कांग्रेसले प्रचण्ड-नेपाललाई विश्वास नै गरेन - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

कांग्रेसले प्रचण्ड-नेपाललाई विश्वास नै गरेन



काठमाडौं- विभाजित नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले पटकपटक आग्रह र बाचा गर्दापनि नेपाली कांग्रेस नेतृत्वले विश्वास गर्न सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेलगत्तैदेखि अहिलेसम्म संयुक्त आन्दोलनमा कांग्रेसको साथ् खोजेपनि कांग्रेसले भने अनेक बहानामा प्रचण्ड-नेपाल समुहलाई साथ दिएन ।

प्रचण्ड-नेपाल समुहले कहिले सभापति शेरबहादुर देउवा त कहिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई गरेको आग्रहमा कांग्रेस नेताहरूले चासो नै देखाएको छैनन् । संयुक्त आन्दोलनमा चासो देखाउन खोजेका नेताहरूलाई पनि सभापति देउवाले कहिले निवासमै बोलाएर त कहिले निवासमै पुगेर थम्थम्याउने गरेका छन् ।

यता प्रधानमन्त्री ओलीसंग साँठगाँठ गरेको आरोप खेपिरहेका सभापति देउवाले छलफल गर्न आएका प्रचण्ड-नेपाललाई पहिले पार्टीको कित्ता क्लिएर गर्न आग्रह गर्ने गरेका छन् ।

जताबाट पनि फाइदा देखेपछि सभापति देउवाले अलिअलि विरोध गरेपनि खुल्न भने चाहेका छैनन् । कांग्रेसका केहि नजिकका नेताहरूलाई पनि उनले परिस्थिति आफूअनुकुल भएकाले कडा रूपमा प्रस्तुत हुनुनपर्ने बताएका छन् ।

उनले चुनाव भएपनि सफलता आफूहरूलाई नै आउने र संसद पुनर्स्थापना भएपनि आफैलाई अवसर आउने बताएका छन् । उता ओलीको कदम र पेलानबाट आत्तिएका प्रचण्ड-नेपालले आन्दोलनका लागि संयुक्त मोर्चा बनाउने घोषणा गरेपनि कांग्रेसकै कारण मोर्चा भने नबन्ने भएको छ ।

सभापति देउवाले यसअघि प्रचण्डबाट पाएको धोकाकै कारण पनि प्रचण्डलाई साथ दिन चाहेका छैनन् । प्रचण्ड-नेपाल समूहसँग नजिक हुन नदिनकै लागि प्रधानमन्त्री ओलीले संवैधानिक आयोग देखि अन्य ठाउँमा देउवाको भाग छुट्याएका छन् ।

सडकमा एक्लै जाने

उता सोमबार कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस एक्लै सडक सङ्घर्ष गर्ने बताएका छन् ।

कांग्रेस जिल्ला कार्य समिति मोरङद्वारा आयोजित सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको पछिल्लो कदमको विषयमा सर्वोच्च अदालतमा पनि बहस भइरहेकाले सर्वोच्च अदालतले संविधानको मर्म एवं भावनानुसार फैसला सुनाउने विश्वास व्यक्त गरे ।

कांग्रेसका अर्का केन्द्रीय सदस्य अमृत अर्यालले संविधानका वैधानिक संरचना संरक्षण गर्न सरकार चुकेको छ भन्दै कांग्रेस आफ्नै बलमा सङ्घर्ष गर्न सक्षम रहेको बताए ।