फागुनमै कांग्रेस महाधिवेशन: वडादेखि प्रदेशसम्म अधिवेशनको मिति फेरियो
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी फागुनमै १४औं महाधिवेशन गर्ने गरी अन्य तहका अधिवेशन कार्यतालिका परिमार्जन गरेको छ । कोरोनाको विश्वव्यापी संक्रमणपछि कांग्रेसले पूर्वनिर्धारित तल्ला तहका अधिवेशनको कार्यतालिकामा केही हेरफेर गर्दै केन्द्रीय महाधिवेशनको मिति यथावत् राखेको हो ।
कांग्रेसले अगामी ७ देखि १० फागुनसम्म पार्टीको १४औं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको थियो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमा नै हुने गरी अन्य तहका अधिवेशनका कार्यतालिकालाई केन्द्रीय समितिले केही परिमार्जन गरेको जानकारी दिए ।
‘केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमा नै हुने गरी अन्य तहका अधिवेशनका कार्यतालिकालाई केन्द्रीय समितिले परिमार्जन गरेको हो । कांग्रेस अब महाधिवेशनमा होमियो,’ प्रवक्ता शर्माले भने ।
यसअघि गत आइतबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले वडा तहदेखि प्रदेश तहसम्मका अधिवेशनको मिति परिमार्जन गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई मंगलबार बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो । जसअनुसार १५ असारभित्र सक्ने भनिएको कांग्रेसको अन्तरिम संरचना समायोजनको सबै काम असार मसान्तसम्ममा सक्ने निर्णय भएको छ ।
यसअघि, कांग्रेसले गत फागुनमै संरचना समायोजनको काम सक्ने निर्णय गरेको थियो । यस्तै, क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सकेर साउन मसान्तभित्रै अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा बुझाउने निर्णय बैठकले गरेको छ । यसरी नाम बुझाउँदा ७७ वटै जिल्लाबाट आएका नामलाई सभापतिले प्रमणित गरेपछि निर्वाचन समितिमा पठाइनेछ ।
कुन अधिवेशन कहिले ?
यसैगरी, ७ गत पुसमा देशभरका ७ हजार वडाको अधिवेशन गर्ने, ८ पुसमा ७ सय ५१ स्थानीय तहको अधिवेशन, ११ पुसमा प्रदेशसभा र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन १३ पुसमा गर्ने निर्णय बैठकले गरेको हो । यस्तै, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन १६ पुसमा र सातै प्रदेशको अधिवेशन ६ माघमा गरिसक्ने निर्णय कांग्रेस केन्द्रीय समिति बैठकले गरेको हो ।
कांग्रेसले महाधिवेशनका लागि यसअघि सार्वजनिक गरेका क्रियाशील सदस्यता वितरण, सदस्यताको नवीकरण र छानबिनको प्रक्रिया कोरोना संक्रमणका कारण प्रभावित भएको थियो । कांग्रेसले गत ९ चैतबाटै कोरोना संक्रमणका कारण क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगन गरेको थियो भने आफ्ना नेता कार्यकर्तालाई संक्रमणविरुद्ध सचेतनामा परिचालित हुन निर्देशन दिएको थियो ।
यसअघि महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दा कांग्रेसले गाउँ र नगर वडा अधिवेशन आगामी ९ मंसिर, गाउँ र नगरपालिका अधिवेशन ११ मंसिर, प्रदेशसभा क्षेत्रीय अधिवेशन १५ मंसिर, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन १७ मंसिर, जिल्ला अधिवेशन २५ मंसिर, प्रदेश अधिवेशन १५ पुसका लागि तय गरेको थियो ।
कांग्रेसका विधान अनुसार केन्द्र देखि वुथ तहसम्म आठ तह छन् । कांग्रेसम बुथ तह, ६ हजार ७ सय ४३ स्थानीय तहका वडा, स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म गरी आठ तहको नेतृत्व छनोट गर्नुपर्नेछ ।
तीव्र विवादबीच कार्यतालिका तय गरेको कांग्रेसले नयाँ संविधानअनुसार पार्टीको संगठन समायोजन गर्न नसक्दा यसअघि नै तालिका संशोधन गरेको थियो । गत फागुनमा नै कांग्रेसले संगठन समायोजन सक्नुपर्ने थियो ।
संशोधित कार्यतालिका अनुसार महाधिवेशनको प्रारम्भिक चरणको सदस्यता वितरण र नवीकरण सुरु गर्दै संगठन समायोजन काम सकेका ४० जिल्लामा नवीकरण र नयाँ वितरणका लागि पार्टी केन्द्रीय कार्यालयले सदस्यता रसिदसमेत पठाइसकेकोे छ । तर, कोरोननाका कारण त्यो प्रक्रिया अघि बढ्न सकेको छैन ।
बाँकी जिल्लामा अझै संगठन समायोजनको काम सकिएको छैन । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तोकिएका १ सय ६५ क्षेत्रमध्ये १ सय ३५ र प्रदेशका ३ सय ३० निर्वाचन क्षेत्रमध्ये २ सय ७० को मात्र समायोजन काम सकिएको छ ।
पूर्वनिर्धारित कार्यतालिकाअनुसार समायोजनको काम गत फागुनमै सक्नुपर्ने भए पनि समायोजन नसकिएका जिल्लालाई अझैसम्म सदस्यता वितरण र नवीकरणको फाराम नै पठाइएको छैन ।
२०–२३ फागुन २०७२ मा सम्पन्न १३औं महाधिवेशनबाट चार वर्षका लागि सभापति निर्वाचित भएका देउवाले गत फागुनमा एक वर्षको कार्यकाल थप गरेर आगामी फागुनमा महाधिवेशन गर्ने कार्यतालिका ल्याएका थिए ।