सीके राउतलाई सेटिङमा छुटाएको खुलासा - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

सीके राउतलाई सेटिङमा छुटाएको खुलासा



गोरखा । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले सर्वोच्च अदालतलाई प्रभावित पारेर सिके राउतलाई रिहा गरिएको आरोप लगाएका छन् ।

गोरखा सदरमुकाममा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले कार्यपालिका र न्यायापालिकाको सेटिङमा सीके राउतलाई जेलबाट छुटाइएको आरोप लगाए ।

भट्टराईले नेत्रविक्रम चन्द, रेशम चौधरी र सिके राउतको विषयमा सरकारको अभिव्यक्ति तर्कसंगत नरहेको समेत बताए ।

विखण्डनको माग राख्ने राउतलाई छुटाउन सर्वोच्च अदालत प्रभावित पार्ने सरकारले थारू स्वायत्त प्रदेशको माग राख्ने रेशम चौधरीलाई कठोर व्यवहार गर्नु शोभनीय नभएको बताए ।

‘कैलाली १ बाट निर्वाचित सांसद रेशम चौधरीसहित थारु विद्रोह गर्ने ११ जनालाई आजन्म कैदको सजाय दिइयो’, उनले भने, ‘सिके राउतलाई पनि थुनामा राखेर कारबाही गर्ने भनिएकै थियो, तर थुनामा छँदैमा प्रधानमन्त्रीले भेटेर सहमति गरी अदालतबाट छुटाउने प्रक्रिया मिलाइएको छ, कार्यपालिका र न्यायापालिकाको सेटिङमा छुटाउनु कुन विधि र प्रक्रिया भित्र पर्छ ?’

विप्लव नेतृत्वको नेकपालाई ‘लुटेरा समूह’ भनेर प्रधानमन्त्रीले अराजनीतिक भाषा बोलेको भट्टराईको आरोप थियो । उनले विप्लव नेतृत्वको नेकपालाई पनि राजनीतिक भाषमा सम्बोधन हुनुपर्ने बताए ।

राष्ट्रिय अखण्डताको कुरा कुनै पनि जनमगत संग्रहसँग लेनदेन हुन नसक्ने तर्क गर्दै भट्टराईले भने, ‘यो विषयमा नेपाल सरकारले स्पष्ट नपारे देश र जनताप्रति धोका हुनेछ ।’