फेरि सर्यो नेपाली कांग्रेसको अधिवेशन
काठमाडौं– नेपाली कांग्रेसको वडा अधिवेशन फेरि सर्ने भएको छ । कांग्रेस निर्वाचन समितिले तय गरेको वडा र पालिका अधिवेशन सार्ने पार्टीले संसोधन गर्ने भएको हो ।
मिति संशोधन हुने भएपछि कांग्रेसमा फेरि तनावको स्थिति बनेको छ । निर्वाचन समितिले वडा अधिवेशन १८ भदौ र स्थानीय तहहरुको अधिवेशन २७ भदौमा गर्ने तालिका सार्वजनिक गरे पनि पार्टीले सार्ने निर्णय गरिसकेको बताइएको छ । कांग्रेसका एक नेताका अनुसार यो तालिका संशोधन गर्ने निर्णय पार्टीले गरिसकेको छ ।
कांग्रेसले भदौ १८ देखि वडा अधिवेशन सुरु गरेर २३ गतेसम्ममा सक्नुपर्ने र पालिकास्तरीय अधिवेशन २७ भदौमा सुरु गरेर २९ गतेभित्र गरिसक्नुपर्ने निर्णय पार्टीले गरेको ति नेताले बताए । यो निर्णया पार्टीले गरेपछि तल्ला कमिटीमा विरोध सुरू भएको बताइएको छ ।
पार्टीले त्यसपछिका अधिवेशन भने आयोगले तोकेकै मितिमा गर्ने भएको छ। क्रियाशील सदस्यता विवरण सार्वजनिक भइनसकेको र कतिपय जिल्लामा व्यवस्थापन समस्या भएको भन्दै वडा र पालिका अधिवेशनको मिति परिवर्तन गरिएको बताइएको छ।
पार्टीले हालसम्म ५६ जिल्लाको मात्र क्रियाशील सदस्यको विवरण सार्वजनिक गरेको छ। निर्वाचन समितिका संयोजक महादेव यादवले भने वडा र पालिका अधिवेशन क्रमशः १८ र २७ भदौमै हुने बताउँदै आएका छन्। प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुनेछ।
यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १० देखि १२ कात्तिकसम्म र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म काठमाडौंमा हुँदैछ।
लामो रस्साकस्सीपछि कांग्रेसको महाधिवेशन हुने पक्का भएको थियो । अहिले कांग्रेसका नेताहरूले उम्मेदवारी दर्ता गर्ने र तयारी गर्ने अभियानमा छन्।