सिके राउतलाई थुनामै राखिने
रौतहट । जिल्ला अदालत रौतहटले मधेशलाइ अलग्गै राज्य बनाउने अभिब्यक्ति दिदै आएका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउत १५ दिन थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत रौतहटले बिहीबार राज्यविरुद्धको संगठित अपराधको मुद्दामा डा. राउतलाइ थप १५ दिन थुनामा राख्न आदेश दिएको हो । जिल्ला न्यायाधिश प्रकाश श्रेष्ठको इजलासमा बिहीबार भएको बहस पछिको फैसला अनुसार स्वतन्त्र मधेश गठबन्धनका संयोजक राउतलाई थप १५ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न आदेश भएको हो ।
राज्यविरुद्धको संगठित अपराधको मुद्दामा गत २५ दिनदेखि राउत सहित ५ जना गठबन्धनका नेताहरु प्रहरी हिरासतमा रहेका छन् । राउतसँगै रौतहट जिल्ला संयोजक अशोक सिंह, वीरेन्द्र दास, जयप्रकाशकुमार साह, दिनेशलाल यादव जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा रहेका छन् । राज्य विरुद्धको अपराधको मुद्दामा पक्राउ परेका राउतलाई प्रहरीले अहिले सांगठित अपराध मुद्दामा अनुसन्धान गर्न म्याद मागेको हो । सांगठिक अपराधको मुद्दामा अनुसन्धानका लागी प्रहरीले ६० दिनसम्म म्याद पाउने कानूनी प्रावधान रहेको छ । पेशी दिन अदालत पुगेका डा. राउतका सर्मथकहरुले बिहीबार अदालत घेराउ गरेका थिए ।