कम्युनिष्ट गठबन्धन लोकतन्त्रका लागि ठूलो खतरा :डा.महत - Himal Post Himal Post
  • २४ पुष २०८१, बुधबार
  •      Wed Jan 8 2025
Logo

कम्युनिष्ट गठबन्धन लोकतन्त्रका लागि ठूलो खतरा :डा.महत



काठमाडौं /कात्तिक १८

नेपाली कांग्रेसका नेता डा रामशरण महतले कम्युनिस्ट गठबन्धन लोकतन्त्रका लागि ठूलो खतरा भएको बताएका छन् ।
आगामी निर्वाचनमा नुवाकोट क्षेत्र नं १ बाट कांग्रेसका उम्मेद्वार रहेका डा महतले बर्षौं लगाएर स्थापित जनताका अधिकारलाई बाम गठबन्धनले खतरामा परेको धारणा राखेका छन् । सुन्दरादेवी नुवाकोट–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै महतले यस्तो खतरा औंल्याएका हुन् ।

महतले कम्युनिस्ट गठबन्धन छिटै विघटन हुने क्रममा रहेको बताउँदै भने, यो भ्रम धेरै टिक्नेवाला छैन । उनले भने, एमाले तथा माओवादीहरु संसदबाद, बहुलवाद, स्वतन्त्र प्रेस, स्वतन्त्र न्यायालय, मानव अधिकार, उदार आर्थिक नीति जस्ता कांग्रेसका आर्थिक तथा राजनीतिक एजेण्डामा लगभग आइसकेका छन भनेको त फेरि उनीहरु कम्युनिष्टको नाममा गठबन्धन गरिरहेका छन र यो लोकतन्त्रका लागि ठूलो खतरा हो । विश्व राजनीति तथा आर्थिक परिवेशमा आएको परिवर्तनलाई उनीहरुले मनैदेखि स्वीकारेको देखिएन ।

जनतालाई यी अधिकार दिलाउन कांग्रेसले ठूलो त्याग तपस्या, बलिदान गरेको उल्लेख गर्दै महतले यी अधिकारहरु कुण्ठित गर्ने कुनै पनि गतिविधिहरु कांग्रेसलाई असह्य हुने बताए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन गरेलगत्तै आगामी दश बर्षभित्रमा साम्यबाद ल्याउने उद्घोष गरेको प्रसंग उल्लेख गर्दै उनले भने, अधिकार कुनै हालतमा खोस्न पाइदैन । संसारबाट लोप भैसकेको कम्युनिष्ट शासन व्यवस्था नेपालमा कसैले स्वाकार्ने छैन । जनताले कम्युनिष्ट शासन व्यवस्था ल्याउनेमा मत दिदैनन् । तर गठबन्धनभित्रको अन्तर्यका बारमा जनतालाई स्पष्ट कुरा भनिदिनुपर्छ ।

पार्टी कार्यकर्ताहरुलाई आक्रामक नहुन निर्देशन दिदै महतले भने, तपाईहरु धेरै आक्रामक पनि नहुनुस । जनतासँग भन्ने कुरा नहुनेले मात्र आक्रामक शैली अपनाउछ । नेपाली कांग्रेसले जनता र देशको लागि गरेका कामहरु हाम्रा पुँजी हुन र तिनै कुराहरुका बारेमा जनतालाई जानकारी दिदा नै पर्याप्त भैहाल्छ । उहाँका अनुसार कांग्रेसले लोकतन्त्र, बहुलवाद, जनताका अधिकार, महिला तथा जात जातिका अधिकार, सामाजिक न्याय लगायत आर्थिक परिवर्तन र रुपान्तरणका क्षेत्रमा गरेका कामहरुको लामो फेहरिस्त छ । हामीले गरेका कामहरु र उपलब्धिहरुको कसैसँग तुलना हुन सक्दैन ।

डा महतले २०४८ सालमा कांग्रेस सरकारले शुरु गरेका उदार आर्थिक नीतिका कारण अर्थतन्त्रको आधुनिकीकरण भएको र माओवादी हिंसा र राजनीतिक अस्थिरताका बीच उल्लेखनीय उपलब्धिहरु हासिल भएको बताए। महतको भनाई थियो, सामन्तवादी संरचनालाई रुपान्तरण गरी आधुनिक अर्थतन्त्रको जग हामीले नै हालेका हौं । हिजोको कुन अवस्थाबाट हामी यस अवस्थामा आएका हौ भन्ने बुझ्न जरुरी छ । तथ्यांक पेस गर्दै उनले भने, उदार आर्थिक नीति अवलम्वन गरी स्वदेशी विदेशी पुँजी आकर्षित गरिएपछि अर्थतन्त्रमा ठूलो विस्तार आएको छ । शिक्षा, स्वास्थ्य, बैंक तथा वित्तीय संस्था, विमान कम्पनी, सञ्चार सेवा, सडक यातायात, शुद्ध खानेपानी, विजुलीबत्तीमा पहुचमा विस्तार आएको छ । आर्थिक गतिविधिमा आएको विस्तारसँगै राजस्व असूली बढेको छ । ४८ सालमा वार्षिक १२ अर्बको राजस्व रहेकोमा अहिले ७ सय अर्बभन्दा बढी उठ्न थालेको छ र यही रकमलाई गाउँको विकासमा खर्च गर्ने गरिएको छ । ४८ सालमा ७ हजार किमी सडक रहेकोमा अहिले सबै किसिमका सडकहरुको हिसाव गर्दा ८० हजारभन्दा बढी मोटरबाटो बनिसकेको छ । सेवा विस्तारसँगै जनताको औषत आयु ५४ बर्षबाट बढेर ७१ बर्ष पुगेको छ । यो सबै कांग्रेसकै नीतिका कारण संभव भएको हो ।

बहुलबाद र आर्थिक उदारिकरणको नीतिका विरुद्ध कोही जान नसक्ने बताउँदै उनले यस्तो असान्दर्भिक उद्देश्य पूरा गर्ने धेयका साथ गरिएको गठबन्धन टिकाउ नहुने ठोकुवा गरे । महतको भनाइ थियो, गठबन्धनबाट डराउनुपर्दैन । तर लोकतन्त्र र जनताका अधिकार जोगाउनेमा खतराचाहि छ । जनतालाई भन्नुहोस, उनीहरुलाई सजग गराउनुहोस । गाउँ गाउँमा गएर भन्नुहोस, अव फेरि नयाँ नयाँ बाहना खोजेर जनतालाई दिग्भ्रमित पार्नेहरुबाट सचेत हुनुपर्छ । अव आर्थिक समुन्नतिको बाटोमा जानुपर्छ । आफ्नै जीवनकालमा समृद्धिको उचाई खोज्नुपर्छ । । यसका लागि कांग्रेसले लिएको बाटो नै सही छ ।