...अनि त्यसपछि प्रचण्डलाई नचिढ्याउने निष्कर्षमा पुगे कांग्रेस नेताहरू - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

…अनि त्यसपछि प्रचण्डलाई नचिढ्याउने निष्कर्षमा पुगे कांग्रेस नेताहरू



गत फागुनको तेस्रो साताको अन्तिमतिर नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दुवैलाई हात्तीको कानमा चमेरो बस्न आएको भन्दै कसिलो व्यंग्य प्रहार गरे । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा स्वयं उपस्थित भएको कार्यक्रममा सत्ता गठबन्धनका दलहरूलाई नै यसरी प्रहार गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक रूपमै आफूले अपमानित महसुस गरेको अभिव्यक्ति दिए ।

त्यसलगत्तै देउवासँग भएको भेटमा प्रचण्डले भने – ‘तपाईंले आफ्ना नेताहरूको बोलीमा लगाम लगाउनु पर्यो । यदि हाम्रो यस्तै अपमान हुँदै जाने हो भने चुनावमा गठबन्धन गर्न असम्भव रहन्छ । केपी ओलीले उसै पनि हाम्रो गठबन्धन तोड्ने प्रयास गरिरहेका छन् । ओलीलाई फाइदा हुने गरी बोल्न बन्द गरिनुपर्छ ।’

प्रचण्डको यो गुनासोलाई देउवाले सिरियसली लिए । अनि त्यसपछि केन्द्रीय कमिटीको बैठक र अन्य सार्वजनिक समारोहमासमेत देउवाले गठबन्धन गरेरै अघि बढ्नुपर्ने धारणा राखे । बैठकहरूमा त देउवा र शेखरबीच नोकझोक नै हुन थाल्यो । गत चैत १२ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा देउवाले भने, ‘प्रधानमन्त्री बनाउने साथीलाई अहिले मैले गेट आउट भन्न मिल्छ ? प्रधानमन्त्री बन्नु गल्ती हो भने भन्नुस् ।’

कोइरालाले गठबन्धन गर्दै गए कांग्रेस भारतीय कांग्रेस जस्तै पत्तासाफ हुने चिन्ता व्यक्त गरेका थिए । देउवाले पटक-पटक पाँच दलीय गठबन्धनलाई चुनावसम्मै लैजाने अडान राख्न थालेपछि कोइराला समूहका नेताहरू एक-कदम पछि हटेका छन् ।

प्रचण्डले केही दिनअघिको गठबन्धनको बैठकमा आफ्ना नेताहरू एमालेसँग निरन्तर वार्तामा रहेको खुलासा गरे । गठबन्धनका लागि कांग्रेस नेताहरू इमान्दार नभएको आरोप लगाउदै प्रचण्डले कांग्रेसले यस्तै गरेर अपमान गर्दै गए एमालेसँग मिलेर चुनाव लड्ने संकेत गरेका थिए ।

एमालेकै नेताहरूले पनि उनीहरू माओवादीसँग संवादमा रहेको स्वीकार गरेका छन् । यसको छनक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धनको बैठकमा दिएका थिए । गठबन्धनको बैठकमा अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई चुनावी तालमेलको विश्वासिलो आधार नदिए नेकपा एमालेतिर जाने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री देउवाको प्रस्तावपछि प्रचण्ड सधैभन्दा फरक शैलीमा प्रस्तुत भएका थिए । उनले आफू प्रेसरमा भएको बताउँदै कांग्रेसले बलियो आधार नदिएको खण्डमा एमालेसँग मिल्ने पक्का भैसकेको आसय दिएका थिए । ‘चुनावी गठबन्धनलाई तपाईंहरूले एकदम हल्का रुपमा लिनुभयो, अहिले पनि माओवादीका केहि साथीहरू एमालेसँग छलफलमै हुनुहुन्छ । मैले पनि पार्टीलाई विश्वासिलो आधार दिनैपर्छ । कांग्रेसका नेताहरूले हल्का रूपमा लिएको कुराले म एकदमै प्रेसरमा छु ।’ प्रचण्डले बैठकमा भनेका थिए ।

बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेससँग चुनावी तालमेलको विश्वासिलो आधारको ग्यारेन्टी मागेका छन् । उनले यदि विश्वासिलो आधारको ग्यारेन्टी नभएको खण्डमा एमालेसँग गठबन्धन गर्न आफू बाध्य हुने बताएका थिए । ‘गठबन्धन सही तरिकाले अगाडी नबढ्ने हो भने मैले नचाहँदा नचाहँदै पनि एमालेसँग गठबन्धन गर्नुपर्ने हुनसक्छ ।’ प्रचण्डले बैठकमा भनेका छन् ।

त्यतिमात्र होइन फरक शैलीमा बैठकमा प्रस्तुत भएका प्रचण्डले कांग्रेसलाई चेतावनी दिंदै यस्तो भएको खण्डमा कांग्रेस नै अफ्ठ्यारोमा पर्ने बताएका थिए । प्रचण्डले बैठकमा भनेका थिए, ‘विश्वासिलो आधारको ग्यारेन्टी भएन भने मैले त बाध्यताले एमालेसँग तालमेल गर्नुपर्छ । तपाईंहरु नै अप्ठ्यारोमा पर्नुहुन्छ ।’

बैठकमा प्रचण्डले देउवालाई चेतावनी दिएपनि देउवाले भने कुनै प्रतिक्रिया नदिएको स्रोतको दाबी छ । प्रचण्डले अहिले पनि आफूहरू एमालेसँग संवादमा रहेको समेत बैठकमा खुलाएका थिए । उनले रातभर बैठक हुनेगरेको भन्दै माओवादी केन्द्र र एमालेका केहि नेताहरू निरन्तर संवादमा रहेको बताएका थिए ।

प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘एमाले र हाम्रा केही साथीहरु मध्यरातसम्म वार्ता गरिरहनु भएको छ, अर्को समीकरण नबन्ला भन्न सकिन्न, यो कुराले म निकै प्रेसरमा छु ।’ त्यतिमात्रै होइन प्रचण्डले सम्मानजनक हैसियतको सुनिस्चितता खोजेका थिए ।