कामरेड ! के सत्ताले अन्धो बनाएको हो ? - Himal Post Himal Post
  • ५ बैशाख २०८२, शुक्रबार
  •      Fri Apr 18 2025
Logo

कामरेड ! के सत्ताले अन्धो बनाएको हो ?



– उमेश बन्जाडे

यतिखेर विभिन्न स्थानमा विरोध स्वरूप हुने गरेका नाराजुलुसले काठमाडौँको पारो चढेको छ। यसले धेरै माननीयहरुको प्रेसर पनि ह्वात्तै बढेको छ । इतिहासकै शक्तिशाली सरकारलाई नंग्याउन यस्ता कार्यहरू भइरहेको सरोकारवाला को ठहर छ । ठ्याक्कै यतिनै बेला नयाँ युगमय भएको छ काठमाडौँ । अलि अस्तिसम्म काठमाडौँका भित्ता र बिजुलीका खम्बाहरू नयाँ युगको घुम्टो ओढेर भर्खरै भित्र्याएकी दुलही झैँ चिटिक्क देखिन्थे। रुचाएर हो वा खिस्साएर, सडक छेउछाउ आवतजावत गर्ने जनतातिर फर्किएर सरकार भित्ताबाटै मुसुक्क मुस्कान छाड्दै थियो। विगतमा किन बिजुलीका खम्बा कोपर्दै हिँड्या होलान् भन्या त यसरी टाँसिन नपाएरै रहेछ जस्तोपनी लाग्छ। केही दिनको अन्तरालमा पोलमा झुन्डिएको त्यो नयाँ युगपनि प्राय ठाउँहरूबाट भुइँमा लत्रिएको दृश्य हामीले अस्ति नै देखिसक्यौँ। यसले पनि काठमाडौँको गिदि झनै रन्किएको अनुमान सहजै गर्न सकिन्छ। शक्तिशाली सरकार गहन रुपले समृद्धिको बाटोमा हिँडिरहेको जिकिर सत्ताको भत्ता थापेर गफ्फा चुट्नेहरु गरिरहेका छन् । यस्तो बेलामा केही निमुखा, टुहुरा वा झारपात नेपालीको कुरा गौण हुनपनि सक्छ । वा यस्ता कुराहरू महत्त्वहीन हुन पनि सक्छन् । र यसले खासमा क्रान्तिकारी माननीय ज्युहरुको प्रेसर ह्वात्तै बढाउन पनि सक्छ। यसका लागि क्षेमा दिनुहोला। कृपया नजिकैको औषधालयसम्म धाएरै भएपनी ओखती सेवन गर्नुहोला। औषधि किन्ने पैसा मैले पठाएको रेमिटेन्स र घरपरिवारले तिरेको कर’बाटै मिलाउनु होला। यो एउटा सानो भुइँमान्छेको तपाइँलाई निशुल्क सुझाव हो।

धेरै भएको छैन: नेपालका खुङ्खार क्रान्तिकारीले सत्ताको तरबार नचाएर आफ्नै उन्मुक्त सपनाहरू छप्काएउन थालेको । पुरातनको अन्त्य र नुतनताको पदार्पणमा प्रतिबद्ध ठहर्‍याएका ती मान्छेहरु गाउँ छाडेर शहर त पसे । तर पुरानै सत्ताको रसातलमा देख्नेले समेत जिब्रो टोक्नेगरी पलेटी कसेर बसे। बेथितिको डँगुरमा अगुल्टो झोस्न भनी राजधानी र सदरमुकाम छिरेका राता मान्छेहरु उल्टै पश्चगमनको त्रीशुलले डामिएर आफै हरियो भए। खबरदारी गर्दागर्दै पनि भिरतिरै हुत्तिदैँ गए। आज आफ्नाहरु बिर्सिए र मास्न भनी गएकाहरुसँग गझधम्म अँगालो हालेर बसेका छन्। रतन्धो लागेको कानुन च्यात्न भन्दै काठमाडौँ छिरेका लाल नेताहरु उही अदालतको गोठमा बाँधिएर मान्छेकै विरुद्ध हुने परमादेशका पक्षमा हत्केला पुत्याउजेल ताली पट्काइ रहेकाछन् । तुलनात्मक रुपले परिस्थिति आज भिन्दै भएको छ। देशका आम उत्पीडित समुदायमाथी हैकम जमाउँदै कजाएर खानेहरु फेरि एकपल्ट हौंसिएकाछन् । त्याग, संघर्ष, क्रान्ति, मुक्ती र परिवर्तनलाई भजाएर खानेहरु सत्तामा मन्सिएका छन् । जनताको त्याग तपस्या र बलिदानबाट प्राप्त व्यवस्थामा यी नवढनाढ्यहरुको हालीमुहाली छ। बाघको छालामा हावि हुँदै गएको स्यालको रजाइँले मुलुक कहिले उँभो लाग्ला ?

देशमा अहिलेको जुन व्यवस्था छ, यो केपि ओलि चौध वर्ष जेल बसेर आएको व्यवस्था होईन । न शेरबहादुर देउवाले हिटरमा पिसाब फेरेर ल्याएको परिवेश हो। यो त, पुसको तीखो ठिहिमा शरीरभरि गोलिका छर्रा बोकेर, माइतीघर मण्डलाबाट औषधिमुलो मागिरहेका योद्धाहरुको विरताको नाशो हो। उनीहरुको त्याग र समर्पणको देन हो। उनिहरुले रणमैदानमा रगत बगाउँदा ‘केटाकेटी आए, गुलेली खेलाएर गए’ भन्दै, तुच्छ व्यंग्य गर्नेहरुले तिलाञ्जलि छर्किएर राजतन्त्रलाई चोख्याउँदै गणतन्त्र बनाएको पक्कै होईन । बरु तारे होटलको विदेशी रक्सीमा लठ्ठीएर जनताको विद्रोहलाई धारेहात लगाउनेलाई चुनौती दिँदै आम उत्पीडित वर्गको अथाह संघर्षले प्रदान गरेको व्यवस्था हो। भलै आंशिक उपलब्धि मात्रै प्राप्त किन नहोस्, कुर्सीका लागि राजाको पैताला मुसार्ने गतिछाडाहरुलाई लोप्पा खुवाउँदै, उनै माइतीघर मण्डलामा अनशनरत जनमुक्ति सेनाले लडेर ल्याएको संघिय गणतान्त्रिक नेपाल हो । यति सुन्दा उतिबेला राजाको नजरबन्दमा विलौना गरिरहेका माननीय ज्युका सुसारेहरुलाई पिरो लाग्छ भने लागोस। जाडो बढेको छ – कृपया एक कप गुलियो चिया पिउनु होला।

देशलाई एउटा अँध्यारो कुना बाट मुक्ति दिलाएर यहाँसम्म ल्याएकोमा सम्भवत नेपालका सवै राजनैतिक दलले जनमुक्ति सेनालाई सम्मान गर्नुपर्ने हो। अझ त्यसमा पनि आफुलाई कम्युनिष्टको मसिहा ठान्नेहरुकै बहुमत सहितको सरकार रहेको बेला देशको लागि लडेका योद्धाहरुले उचित स्थान पाउनु पर्ने हो। यद्यपि आफ्नो इतिहासप्रती गौरवान्वित हुनुपर्ने ठाउँमा माइतीघर मण्डलामा पसारिएर पश्चाताप मान्दै आफ्नै थाप्लो हिर्काउनु परिरहेको छ। अहिले रामबहादुर थापा ‘बादल’ को ठाडो आदेशमा उनीहरुलाई प्रहरीले वीर अस्पताल पुर्‍याएको खबर आएकोछ। भनिन्छ नि: ‘जहाँ पावर मालिक बन्छ, त्यहाँ न्याय नोकर बन्छ।’ त्यसको सजिव उदाहरणको लागि वर्तमान काफी छ। मात्रै चौतर्फीबाट पिडित मातृभुमिको लाम्टा चुसेर रमाउनेहरुको बर्चस्व देखियो। जतिसुकै परिवर्तनको ढ्याङ्ग्रो ठटाए पनि जनताको रगत, पसिना चाटेर तृष्णा मेट्नेहरुको बाहुल्यता भेटियो। देशका लागि लड्नेहरुको त झिनो अभिलाषा समेत मेटियो।

ठिकै छ, अन्यदल र नेताहरु त पराई नै भए। उनिहरुबाट आशा गर्नुपर्ने ठाउँपनि रहेन। तर उनै जनमुक्ति सेनालाई सत्ताको लिस्नो बनाएर बार्दलिमा उक्लिएका नामुद क्रान्तिकारी नेताहरुले त सोँच्नु नि ! हिजो भएजतिका आश्वासन बाँडेर दुश्मनका बंकरमा घुचिट्नेहरुको त अलिकति मन पग्लिनु नि ! हरेकपल ज्यानको बाजि लगाएर पहरा दिँदै, ढिँडो देखि चौरासी व्यञ्जनसम्म पुर्‍याउने सहयात्रीहरुको घाउ आफ्नै अभिभावक ठहरिएकाले नदेखे अर्को कस्ले देख्नु ? के तिम्रो कञ्चट ताकेर आएको गोलि छेक्दा करङपाता उध्रीएका कामरेडहरु औषधि माग्न अन्तै जानुपर्ने ? वा तिमिले युद्धको ब्याज असुली रहँदा उनिहरु भोकभोकै मरिदिनु पर्ने ?

कि भनिदिनु पर्‍यो: ‘सत्ता नामको धङधङीले भेटेपछि मान्छेमा अन्धोपन हावीहुन्छ। त्यसैले हामीले देख्न सक्दैनौं’ भनेर। होईन आँखा देख्छौ र कानले सुन्छौ नै भनेत करोडौंका तिम्रा गाडिले हिलोछ्याप्दै हिँडेका विगतका प्रीय अनुहारहरु देख्नु पर्‍यो, समस्याको निराकरण गर्नुपर्‍यो । तिमिले उन्मुक्तिका सपनाहरुको ब्यापार गरेर अँध्यारो कोठामा गनिरहेको जितौरी धनले के साँच्चिकै युद्धको गहिरो घाउ ओभानो होला त ? प्रीय नेतृत्व महोदय ! यदी थोरैमात्र नैतिकता जिउँदै छ भने, तिम्रा हत्केलामा घोरिएर हेर ! तिमि ठाँटिएका कमिज र टाइसुटहरुमा नियाल ! कतै शहिद, बेपत्ता र घाइते योद्धाहरुको रगतका टाटाहरु लागेका हुनसक्छन् ! तिमि त त्यसै अग्ला भइसक्यौ ! सग्ला रहेका हामिहरु बरु खाँडिमै पसिना बेचेर रोटि किनौंला ! तर दुनियाँलाई तमासा देखाएर ती घाइते तथा अपांग योद्धाहरुलाई बिचल्लीमा नपार ! अन्यथा भुसमा सल्किएको आगोको परिणाम भयानक हुनसक्छ ! र, डढाउन सक्छ त्यो आगोले तिम्रै सत्ताको सिरान पनि !

-पुर्व जनमुक्ति सेेेना, लमही दाङ, हाल: परदेश