सीके राउत समूहद्वारा अनिश्चितकालीन रौतहट बन्द घोषणा - Himal Post Himal Post
  • ६ माघ २०८२, सोमबार
  •      Mon Jan 19 2026
Logo

सीके राउत समूहद्वारा अनिश्चितकालीन रौतहट बन्द घोषणा



काठमाडौं- १० सुत्रीय मागसहित सीके राउत नेतृत्वको जनमत पार्टीले अनिश्चितकालका लागि रौतहट बन्दको घोषणा गरेको छ । पार्टी जिल्ला अध्यक्ष रामेश्वर प्रसाद यादवले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सोमबारदेखि लागू हुनेगरी रौतहटमा अनिश्चितकालीन बन्दको घोषणा गरेका हुन् ।

किसानलाई उपयुक्त समयमा बिउ बिजन, मल खाद र सिंचाईको व्यवस्था तीनै तहका सरकारले नगरेको अवस्थामा आवाज उठाउँदा राज्यले किसानहरूको जायज मागलाई बेवास्ता गरेको तथा किसानमाथि दमन गर्ने लगायतका नाजायज कार्यहरु गर्दै आएकाले जिल्ला बन्दको घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

जनमत पार्टीले किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, समयमा मलखाद र बिउ बिजनको व्यवस्था गर्नुपर्ने, सिंचाईको व्यवस्था गर्नुपर्ने तथा सिंचाईका लागि विद्युत निःशुल्क गर्नुपर्ने माग अघि सारेको छ । यस्तै, हावा हुरी, वर्षा तथा मौसमका कारणले भएको बाली नालीको क्षति बापत राहत दिनुपर्ने, बालीको उचित समर्थन मूल्य निर्धारण गर्नुपर्ने, उखु किसानको वक्यौता भुक्तानी गर्नुपर्ने, किसान कार्डको व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ ।

अनिश्चितकालीन बन्दका क्रममा खाना–नास्ताका होटल, औषधि पसल, अति आवश्यक सवारी साधन र सञ्चारकर्मी तथा सञ्चारमाध्यमको सवारी साधनबाहेक बजार तथा सवारीसाधन पूर्ण बन्द हुने विज्ञप्तिमा उल्लेख छ ।