कांग्रेस र लोसपाले लगाए ह्विप - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

कांग्रेस र लोसपाले लगाए ह्विप



काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको पक्षमा रहेको नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई आज बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।

कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार कांग्रेसले आफ्ना ६३ मध्ये ५९ सांसदलाई अनिवार्य उपस्थितिका लागि मोबाइलको एसएमएसमार्फत निर्देशन दिएको छ । कांग्रेसका दुई सांसद निलम्बनमा परेका छन् भने दुई जना उपचारका लागि विदेशमा छन् ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी एमसीसीको विपक्षमा अघि बढेपछि कांग्रेसले एमसीसीको पक्षमा उभिन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग पनि संवाद गरिरहेको छ ।

काग्रेससँगको छलफलमा एमालले आफ्ना माग पूरा भएपछि मात्र संसद् अवरोध नगर्ने र एमसीसीबारेमा निर्णय लिने बताए पनि एमाले नेतृत्वले एमसीसीको पक्षमा नै वकालत गरिरहेको छ ।

अर्का सत्ता साझेदार दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि एमसीसीको पक्षमा रहेको जनाउँदै संसद् बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ । संसद्मा लोसपाका १३ जना सांसद छन् ।

लोसपा सांसद चन्दा चौधरीका अनुसार बुधबार बसेको पार्टी संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । एमसीसी सम्झौता संसद्बाट पारित गर्न कांग्रेस, एमाले, लोसपालगायतका दलहरू सकारात्मक भएपछि माओवादी र एकीकृत समाजवादी पार्टीमाथि दबाब बढेको छ ।