कांग्रेसमा तीव्र विवाद: देख्दा सानो तर जटिल - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कांग्रेसमा तीव्र विवाद: देख्दा सानो तर जटिल



काठमाडौं । नेपाली कांग्रेसभित्र अनुशासन समिति गठनको विषयमा विवाद देखिएको छ ।  अनुशासन समिति गठनका लागि बिहीबार बोलाइएको बैठक बेलुकासम्म पनि सुरु नभएपछि अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

अनुशासन समिति गठनको विषयमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र ‘तेस्रो धार’ को नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौलाबीच मतान्तर देखिएको कांग्रेस केन्द्रीय सदस्य स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार पाँच सदस्यीय समिति गठनका लागि सभापति देउवाले वरिष्ठ नेता पौडेललाई दुई सदस्यको नाम दिन आग्रह गरेका थिए । तर पौडेलले समितिको संयोजक कसलाई बनाउने भन्ने बारेमा छलफल हुनुपर्ने अडान राखेर नाम उपलब्ध गराएका छैनन् । देउवाले संस्थापन पक्षबाट भिष्मराज आङदम्बे, किशोरसिँह राठौर र वीरबहादुर बलायरलाई समितिमा राख्न चाहेको स्रोतको भनाइ छ ।

‘‘वरिष्ठ नेताले अनुशासन समितिको संयोजक वरिष्ठ व्यक्तिलाई बनाउनुपर्ने र त्यसका लागि सभापति र आफूबीच छलफल हुनुपर्ने अडान राख्नुभयो,”एक नेताले भने, ‘‘सभापतिले संयोजकका बारेमा किन छलफल गर्ने तपाईं दुई जना सदस्यको नाम दिनुस् न भनिरहनुभएको छ ।’’

अनुशासन समिति गठनका विषयमा नेता सिटौलाको छुट्टै धारणा देखिएको छ । उनले केन्द्रीय कार्यसमितिको बैठकबाट गठन भएको केन्द्रीय सदस्य रमेश रिजाल संयोजकत्वको समितिलाई पहिले विघटन गरेर मात्रै पुनर्गठन गरिनुपर्ने तर्क गरिरहेका छन् ।

रिजालको संजोजकत्वमा रहेको अनुशासन समिति विघटन नगरेर पुनर्गठन गर्न नमिल्ने सिटौलाको भनाइ रहेको स्रोतले जानकारी दिएको छ ।

रिजालको संयोजकत्वमा गठन गरिएको उक्त समितिमा हृदयराम थानी, कमला पन्त, सुरेन्द्र पाण्डेय र उमाकान्त चौधरी सदस्य थिए ।  जसमध्ये रिजालले पदबाट राजीनामा दिइसकेका छन् भने थानी र पन्तले समितिमा नबस्ने बताइसकेका छन् । यसैगरी नेता पाण्डेयले आफू राष्ट्रियसभामा प्रतिपक्षी दलको नेता भइसकेकाले समितिमा बस्न नसक्ने बताएका छन् ।

स्रोतका अनुसार नेता सिटौला अनुशासन समिति विघटन गर्ने निर्णय केन्द्रीय कार्यसमिति बैठकबाट नगर्ने भए रिजाल संयोजकत्वमा गठित समितिमा रहेका एक्ला सदस्य चौधरीको संयोजकत्वमा पूर्णता दिनुपर्ने पक्षमा देखिएका छन् ।  ‘‘कि त पहिला समिति भंग गर्ने निर्णय गरिनुपर्छ । होइन भने समितिमा बाँकी रहेका उमाकान्त चौधरीको संयोजकत्वमा समितिलाई पूर्णता दिनुपर्छ भन्ने अडान राख्नुभएको छ,” स्रोतले भन्यो ।

यसअघि भदौ २२ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक तयारी नपुगेको कारण देखाएर बिहीबारका लागि सारिएको थियो ।