कांग्रेसका ८ केन्द्रीय सदस्यहरू दाङ राजधानी राख्ने पक्षमा उभिए
काठमाडौं- नेपाली कांग्रेसका आधा दर्जन केन्द्रीय सदस्यहरुले भालुवाङ प्रदेश ५ को केन्द्र तोक्ने निर्णय अत्यन्त उपयुक्त रहेको भन्दै स्वागत गरेका छन् । प्रदेश ५ बाट केन्द्रीय समितिमा रहेका अधिकांश सदस्यहरुले भालुवाङको पक्षमा देखिएका हुन् ।
कांग्रेस केन्द्रीय सदस्य दिपक गिरी, किशोरसिंह राठौर, पार्वता डिसी चौधरी, शिला खड्का, डा. गोपाल दहित, मंगल प्रसाद थारु , योगेन्द्र चौधरी र कृष्ण किशोर घिमिरेले प्रदेश केन्द्र भालुवाङ तोक्ने निर्णय अत्यन्त उपयुक्त भएको बताएका छन् ।
प्रतिनिधिसभा सांसद समेत रहेका नेपाली कांग्रेस बर्दियाका सभापति सञ्जय गौतम र पूर्वराज्यमन्त्री रहिसकेका रोल्पा पूर्वका सभापति अमरसिह पुनले पनि भालुवाङको नाममा आफूहरुको पूर्ण समर्थन रहेको बताएका छन् ।
“नेपाली कांग्रेसले पहिलेदेखि नै प्रदेश नम्बर पाँचको नाम र स्थायी राजधानी तोक्न पटक-पटक ध्यानाकर्षण गराउँदै आएको सर्वविदितै छ । हामीले सुरुदेखि नै प्रदेशको केन्द्र भालुवाङ हुनु पर्दछ भनेको स्मरण गराउँदै आएकोमा सोही स्थानलाई नै प्रदेश केन्द्र प्रस्ताव गरेकोमा प्रदेश नम्बर पाँच प्रदेश सरकारप्रति आभार व्यक्त गर्दछौं, ” उनीहरुले विज्ञप्ति जारी गर्दै भनेका छन् ।
प्रदेशको नाम र केन्द्र निर्णय गरी निणयार्थ प्रदेशसभामा पेश गरे लगत्तै यसको पक्ष र विपक्षमा बहसहरु चलिरहेकोप्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको पनि उनीहरुले बताएका छन् ।
सरकारी विज्ञ टोलीको सिफारिस, समन्यायिक विकास, प्राकृतिक श्रोतको न्यायिक वितरण, जनमतको कदर र संघीयताको मर्म र भावना अनुसार सबैलाई सुविधाजनक रहेको र सामरिक दृष्टिकोणले समेत अत्यन्त उपयुक्त रहेको भन्दै देउखुरीको भालुवाङलाई प्रदेशको राजधानी बनाउने प्रस्तावमा उनीहरुले पूर्ण समर्थन रहेको जनाएका छन् ।
यस विषयलाई कुनै पनि राजनीतिक दल तथा नेताहरुले व्यक्तिगत प्रतिष्ठाको विषय नबनाइ जनतालाई उत्तेजित बनाउने कार्य कहींकतैबाट नगराउन पनि उनीहरुले आग्रह गरेका छन् ।