सांसदहरूलाई कांग्रेसको निर्देशन: काठमाडौं बाहिर नजानु - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

सांसदहरूलाई कांग्रेसको निर्देशन: काठमाडौं बाहिर नजानु



काठमाडौं- नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई काठमाडौं बाहिर नजान निर्देशन दिएको छ ।

फागुन २३ गते संसद बैठक बोलाइएको सन्दर्भमा जुनसुकै बेला उपलब्ध हुनुपर्ने भन्दै सांसदहरूलाई काठमाडौंमै रहन निर्देश गरिएको हो । संसदमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न शुक्रबार कांग्रेस संसदीय दलको बैठक बोलाइएको छ ।

कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले अनौपचारीक रुपमै काठमाडौं बाहिर नजान र नगई हुने अवस्था भए परामर्श गर्न सांसदहरुलाई खबर गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा , वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइराला आज पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जली सभामा सहभागी हुन चितवन पुगेका छन् ।

पछिल्लो पटक नेकपाको प्रचण्ड-माधव पक्षले प्रधानन्त्री ओलीविरुद्ध संयुक्त अविश्वास प्रस्ताव दर्ता गराउन कांग्रेससामु प्रस्ताव राखेको छ । चितवनमै रहेका कांग्रेस शीर्ष नेताहरूबीच यस विषयमा छलफलसमेत हुने जनाइएको छ ।

संयुक्त अविश्वास प्रस्तावमा सहमति जुटेको खण्डमा आवश्यक पर्ने भएकाले सांसदहरूलाई काठमाडौं नछाड्न अनौपचारिक रुपमा कांग्रेसले निर्देशन दिएको हो ।

प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् । जसमध्ये विजयकुमार गच्छदार र मोहम्मद अफताब आलम निलम्बित अवस्थामा छन् ।