काङ्ग्रेस अभियान सुरु हुँदै – ‘ब्याच’ र ‘माला’ प्रतिबन्धित, कार्यक्रम नयाँ शैलीमा
काठमाडौँ -प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विभिन्न १५ उद्देश्यसहित भोलि (बुधबार)बाट देशैभर एकैसाथ जनजागरण अभियान सुरु गर्दैछ । काङ्ग्रेसको इतिहासमा नै नयाँ शैलीको कार्यक्रमको रूपमा लिइएको जनजागरण अभियानलाई काङ्ग्रेसले आसन र भाषणमुक्त गर्ने कार्यक्रमका रूपमा समेत लिएको
छ । देशैभर हुने कार्यक्रममा जम्मा तीन जना मात्रै वक्ता हुनेछन् ।
‘हिमाल, पहाड, तराई, मधेस, नेपाली काङ्ग्रेस’ नारासहित ७७ वटै जिल्लामा एकैसाथ एउटै समयमा अभियानको उद्घाटन हुने काङ्ग्रेसले जनाएको हो । बुधबार उद्घाटनका दिन भने प्रदेशका जिल्लामा प्रमुख नेताहरूले सम्बोधन गर्नेछन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनजागरण अभियानमार्फत काङ्ग्रेसले पार्टीका कार्यक्रमलाई नयाँ शैलीबाट अघि बढाउने बताए । उनले कार्यक्रमलाई सफल बनाउन आसन र भाषणलाई छोटो र छरितो बनाउने परम्पराको समेत अभियानमार्फत सुरुवात हुने बताए ।
यस्तै, काङ्ग्रेसले जनजागरण अभियानमार्फत आफ्नो पार्टीको कार्यक्रममा ‘ब्याच’ र ‘माला’लाई समेत प्रतिबन्ध लगाएको छ । पार्टीका कार्यक्रममा अनावश्यक रूपमा समय खर्च हुने भन्दै काङ्ग्रेसले कार्यक्रमबाट ‘ब्याच’ र ‘माला’मा प्रतिबन्ध लगाएको हो ।
काङ्ग्रेसले जनजागरण अभियानका क्रममा हुने कार्यक्रममा दीर्घजीवी विरूवा रोपेर र दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नेछ । यस्तै, कार्यक्रमका सभापति र प्रमुख अतिथिबाहेक अन्यलाई एकैपटक आसन ग्रहण गराउनेछ ।
काङ्ग्रेसले जागरण अभियानमा विभिन्न १२ भाषामा जागरण गीतसमेत प्रस्तुत गरी समावेशी दलका रूपमा आफूलाई चिनाउदैछ । मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा भाका र नेपाली भाषा गरी फरक १२ भाषामा जागरण गीत बजाइने काङ्ग्रेसले जनाएको छ ।
काङ्ग्रेस प्रवक्ता शर्माका अनुसार पहिलो चरणको जागरण अभियान २५ वैशाखबाट २५ जेठसम्म गरी एक महिने कार्यक्रम ७७ वटै जिल्लामा सञ्चालन गरिनेछ । पहिलो चरणको कार्यक्रमका लागि ७७ वटै जिल्लामा केन्द्रीय तहका नेता सहभागी हुनेछन् तर पार्टीका सांसदहरू भने कार्यक्रममा सहभागी नहुने काङ्ग्रेसले जनाएको छ । काठमाडौँमा हुने कार्यक्रमको नेतृत्व भने सभापति शेरबहादुर देउवाले गर्नेछन् ।