आज ओलीको कदमविरुद्ध कांग्रेसको देशव्यापी आन्दोलन
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको देशव्यापी आन्दोलन गर्दैछ । आज शनिबार देशभरका सबै निर्वाचन क्षेत्रमा कांग्रेसले प्रदर्शन गर्न थालेको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा पुस १९ गते बसेको केन्द्रीय समिति बैठकले आज (पुस २५ गते) ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
यस्तै विरोधका कार्यक्रम अन्तर्गत नै माघ ३ गते ७५३ वटै स्थानीय तह र माघ ८ गते देशहरुका सबै ६ हजार ७४३ वटै वडाहरूमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।
गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद विघटन गरिएपछि कांग्रेसले यसको विरोध गर्दै आएको छ । पुस १३ गते पनि उसले देशका १६५ वटै निर्वाचन क्षेत्रमा सरकारविरुद्ध प्रदर्शन गरेको थियो । यद्यपी कांग्रेसको अर्को केन्द्रीय समिति बैठक भने माघ ६ गते बस्ने भएको छ ।
यस्तै अन्य प्रतिपक्षी दल र नेकपाको प्रचण्ड माधव समूहले पनि यसको विरोधमा कार्यक्रमहरु गरिरहेको छ भने ओली समूहले प्रतिवाद गर्दै आइरहेको छ ।