनीति बनाउनुपर्ने धारणा राखेका छन् ।
बैठकमा गत पुसमा सम्पन्न महासमितिको बैठकको म्यान्डेड रहेको केन्द्रीय तहका नेताहरूसमेत महाधिवेशन प्रतिनिधि निर्वाचित हुन बुथ तहबाट नै निर्वाचित हुँदै आउनुपर्ने र समावेशी तथा समानुपातिक प्रतिनिधित्वका विषयमा एकपटक भन्दा बढी प्रतिनिधित्वको व्यवस्था राख्न नहुने व्यवस्थाका विपरीत केन्द्रीय समितिले निर्णय गरेको भन्दै अधिकांश सभापतिहरूले पार्टीमा मनमौजी मौलाएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
नुवाकोट सभापति जगदीशनरसिंह केसीले बारा र पर्सामा आएको विनाशकारी हुरीको बितण्डाबाट मृतक तथा पीडित भएका परिवारलाई राहत लिएर जाने विषयमा छलफल भएको बताए ।
यस्तै, उनले सरकारको एकदलीय अधिनायकवादविरुद्ध र भ्रष्टाचारविरुद्ध मेची–महाकाली यात्रा आयोजना गर्ने विषयमा समेत बुधबारको बैठकले निर्णय गरेको जानकारी दिए ।
‘बारा र पर्सामा राहत लिएर जाने तथा सरकारको एकदलीय अधिनायकवाद र भ्रष्टाचारविरुद्ध मेची–महाकाली अभियान चलाउने विषयमा निर्णय भएको छ, कहिलेबाट सुरु गर्ने समापनमा टुंगो लाग्छ,’ केसीले भने ।
बैठकमा सहभागी एक जिल्ला सभापतिका अनुसार बुधबारको छलफलमा जिल्ला सभापतिहरूले पार्टी नेतृत्वविरुद्ध आक्रामक रूपमा आफ्नो धारणा राखेका छन् । ती नेताका अनुसार पार्टीको विशेष महाधिवेशनका लागि आवश्यक रणनीतिसहित जिल्ला फर्कनेतर्फ भेलाले रणनीति बनाउनुपर्ने तर्फ बैठकको छलफल केन्द्रित रहेको जानकारी दिएका हुन् ।
नाम उल्लेख नगर्ने सर्तमा एक सभापतिले भने, ‘विधानमा राख्ने व्यवस्थाको विषय त सबैको साझा विषय नै हो, अब पार्टी नेतृत्वले जे गर्दा पनि कति चुप लागेर बस्ने ?, नेतृत्वको मनमौजी कति सहने ?, शेरबहादुर जीले मात्रै पार्टी चल्छ ?, अब विशेष महाधिवेशनका लागि अघि बढौं भन्ने विषय मुख्य हो,’ ती सभापतिले भने ।
सभापतिलाई कमजोर बनाउने खेल
काठमाडौंमा जारी जिल्ला सभापतिहरूको भेलामा पार्टी सभापति शेरबहादुर देउवानिकट जिल्ला सभापतिहरू भने सहभागी छैनन् । उनीहरूले भेला पार्टी हितमा केन्द्रित हुने भन्दा पनि सभापतिलाई कमजोर बनाउनेतर्फ केन्द्रित रहेकाले आफूहरू सहभागी नभएको जनाएका हुन् ।
सभापति देउवानिकट भक्तपुर कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले पार्टी र पार्टी सभापतिलाई कमजोर बनाउनका लागि विशेष महाधिवेशनको हल्ला मात्रै गरिएको बताए । उनले सभापति र पार्टीलाई कमजोर बनाउने कुत्सित खेल भइरहेको भन्दै त्यसतर्फ सिंगो पार्टी पंक्ति सचेत र सतर्क रहन जरुरी भएको बताए ।
‘विशेष महाधिवेशन हल्ला मात्रै हो, त्यो विषय बाहिरै आउँदैन, उहाँहरूको नियत नै पार्टी र पार्टीको नेतृत्वलाई कसरी कमजोर बनाउने भन्ने मात्रै हो,’ भक्तपुर सभापति थापाले राजधानीसँग भने ।
उनले महासमिति बैठकले गरेको निर्णयलाई स्विकार्न सभापति देउवासमेत तयार रहेको बताउँदै केही जिल्ला सभापतिहरू नै केन्द्रीय सभापतिविरुद्धको अनर्गल प्रचारमा लागेको बताए ।
‘महासमितिको म्यान्डेडअनुसार नै केन्द्रीय नेता पनि तलैबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आउनुपर्छ भन्ने विषयमा अहिले सभापति ज्यू कन्भेन्स हुनुहुन्छ, वरिष्ठ नेताको पनि सहमित छ तर त्यसको जस कसले लिने भन्नका लागि होहल्ला बढी भइरहेको छ,’ थापाले भने ।
उनले पार्टी नेतृत्वसँग बसेर असहमति रहेका विषयलाई सहमतिमार्फत नै टुंग्याएर सभापति भेलाको अर्को मिति तोक्न आफूहरूले गरेको मागलाई इतर पक्षले अस्वीकार गरेको समेत जानकारी दिए ।