भरतपुरका माओवादीलाई विश्वप्रकाशको आग्रह-यसपटक रुखलाई भोट हाल्न तयार हुनुस् - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

भरतपुरका माओवादीलाई विश्वप्रकाशको आग्रह-यसपटक रुखलाई भोट हाल्न तयार हुनुस्



काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भरतपुरमा यसपटक माओवादीहरूले रुख चिन्हमा भोट हाल्न तयार हुनुपर्ने बताएका छन्।

शनिबार नेपाली कांग्रेस ठोरी–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको वृहत कार्यकर्ता भेलामा बोल्दै शर्माले भने, ‘भरतपुरमा पोहोर कांग्रेसले सघाएको हो, यसपटक रुख चुनाव चिन्हमा भोट हाल्न माओवादीका साथीहरु तयार हुनुपर्छ।’

उनले भरतपुरमा कांग्रेस कार्यकर्ताको भावना कुल्चिएर फेरि माओवादीलाई छाड्न नसकिने बताए।

‘कांग्रेस महामन्त्रीको नाताले म यो विषयलाई पनि बिलकुल प्रष्ट पार्न चाहन्छु, निर्वाचनमा निर्वाचनमा तालमेल हुँदै गर्दा हरेकपटक एउटै दलले मात्रै सधैँ छाड्ने भन्ने हुँदैन,’ उनले भने।

यसपटक पनि आफ्नी छोरीलाई उम्मेदवार बनाउन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व तहमा दबाब दिइरहेको उनले बताए। ‘यसपटक पनि माओवादीलाई भोट हाल्ने हो भने हाम्रो विवेकको के अर्थ हुन्छ? त्यहाँका साथीहरुको भावना कुल्चेर फेरि माओवादीलाई दिन सहज हुँदैन,’ उनले भने।

महामन्त्री शर्माले शुक्रबार साँझ पनि आफूहरुले प्रधानमन्त्रीलाई भेटेर यसपटक पनि भरतपुर माओवादीलाई छाड्न नसकिने स्पष्ट पारेको बताए।

उनले पार्टीको धारणा स्थानीय तहमा तालमेल गरेर जाने भन्ने भए पनि स्थानीय तहका कार्यकर्ताको भावनालाई उल्लंघन गर्न नहुने बताए।