साढे ७ अर्ब करछलीमा फस्यो कोकाकोला - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

साढे ७ अर्ब करछलीमा फस्यो कोकाकोला



बहुराष्ट्रिय कम्पनी कोकाकोलाको नेपाली कम्पनी बोटलर्स नेपाल तथा यसका विदेशी लगानीकर्ताविरुद्ध कर छलीको मुद्दा दायर भएको छ।

राजस्व अनुसन्धान विभागले शुक्रबार उच्च अदालत पाटनमा बोटलर्स नेपालको शेयर किनबेच हुँदा रु. ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ कर छली भएको आरोप लगाउँदै सोही रकमलाई बिगो कायम गरी मुद्दा दायर गरेको हो। बिगो रकमको शतप्रतिशत जरिवाना गरी कुल रु. ७ अर्ब ४३ करोड ६३ लाख असुलउपर गर्न माग गरिएको छ।

राजस्व अनुसन्धान विभागको एक वर्षभन्दा लामो अनुसन्धानले २०७१ सालमा बोटलर्स नेपालको शेयर खरिदविक्री गर्दा भएको लाभमा कर नबुझाएको भेटेको थियो। कर छलीको आशंकामा २३ मंसीर २०७७ मा विभागले बोटलर्स नेपालमा छापा मारेर कागजात कब्जा गरेको थियो।

बोटलर्स नेपाल लिमिटेडमा अधिकांश शेयर स्वामित्व रहेको दुबईस्थित कम्पनी कोकाकोला साब्को एशियाको शतप्रतिशत शेयर ७ कात्तिक, २०७१ मा आयरल्यान्डस्थित युरोपियन रिफ्रेसमेन्टलाई बिक्री गर्दा राजस्व चुहावट भएको विभागको दाबी छ। नेपाली कम्पनी बोटलर्स नेपाल लिमिटेडसँग सम्बन्धित कम्पनी विदेशमै बिक्री गरेर नेपालमा कर छली गरिएको भेटिएको थियो।

कोकाकोला साब्को र यूरोपियन रिफ्रेसमेन्टबीच शेयर कारोबार हुँदाको समयमा वोटलर्स नेपाल लिमिटेडको प्रतिकित्ता शेयरको स्वतन्त्र बजार मूल्य रु. ३ हजार ८८३ हुने र सोमा कोकाकोला साब्कोको प्रतिकित्ता शेयर खरीद मूल्य रु. ५३६ लाई लागतको रुपमा घटाउँदा हुन आउने रकम रु. ३ हजार ३४७ प्रतिकित्ता पूँजीगत लाभ षहुने अनुसन्धानले देखाएको विभागले जनाएको छ। सोही लाभमा कम्पनीले पुँजीगत लाभकर नतिरेको भेटिएको हो।

बोटलर्स नेपाल लिमिटेडमा ७६ प्रतिशत शेयर स्वामित्व विदेशी लगानीकर्ताको छ। २२ प्रतिशत शेयर स्वामित्व गोरखा ब्रुअरी र २ प्रतिशत लगानी सर्वसाधारणको छ। विदेशी स्वामित्वको शेयर विदेशमै किनबेच गर्दा नेपालको आयकर ऐन, २०५८ अनुसार २५ प्रतिशत पुँजीगत लाभकर छली भएको विभागको दाबी छ।