नेकपाका नेता सहित ६ सय भन्दा बढी काँग्रेसमा प्रवेश - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

नेकपाका नेता सहित ६ सय भन्दा बढी काँग्रेसमा प्रवेश



सिन्धुली । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तथा अन्य पार्टी परित्याग गरी ६३५ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । सिन्धुलीको मरिण गाउँपालिकास्थित कपिलाकोटमा भएको कार्यक्रममा उनीहरुलाई पार्टीमा भित्र्याइएको हो ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुलीले आयोजना गरेको मरिण गाउँपालिका स्तरिय सभामा विभिन्न वडाका ६३५ जना नेपाली काङ्ग्रेसमा प्रबेश गरेका हुन् ।

कांग्रेसमा प्रवेश गर्नेलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले अबिर लगाइदिएर स्वागत गरे भने केन्द्रीय सदस्य गगन थापाले खादा लगाइदिएर स्वागत गरे ।

प्रवेश गर्नेहरु प्रायः माओवादीका पूर्व लडाकु, सशस्त्र द्वन्द्वमा प्रभावित परिवारका सदस्य, स्थानिय राजनीतिक क्षेत्रमा सम्बद्ध नागरिकहरु छन् ।

करिब २०० जनाको नेतृत्व गर्दै नेकपा परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका माओवादी पूर्व लडाकु हरिहरपुरगढी गाउपालिका २ का तेजबहादुर घिमिरे बिकले भने ‘कम्युनिष्टले हामीलाई रित्तिएको सिँउदो, टुहुरा बालबच्चा र खोसिएको खुशी बाहेक अरु केही दिन सकेन ।’

राजनैतिक परिबर्तन र समृद्ध मुलुक निर्माणका लागि भनेर छानीछानी युवा जोश र शक्तिलाई तरबार, गोली र खुकुरीमा समाहित गर्ने कम्युनिस्ट नेपाली जनताको हित र संरक्षणका लागि घातक भएको नबप्रबेशी तेजबहादुर घिमिरे बिकले बताए ।

सोही वडा हरिहरपुरगढी – २ रतनपुरका बिश्व राई पनि सोही बृहत् भेलामा करिब ११५ जनाको नेतृत्व गर्दै नेपाली काङ्ग्रेसमा प्रबेश गरे । पेशाले पुर्बसैनिक बिश्व राइले काङ्ग्रेसमा प्रबेश गर्दै भने, ‘कम्युनिस्ट भ्रष्टहरुको संगठन रहेछ ।’

स्थानिय स्तरमा निर्माण हुने उपभोक्ता समितिदेखि सिंहदरबार सम्म भ्रष्टाचारको जालोमा लिप्त कम्युनिस्टले मुलुकको समृद्धि बन्ने शब्द भजाएर ब्रम्हलुट मच्चाएको राइको आरोप छ ।

उनी भन्छन् ‘गाउँगाउँमा सिंहदरबार त नारामा मात्रै सिमित भयो । दरबार कम्युनिस्टको खल्तिमा मात्रै भयो गाउँ गाउँमा त सिंह मात्रै आइपुग्यो ।’

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रलाई बचाइराख्न सबैसङ्गको हातेमालो आवश्यक रहेको बताए । सहमति, सहकार्य र एकताले मात्रै लोकतन्त्र स्थिर हुने पौडेलको दाबी छ ।

कम्युनिस्ट सरकारको काम गराइ र उसको आचरणशैली बाटै नेपाली जनताले मुल्यांकन गरिसकेको जनाउदै पौडेलले निरंकुसतर्फ उन्मुख यो सत्तावाद कुनैपनि हालतमा नेपाली कांग्रेसलाई स्वीकार नहुने बताए ।

गगन थापाले उक्त सभालाई सम्बोधन गर्दै भने, ‘मुठ्ठी कसेर आएको कम्युनिष्टले संविधान दिन सकेन । माओवादी उदण्ड थियो एमाले लोभी थियो त्यसैले संविधान बनेन कांग्रेसले संविधान दियो ।’

उनले भने, ‘यदि संविधानमा माओवादीलाई नल्याएको भए यतिबेला विप्लव मात्र हैन प्रचण्ड पनि जंगल तिरै भेटिन्थे । त्यसैले कांग्रेसले आफू हार्‍यो देश हार्न दिएन ।’